माओवादीले हत्या गरेको २३ वर्षपछि शालिक

0
Shares

काभ्रे।

हत्याको २३ वर्ष पछि साविक पाँचखाल गाविसका उपाध्यक्ष बलराम सापकोटाको शालिक अनावरण गरिएको छ । माओवादी कार्यकर्ताले २०५६ साल मसिंर १४ गते सापकोटालाई अपहरण गरेर बेपत्ता बनाएका थिए ।

पाँचखाल नगरपालिका वडा नम्बर ६ ढुंगानाबेशीमा नगरपालिकाको सहयोगमा निर्मित शालिकको प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद एवं पूर्व मन्त्री, नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अनावरण गर्नु भएको थियो । ‘सहिद सापकोटाले जनताका लागि देखाएको बाटोमा नेकपा एमाले अघि बढिरहेको छ’–पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘तत्कालीन समयमा माओवादी र राज्यपक्षबाट भएका घटनाहरुमा सहिद भएकाहरूलाई न्यायका लागि पार्टीले सरकारमा हुँदा नीति निर्माण गरी कार्य गरेको छ ।’ एमाले सरकारमा पुगेका बखत सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेका परिवार तथा बेपत्ता र घाइतेका आफन्तहरुलाई राहत दिने निर्णय गरेको थियो ।

घाइतेहरूको निःशुल्क उपचार तथा अपाङता भएका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको नेकपा एमालेले शहिदका परिवारहरुलाई निरन्तर राज्य र पार्टीका तर्फबाट सहयोग पुर्‍याउने बास्कोटाले बताउनु भयो । सहिद पत्नी सरिता सापकोटाले अपहरणको लामो समयसम्म सापकोटाको लास समेत फेला नपर्नु, हत्याराहरूलाई कारबाही नहुनु दुखद पक्ष भएको बताउनु भयो । एमाले अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

तत्कालीन माओवादी नेतृत्वले सापकोटालाई घरबाटै अपहरण गरेको थियो । अपहरणको २२ महिनासम्म बेपत्ता बनाएका माओवादीहरूले युद्ध विरामको समयमा नेकपा एमाले र सापकोटाको परिवारले श्वास तथा लास जे भए पनि सार्वजनिक गर्न दबाब दिए पछि केन्द्रीय समितिको तर्फबाट गल्ती स्वीकार गरी २०५८ साल कार्तिक २ गते बलराम सापकोटा मारिसकिएको बताएका थिए । त्यही दिनलाई परिवारले अन्तिम दिन मानेर तिथि गर्दै आए पनि कुन दिन हत्या भयो ? कहाँ हत्या भयो ? हाडखोड छ कि ? हत्यारा को हुन् ? अपहरण र हत्याको कारण के हो ? पहिचानका लागि दबाब दिँदै आएको छ ।

एमाले र माओवादी एकीकरण भई नेकपा हुँदा समेत सापकोटाको परिवारले असहमति व्यक्त गरेको थियो । परिवारले सापकोटालाई अपहरण गरेर लैजाने माओवादी कार्यकर्ताहरु खुलेआम भएकाले न्यायिक उपचारको माग गरिरहेका छन् । पाँचखालमा बलराम सापकोटा र रयालेमा कृष्णप्रसाद सापकोटा, सिंहवीर तामाङ लगायतका दर्जनौँ नेता कार्यकर्ता माओवादीले अनाहकमा हत्या गरेको एमालेले बताएको थियो ।