पाइलट लामालाई विमान उडानमा रोक


काठमाडौं ।

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको छ । नियमनकारी निकायका अनुमतिबिना उडिरहेको विमानको ककपिटमा बसेर अन्तर्वार्ता दिनुका साथै भिडियो खिच्न दिएको आरोपमा निगमले उनलाई उडानमा रोक लगाएको हो ।

कारण स्पष्ट गरेपछि मात्र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा पाइलटले ककपिटबाट फोटोग्राफी वा भिडियोग्राफी गर्न दिन पाउँछन् । पाइलट लामाले अनुमति नलिई एभिएसन भ्लगर साम चुईलाई दुबई–काठमाडौं उडानको क्रममा ककपिटबाटै अन्तर्वार्ता र भिडियोग्राफी गर्न दिएपछि नेपाल वायुसेवा निगमको सुरक्षा विभागले कारबाही गरी प्राधिकरणलाई जानकारी गराएको छ ।

५८ वर्षे उमेर हदका कारण निगमबाट अवकास पाएका लामा अहिले निगममा करार सेवामा कार्यरत छन् । लामालाई आइतबारदेखि उडान सूचीमा राखिएको छैन । निगमले उडानमा रोक लगाएको जानकारी प्राधिकरणलाई गराएपछि यस विषयमा प्राधिकरणले अनुसन्धान शुरू गरेको छ । उडानमा रोक लागेपछि लामाको मलेसियामा हुने जल उद्धारसम्बन्धी तालिम पनि छुटेको छ ।