गुल्मी १ मा मतगणना गर्न सहमति जुटेन

0
Shares

गुल्मी ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को मतगणना सहमती जुटन सकेन । मतगणना गर्न मंगलवार बेलुकी बसेको सर्वदलीय बैठकमा सहमति जुटन नसकेपछि मतगणना गर्न नसकिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

सर्वदलीय बैठकमा एउटा मतपेटीकामा खसाल्नु पर्ने मत अर्को मतपेटीकामा खसेको पाइए के गर्ने भन्ने विषयमा विवाद भएपछि सहमती जुटन नसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । भोलि (बुधवार) बिहान सर्वदलीय बैठक बस्ने भनिएपनि कतिबेला बस्ने भन्ने बारेमा समय तोकिएको छैन् ।

यस निर्वाचन क्षेत्रको कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा आज मात्रै पुनः मतदान गरेकाले मतगणना गर्न ढिलाई भएको हो । मतगणना जिल्ला सदरमुकाम तम्घासको सडक पूर्वाधार कार्यालयमा मतपेटीका राखिएको छ ।

यस क्षेत्रमा १ लाख १९ हजार २८८ जना मतदाता रहेकोमा ६९ हजार ६८३ जनाले मतदान गरेका थिए । यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लािग एमालेबाट प्रदीप ज्ञवाली र गठबन्धनबाट कांग्रेसका डाक्टर चन्द्र भण्डारी बिच प्रतिस्पर्धा रहेको छ ।

क्षेत्र नम्बर २ को भने मतगणना चलिरहेको छ । यसक्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम छ ।