चुनाव केन्द्रित ‘दल’ अदलबदल

मतदाता भन्छन् - मल दिन नसक्ने पार्टीमा किन बस्नु ?

0
Shares

काभ्रे।

आइतबार दिउसो नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले निर्वाचनको प्रचार प्रसारका क्रममा दर्जनौँ व्यक्तिहरूलाई पार्टी प्रवेश गराउनु भयो । अधिकांशले गठबन्धन सरकार र आफू रहेको पार्टी नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीले जनताको हित विपरीत कार्य गरेको, जनताको समस्यामा चासो नदिएको, डेँगु महामारीमा ध्यान नदिएको, रासायनिक मल उपलब्ध गराउन चासो नदिएको भन्दै पार्टी परित्याग गरेको बताए ।

बनेपा नगरपालिका वडा नम्बर ३ तीनघरेका चतुरमान तामाङले नेपाली काँग्रेस नेतृत्वको सरकारले ९ सय रुपैयाँको मल ३ हजार ५ सय रुपैयाँ लिएर विक्री गरेको बताउनु भयो । ‘काँग्रेसकै क्रियाशील सदस्यले मलाई ९ सय रुपैयाँको मल ३५ सय लिएर विक्री गरे’–चतुरमान तामाङले भन्नुभयो–‘जनता मारा पार्टी र सरकारले न्याय दिन सकेन । त्यही कारण आफू क्रियाशील रहेको पार्टी नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेको छु ।’

चतुरमानसँगै उहाँको धर्मपत्नी सुन्तली तामाङ पनि नेकपा एमाले प्रवेश गर्नु भयो । तिनघरे, काक्रे, शेरा, सुमारा, चुनाताल, नाला बजार, बनेपा नाला वडा नम्बर १ र २ टुकुचा, ३ र ४ का सबै क्षेत्र आलु र अन्य तरकारी उत्पादनका लागि प्रख्यात मानिन्छ । आलु रोप्ने बेला कालोबजारी गरेर किनेको मल राखेको आलु विक्री गर्ने बेला मूल्य नआए पछि कृषकहरू चिन्तित हुनु परेको उहाँले बताउनु भयो । आलु प्रति केजी कृषकले ४७ रुपैयाँमा विक्री गर्नु परेको छ । लागत मूल्य समेत नउठेकाले सरकार विरुद्ध आक्रोश रहेको सुन्तली तामाङले बताउनु भयो ।

बास्कोटाले बनेपा २ नाला टुकुचा घिमिरे गाउँ काभ्रे बोटमा ६ जना युवाहरूलाई प्रवेश गराउनु भयो । काभ्रे समृद्ध बनाउने योजना नेकपा एमालेसँगै रहेकाले एमाले प्रवेश गरेकाहरूलाई बास्कोटाले स्वागत गर्दै अभियानमा लाग्न अनुरोध गर्नुभयो । एमाले प्रति प्रवेशको लहर चलेको एमाले काभ्रेका उप सचिव राजकुमार सापकोटाले बताउनु भयो ।

नेकपा एमालेबाट अलग भएको नेकपा समाजवादीमा गएका नेताहरू धमाधम फर्किन थालेका छन् । आइतबार नै युवा संघका अध्यक्ष प्रताप लामा सहितको टोली फर्किएको छ । यस अघि केन्द्रीय नेता रमेश पौडेल लगायतका नेताहरू फर्किएका थिए । शनिवार माओवादी निकट वाईसिएलका केन्द्रीय सदस्य मिलन लामा लगायतका नेताहरू एमाले प्रवेश गरेका थिए ।

आइतबार नै नेपाली काँग्रेस धुलिखेल नगरपालिका वडा नम्बर २ को डुडामुख टोल कमिटीका सभापति अष्टमान तामाङ सहित १५ जनाको टोली एमाले प्रवेश गरेको थियो । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवं काभ्रे क्षेत्र न. २ (क) का उम्मेदवार कुमार खकुरेल, क्षेत्रीय अध्यक्ष हरि खतिवडा लगायतका नेताहरूले पार्टी प्रवेश गराउनु भएको थियो । नेकपा माओवादी केन्द्र काभ्रेका जिल्ला कमिटी सदस्य शिव बानिया, समाजबादिका नेता दिपक बजगाइ र नेपाली काँग्रेसका हरिचन्द्र नेपाललाई धुलिखेल एमालेले पार्टी प्रवेश गराएको थियो ।

धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा कमिटी सचिव ईश्वर बञ्जारा सहित नेपाली काँग्रेसका सरोज लामा, सञ्जीव लामा, अमिर धोज लामा, सुसान्त लामा र नेविसंघ धुलिखेल २ का सभापति माधव न्यौपाने लगायतको टोलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा एवं जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुले पार्टी प्रवेश गराउनु भएको थियो ।

धुलिखेल नगरपालिका वडा नम्बर १ बाट २०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा सदस्य पदमा उम्मेदवार आइते तामाङ, सुनिता तामाङ र राम बहादुर तामाङ साथै पूर्व जनमुक्ति सेना सूर्य बहादुर तामाङ र नेपाली काँग्रेसका क्रियाशील सदस्य कामी सी तामाङ लगायत एमाले प्रवेश गरेका थिए ।