स्थायी सरकारको सपना



अब आमनिर्वाचन २०७९ सम्पन्न भएको छ । केही मत गन्न बाँकी रहेपनि त्यसले भोलि बन्ने सरकारको संरचनामा खासै फरक पार्ने देखिन्न । संघीय प्रतिनिधिसभामा पहिलो ठूलो दल नेपाली कांग्रेस बनेकोले उसले सरकारको नेतृत्व लिनुस्वाभाविक भएको छ । बलियो प्रमुख प्रतिपक्षी नेकपा एमाले बनेको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले सत्ता आरोहण गर्ने, दुई तिहाइको बलियो सरकार बनाउने हो भने अन्य दललाई पनि समेट्ने अन्यथा सामान्य बहुमतको सरकार बनाएर मजाले पाँच वर्ष स्थायी सरकार दिने जिम्मेवारी अब पुरानो राजनीतिक दल नेपाली कांग्रेसको काँधमा आएको छ ।प्रत्यक्षतर्फको मात्र कुरा गर्दा पछिल्लो मतगणनाको परिणामले १ सय ६५ सिटमा नेपाली कांग्रेस ५५ र एमाले करिब ४५ सिट क्षमतामा देखिइसकेका छन् । गठबन्धनका अन्य दलको अंक जोड्दा माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी ४ र जनमोर्चा १ सिटसमेत गर्दा करिब ९० सिट सत्ता गठबन्धनको साथमा देखिन्छ ।

समानुपातिकबाट करिब ८० सिट मात्र थप्दा पनि सत्ताधारी समूहसँग १ सय ७० सिट हुनपुग्छ । त्यस्तै, प्रमुख प्रतिपक्ष एमालेको ४५, जसपाको ५ र राप्रपाको ६ सिट प्रत्यक्षतर्फ र यसकै अनुपातमा समानुपातिकतर्फको सिट जोड्दा एक तिहाई मात्र योगअंक अर्थात् ९२ सिट पुग्नखोज्छ । २ सय ७५ सिटको प्रतिनिधिसभामा यसरी नेपाली कांग्रेसको नेतृत्वमा दुईतिहाई बहुमतको सरकार बन्ने सम्भावना अझै कायम रहन्छ । अहिले सरकारमा सहभागी मोर्चाको प्राप्ताङ्कमा राष्ट्रिय स्वतन्त्र पार्टीको ७ प्रतिशत र अन्य दलको ७ प्रतिशतलाई जोड्दा ६६ प्रतिशत निकट पुग्छ ।

तर, यसका लागि नेपाली कांग्रेसले कम्तीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्यलाई समेट्नसक्ने प्रधानमन्त्री दिनसक्नुपर्छ । नेपाली कांग्रेसमा युवा नेता गगन थापाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी फिर्ता लिएको सन्दर्भ स्मरण गर्नेहो भने थापा नै प्रधानमन्त्री बन्दा अधिक दल समेटिने सम्भावना छ । तर, यसका लागि कांग्रेसले संसदीय दलको नेता चयन गर्दा नयाँ परिवेश र परिस्थितिअनुसार चल्ने व्यक्तित्वलाई अघिसार्न सक्नुपर्छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापामा नै त्यस प्रकारको क्षमता देखिन्छ । नेकामा पार्टी अध्यक्ष शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली नेताहरु शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले पनि प्रधानमन्त्री बन्ने मनशाय व्यक्त गर्दै उम्मेदवारी दिएको र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको अवस्था छ ।नेकामा संसदीय दलको नेताको निर्वाचन पार्टीभित्र स्वतन्त्र र प्रजातान्त्रिक विधिबाट हुनेहो भने युवा नेता गगन थापा निर्वाचित हुने सम्भावना छ । तर, सबैभन्दा कठोर अवरोधको विषय बनेको छ– देउवा, पौडेल, कोइराला र सिंहहरुको परम्परागत मानसिकता ।

म जेठो, मैले पहिलादेखि पार्टीमा काम गरेको भन्ने मानसिकता कायम रहेका कारण थापालाई तथाकथित वरिष्ठहरुले सहजै संसदीय दलको नेता बनाउने छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ विचारका दलले ‘गगन थापाको नेतृत्वमा सरकार बन्छ भने कांग्रेसलाई हाम्रो समर्थन रहन्छ’ भनेर आजै घोषणा गर्नेहो भने थापाको पक्षमा वातावरण तयार हुन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्