कांग्रेसलाई पछ्याउँदै एमाले

0
Shares

काठमाडौं । 

चार दिनदेखि जारी मतगणनाअनुसार नेपाली कांग्रेसलाई नेकपा (एमाले) ले निरन्तर पछ्याइरहेको पाइएको छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये बुधबार रातिसम्ममा आएको ३९ निर्वाचन क्षेत्रको मतपरिणामअनुसार दलगत रुपमा पहिलोमा कांग्रेस, दोस्रोमा एमाले र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा अग्रता कायम गरिरहेको छ ।

बुधबार रातिसम्म सबैभन्दा बढी सिट नेपाली कांग्रेसले जितेको छ । निर्वाचन आयोगको अनुसार अहिलेसम्म कांग्रेसले २२ स्थानमा विजय हासिल गरेको छ भने ३८ स्थानमा अग्रता कायम गरेको छ ।पछिल्लो मतपरिणाम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ मा कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँ निकतम प्रतिद्वन्द्वी नेकपा एमालेको निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै निर्वाचित हुनुभएको छ । लेखकले ३० हजार ५ सय २३ मत पाउँदा पालले १८ हजार ४ सय ४८ मत पाउनुभएको थियो । लेखकलाई यसपटक भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले साथ दिएको थियो ।अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएको छ । यसअघि कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं १ मा प्रकाशमान सिंह, काठमाडौं क्षेत्र नं ३ मा सन्तोष चालिसे, क्षेत्र नं ४ मा गगन थापा, क्षेत्र नं ५ मा प्रदीप पौडेल र क्षेत्र नं १० मा राजन केसी विजयी हुनुभएको छ ।

त्यस्तै कांग्रेसबाटै मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन, तनहुँ क्षेत्र नं २ मा शंकर भण्डारी र सुर्खेत क्षेत्र नं २ मा दयाराम थानी, ललितपुर क्षेत्र नं १ मा उदयशमशेर राणा, पर्सा क्षेत्र नं ४ मा रमेश रिजाल, डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवा, कञ्चनपुर क्षेत्र नं ३ मा रमेश लेखक, रसुवामा मोहन आचार्य र ओखलढुंगामा रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।
त्यसै गरी नेकपा (एमाले) ले सात स्थानमा जित हासिल गरेको छ भने ३७ स्थानमा अग्रता कायम गरेको छ । ललितपुर क्षेत्र नं २ मा प्रेमबहादुर महर्जन, काठमाडौं क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ, उदयपुर क्षेत्र नं २ मा अम्बरबहादुर रायमाझी, गुल्मी क्षेत्र नं २ मा गोकर्ण विष्ट र ताप्लेजुङमा योगेश भट्टराई विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) ले तीन स्थानमा विजय हासिल गरेको छ भने १३ स्थानमा अग्रता कायम गरेको छ । सिन्धुली क्षेत्र नं २ मा लेखनाथ दाहाल, रूकुम पूर्वबाट पूर्णबहादुर घर्ती र बागलुङ क्षेत्र नं २ बाट देवन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।
नेकपा (एकीकृत समाजवादीे) ले तीन स्थानमा निर्वाचन जितेको छ भने सात स्थानमा अग्रता कायम गरेको छ । सो पार्टीको तर्फबाट बारा क्षेत्र नं ४ मा कृष्णकुमार श्रेष्ठ ‘किसान’, अछाम क्षेत्र नं २ मा शेरबहादुर कुँवर र डोटी क्षेत्र नं १ मा प्रेम आले विजयी हुनुभएको छ ।

चार स्थानमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच स्थानमा अग्रता कायम गरेको छ । सो पार्टीबाट काठमाडौैं क्षेत्र नं ८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौं क्षेत्र नं २ बाट सोविता गौतम, काठमाडौं क्षेत्र नं ७ बाट गणेश पराजुली र काठमाडौं क्षेत्र नं ६ बाट शिशिर खनाल विजयी हुनुभएको छ ।त्यस्तै चार-चार स्थानमा अग्रता कायम गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा) ले एक÷एक स्थान जित हासिल गरेको छ । राप्रपाबाट बाँके क्षेत्र नं २ मा धवलशमशेर राणा, पर्साको क्षेत्र नं १ मा जसपाबाट प्रदीप यादव विजयी हुनुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी, राष्ट्रिय जनमोर्चा नेपालले एक÷एक स्थानमा र स्वतन्त्रले एक-एक स्थान जित हासिल गरेको छ । लोसपाका सर्वेन्द्रनाथ शुक्लाले रुपन्देही क्षेत्र नं ४ बाट, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरीले कैलाली क्षेत्र नं ३ बाट, जनमत पार्टीबाट सप्तरी क्षेत्र नं.ं २ मा सीके राउत र बागलुङ क्षेत्र नं १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । स्वतन्त्र बर्दिया क्षेत्र नं २ मा लालवीर चौधरी निर्वाचित हुनुभएको छ ।