मतदान गर्न दिनभर हिँड्नुपर्ने बाध्यता

0
Shares

गोरखा।

मंसिर ४ गतेको आम निर्वाचिन नजिकिदै गर्दा गोरखाको क्षेत्र नम्बर २ को माथिल्लो क्षेत्रमा रहेको एक बस्तीका मतदाताहरु भने चिन्तित बनेका छन् । अजिरकोट गाउँपालिकाको वडा नम्बर ४ सिम्जुंगको लामे भन्ने स्थानका बासिन्दा चिन्तामा परेका हुन् ।

भूगोल समायोजन हुँदा उनीहरुलाई मतदानका लागि सिम्जुंग स्थित कालिका प्राविमा बनाइदिएका कारण उनीहरुलाई मतदानका लागि अपायक परेको हो ।
झट्ट सुन्दा दुवै सिम्जुंग वडामा परेपनि वल्लो डाँडो र पल्लो डाँडो भएकाले बुढाबुढीलाई बिहान हिडेर गएर बेलुका घर फर्कन धौधौ पर्ने लामेका स्थानीय बिनोद गुरुङले गुनासो गर्नुभयो ।

आफूहरुका लागि वडा नम्बर २ को खरिबोट मतदात केन्द्र वा वडा नम्बर १ को लप्सीबोटमा मतदान केन्द्रमा समावेश गर्दा उचित हुने कुरा सुनाउनुभयो । करिब २० घरपरिवार यो बस्तीका मतदाताहरु सिम्जुंगमा मतदान गर्न जान बाध्य भएको लामेका मतदाताहरुले बताएका छन् ।

अजिरकोटको वल्लो पाटोमा आफूहरुको घर भएकाले मतदान केन्द्र पल्लो पाटोमा हुँदा हिँडाइ भने चर्को पर्ने गरेको लामेका मतदाताहरु बताउँछन् । यद्यपी लामेकै केही भूभाग भने खरिबोटमा र केही हंसपुरमा नै पर्ने गरेका कारण पनि थप समस्या भएको मतदाताहरुको गुनासो छ ।

यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) काँग्रेस,माओवादी गठबन्धनको साझा उम्मेदवारका रुपमा उठ्नु भएको क्षेत्र हो । चुनावको दिन,दिनभर काम माया मार्नु पर्ने भएकाले अहिलेबाट नै धान अलिअलि काचो भएपनि काट्न थालेको स्थानीयहरु बताउँछन् ।