पाल्पाको दुवै क्षेत्रमा मतगणना सुरु, प्रत्येक वडाको मतगणना पछि मात्रै नतिजा सार्वजनिक हुने

0
Shares

पाल्पा।

दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको मतगणना सुरु भएको छ ।
पाल्पाको निर्वाचन क्षेत्र नम्बर २ सदरमुकाम तानसेनस्थित बालमन्दिर भवनमा मतगणना सुरु भएको हो भने क्षेत्र नम्बर १ को रामपुर नगरपालिकास्थित नापी कार्यालय भवनमा मतगणना भैरहेको छ  ।

पहिलो चरणमा क्षेत्र नं. १ को निस्दीको वडा नं. १  वाकामलाङ्ग र प्रदेश सभा अन्तर्गत प्रत्यक्ष र समानुपातिक पनि निस्दी १ को बाकामलाङ्गबाटै सुरु भएको हो ।

त्यस्तै  क्षेत्र नं. २ को तानसेन ६, ९ र बगनासकाली १ को मतदान केन्द्रमा झरेको मतको गणना भएको हो । यी क्षेत्रको प्रत्येक वडाको गणना सकिएपछि मत परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

पाल्पामा सर्वदलीय बैठक र सहमति हुन ढिला भएको कारण क्षेत्र नं. २ को ४ बजे र १ को सात  बजे पछि मात्रै गणना भएको थियो ।

क्षेत्र नम्बर २ को बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराको राम आधारभूत विद्यालय र ग्राम्य मावि मतदान केन्द्रका मतपेटिकाबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताए । यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेय, नेकपा एमालेबाट ठाकुर गैरे, जनसमाजवादी पार्टी नेपालका देव बहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर भुख्वा, मंगोल नेशनल अर्गनाइजेशनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमैले मनोनयन दर्ता गराएका छन् । क्षेत्र २ बाट उपेन्द्र राज गहिरे, केशरबहादुर आले र जीवलाल सुवेदीले स्वतन्त्रमा उम्मेदवारी छ ।
प्रदेशसभामा २ (१) नेपाली कांग्रेसबाट वीरबहादुर राना, नेकपा एमालेबाट परशुराम भटराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गैरे, मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना मगर, जनता समाजवादीबाट खिकबहादुर रेश्मी मगर, नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले उम्मेदवार छन् ।

प्रदेशसभा २ (२) मा नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ती मगर, नेकपा एमालेबाट ओमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चक्रपाणि पौडेल, मंगोल नेशनल अर्गनाइजेशनका शिव बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र बहादुर अस्लामीले उम्मेदवार छन् ।

एकलाख २२ हजार मत खसेको थियो

२ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा १ लाख २२ हजार ६ सय ९४ मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ मा ५८ हजार ४९१ र प्रतिनिधि सभा क्षेत्र नं. २ मा ६४ हजार २ सय ३ मत खसेको थियो । क्षेत्र नं. १ मा मतदाता ९६ हजार ३३ र क्षेत्र नं. २ मा १ लाख ५ हजार २९३ मतदाता रहेका थिए । प्रतिशतको आधारमा जिल्लामा क्षेत्र गत रुपमा १ मा ६० दशमलव ९१ र २ मा ६० दशमलव ९१ देखिन्छ ।

जिल्लाको १ सय १८ मतदान स्थलका २ सय ४६ मतदान केन्द्रको मतपेटिका संकलन सोमवार बिहान साढे ४ बजे सकिएको थियो । पाल्पा प्रतिनिधि सभामा २ र प्रदेश सभामा ४ सिटका लागि ४५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जसमा क्षेत्र नं. १ मा १० जना, क्षेत्र नं. १ प्रदेश १ मा ५ र २ मा ५ जना, प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फ १३ जना, प्रदेश १ मा ७ र २ मा ५ जना उम्मेदवार रहेका छन् ।