चुनावमा आउँछन्, भोट लिएर जान्छन् अनि फर्किन्नन्

डुबान क्षेत्रका बासिन्दा भन्छन्

0
Shares

बाँके । 

गाउँमा जाने बाटो छैन । खेतबारी भएर हिँड्नुपर्छ । राप्ती नदीमा बाढी आउँदा सबैभन्दा पहिला त्यही गाउँ डुबानमा पर्छ । यो गाउँमा न बिजुली छ, न त स्कुल ।डुडुवा गाउँपालिकाको वडा नं. २ मा पर्ने रामनगर पाँजाको कुरा हो यो । राप्ती नदी र डुडुवा खोलाले घेरिएको यो गाउँका बासिन्दालाई नजिकको बजार बेतहनी चौराहा आउन नै सकस छ । सदरमुकाम नेपालगञ्ज त धेरै टाढाको कुरा भयो ।

रामनगर पाँजा नेपालगञ्ज बजार समेटिएको क्षेत्र नं. २ मा पर्छ । चुनाव आइपुग्नै लाग्दा उम्मेदवारहरू गाडी टाढै राखेर मोटरसाइकलमा रामनगरमा पुगेछन् । चुनाव न हो, उम्मेदवारहरूले फेरि त्यही पुरानै आश्वासन दोहो¥याएर फर्किएका छन्, ‘गाउँमा बाटो बनाइदिन्छु । राप्ती नदीमा तटबन्ध बनाउँछौं । सोलारको व्यवस्था गर्छौं । स्कुल बनाइदिन्छौं ।’रामनगरमा करिब १ सय ५० घर छन् । राप्ती नदीमा तटबन्ध नहुँदा र पश्चिमतिरबाट डुडुवा खोलाको बाढीले रोक्दा रामनगरका बासिन्दालाई बाढी आएको बेला भागेर ज्यान जोगाउन पनि गाह्रो छ । गत असोजको अन्तिमतिर आएको बाढीमा रामनगरका सबै जना गाउँपालिकाले हालै बनाएको आश्रयस्थलमा बसेर ज्यान बचाएका थिए । पाँच दिनसम्म आश्रयस्थलमा बसेका उनीहरू पानी कम भएपछि घर फर्किएका थिए ।

अझ दुःखको कुरा त पानीले नै उठीबास लगाउने गाउँमा खानेपानीको चरम अभाव रहेको छ । डुबान क्षेत्र भएकाले धारा पनि डुब्छ । धारा नै डुबेपछि पानी खान समस्या हुने गर्दछ, शुद्धपानीको त कुरै छोडौं ।चुनाव आयो । सुकिलामुकिला नेताहरू धुलैधुलो सडक पार गर्दै रामनगरमा पुगिरहेका छन् । ‘सधैंको चुनावझैं यसपालि पनि बाटो, बिजुली, तटबन्ध बनाइदिने बाचा गरेका छन्’, स्थानीय सुन्दरलाल लोनियाले भन्नुभयो– ‘अहिले मलाई जिताइदिनुस्, सबै समस्या समाधान गर्छु भन्छन् । चुनाव जितेपछि फर्केर आउँदैनन् ।’

रामनगर पुग्दा अझै पनि नेपालमा यस्ता गाउँ छन् भनेझंै लाग्दछ । मधेसी समुदायको बसोबास रहेको यो ठाउँमा वर्षौंदेखि बसे पनि लालपुर्जा कसैसँग छैन । बाढीका कारण शुरूमा २०३३ सालमा गाउँलेको उठीबास लागेको थियो । अन्यत्र गएर बसेका स्थानीय पछि फर्किएका थिए । केहीको अन्यत्र पनि थोरै खेतबारी छन् । असोजमा डुबेको धान गाउँलेले स्याहारेका छन् । फुसको सानो घरमा धान राख्नेसमेत ठाउँ छैन । आँगनमै पालमाथि राखिएको छ ।

स्थानीयवासी आज्ञाराम गोडियाले आफूहरूले कुरा राख्ने मौका नै चुनावको बेलामा पाउने बताउनुभयो । ‘चुनावको बेलामा आउने नेताहरूले हाम्रो कुरा सुन्छन् । तर, उनीहरूले भोटका लागि मात्रै हाम्रा कुरा सुनेको हो भन्दा हुन्छ’, गोडियाले भन्नुभयो– ‘चुनावका बेलामा सबै समस्या समाधान गर्छौं भन्नेहरू त्यसपछि अर्को चुनावसम्म आउँदैनन् ।’ उहाँले चुनावका बेलामा नेताहरूले राप्ती नदीमा तटबन्ध बनाएर डुबान रोक्ने, बाटो बनाइदिने मात्रै होइन, टिनको घर, सोलारबत्तीसमेत दिने आश्वासन दिने गरेको बताउनुभयो ।

रामनगरवासीलाई नेताहरूले सधैं ढाँट्छन् भन्ने थाहा छ । अर्को बाटो त छैन, भोट त दिनैपर्छ । आएकामध्ये अलि कम ढाँट्नेलाई भोट हाल्छन् । अनिता केटवले असोजमा डुबान भएर ५ दिनसम्म आश्रय स्थलमा बस्दा नआएका नेताहरूले अहिले भोट माग्न आइरहेको बताउनुभयो । यो गाउँ असोजमा डुब्दा पालिकाले एक÷एक किलो चिउरा दिएको थियो । स्थानीयले व्यंग्य गरे, डुबानका बेलामा दिएको एक किलो चिउराले हामी अमर भयौं । बाँचिरहेका छौं ।

डुडुवा गाउँपालिका वडा नं. १ मा पर्ने कृषि चौफेरीको समस्या रामनगरको भन्दा कम छैन । यो ठाउँमा जान पनि बाटो छैन । नेताहरू मोटरसाइकलमा गएर भोट मागिरहेका छन् । स्थानीय भिखाई पासीले वर्षेनी डुबानमा पर्ने कृषि चौफेरीमा डुबानका बेलामा नआउने नेताहरू चुनावको बेलामा आश्वासन बाँड्न आइरहेको बताउनुभयो ।

बाँके क्षेत्र नं. २ मा दुईपटक सांसद भइसकेर तीनपटक मन्त्री भएका जसपाका मो. इस्तियाक राई, दुईपटक नेपालगञ्ज उपमहानगरपालिकाका मेयर भएका राप्रपाका डा. धवलशमशेर राणा, कांग्रेसका सुदीपनरसिंह राणा, शिवसेनाको समर्थनमा स्वतन्त्र उम्मेदवार दिवाकर खनाललगायत डेढ दर्जन उम्मेदवार मैदानमा छन् ।

सबैको चुनावी घोषणापत्रमा राप्ती नदीको डुबान रोक्न तटबन्ध बनाउने प्राथमिकतामा परेको छ । यो बुँदा अहिले मात्रै होइन, सधैं पर्ने गर्दछ । जनताको तटबन्ध भन्ने कार्यालयले केही काम गरिरहेको छ । चुनावको बेलामा रामनगर, कृषि चौफेरीजस्ता दूरदराजका गाउँमा पुग्ने नेताहरूले आफूले गर्न सक्नेभन्दा ठुल्ठुला आश्वासन बाँड्ने गरेका छन् ।