म्याग्दीमा गठबन्धनबाट प्रतिनिधि सभामा काङ्ग्रेसका गर्बुजा विजयी

0
Shares

म्याग्दी।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्नुभएको हो ।

गर्बुजाले २४०२१ र श्रेष्ठले २०१८९ मत प्राप्त गर्नुभएको छ । गर्बुजा वि.स. २०७० र २०७४ मा एमालेका उम्मेदवारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । तेस्रो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गर्बुजालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।

यसअघि वि.स. २०५६ मा म्याग्दीमा नेपाली काँग्रेसका उम्मेदवार नारायणसिंह पुनले चुनाव जित्नुभएको थियो । म्याग्दीमा काँग्रेसले २३ वर्षपछि जित निकालेको हो । आइतबार भएको मतदानमा ८६ हजार १२० जनामध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । ९ जना उम्मेदवार थिए ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (क) मा गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र (ख)मा माओवादीका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ ।