सम्पादकीय : जलवायु सम्मेलनमा कमजोर नेपाल



पछिल्ला केही वर्षदेखि जलवायुमा आएको परिवर्तनका कारण विश्वभर अनेकौं समस्या सिर्जना हुनथालेका छन् । जलवायु परिवर्तन हुनुमा विकसित देशले उत्पन्न गरेको कार्वन उत्सर्जनलाई मानिएको छ ।

विश्वभर उत्पादन भइरहेको कार्वनको अवस्था अहिलेकै अवस्था कायम रह्यो भने पृथ्वीको अस्तित्व नामेट हुनसक्ने चेतावनी दिइएको छ । जलवायु परिवतनका कारण विश्वभर तापमान बढ्दैगएको छ ।तापमान बढ्दै गएपछि विश्वभर यसको चिन्ता व्यक्त गर्न थालिएको छ । विश्वभर बढ्दै गएको ताममानलाई कम गर्न अहिले बसस–पैरवी भइरहेको छ । बढी कार्वन उत्सर्जन गर्ने देशहरुले यसको उत्पादनमा कमी ल्याउने बताइरहे पनि व्यवहारमा भने त्यो लागू नहुँदा चिन्ता बढ्दै गइरहेको छ । जलवायु परिवर्तनबाट भइरहेको जोखिम कम गर्न अहिले इजिप्टमा गहन छलफल भइरहेको छ ।

कोप– २७ नाम दिइएको उक्त बैठकमा १ सय ९८ देश सहभागी भएर छलफल गरिरहेका छन् । राष्ट्र संघीय जलवायु परिवर्तन सम्वन्धी महासन्धि पक्षधरका देशका सरोकारवालाहरुले जलवायु परिवर्तनलाई कसरी रोक्न सकिन्छ भन्दै छलफलमा जुटेका छन् । विगतमा भएका सहमति यस पटकको सम्मेलनमा कति कार्यान्वयन भए भन्नेबारेमा समेत छलफल हुनेभएको छ । दुई हप्तासम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनको चपेटामा परेका देशहरुका बारेमा छलफल भइरहेको छ । नेपालले पनि उक्त सम्मेलनमा सहभागिता जनाउँदै जलवायु परिवर्तनको मारमा परेको भन्दै यसको रोकथामका लागि विश्व समुदायसँंग गुहार मागेको छ ।

नेपालमा हिमश्रृंखलाहरु जलवायु परिवर्तनको सबैभन्दा बढी चपेटामा परेकाले यस्ता खाले समस्या समाधानमा ठूला राष्ट्रहरुले ध्यान दिनुपर्ने धारणा नेपालले सार्वजनिक गरेर बिश्व समुदायको ध्यान खिच्न खोजेको छ । वस्तुतः विश्वको ध्यान तान्नेगरी नेपालले प्रस्तुतिको तयारी राम्रोसँंग गर्न नसकेको कारण विश्व समुदायले खासै ध्यान दिएको देखिदैन । दुई विशाल मुलुक भारत र चीनले उत्पादन गरेको कार्वनका कारण नेपाल बढी मारमा परेको छ । नेपाली प्रतिनिधिहरुले दुई मुलुकका कारण नेपाल चेपुवामा परेको हो भनेर स्पष्ट धारणा राख्न नसक्दा सहभागीहरुले नेपालको तयारी नपुगेको टिप्पणी गर्नु स्वाभाविक भएको छ ।

छिमेकीसँग बढी नै डराउने प्रवृत्तिका कारण मुलुकको प्रतिष्ठामा ठेस लाग्न गएको छ । नेपालले जलवायु परिर्वनतका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको कुरालाई जोड दिएपनि अन्य राष्ट्रका कारण नेपालले भोगेको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने कुरालाई भने त्यति जोड दिन नसक्दा ठूला भनिएका मुलुकहरु हाइसन्चोका साथ बसेको देखिन्छ ।

विश्वभर बढ्दै गएको तापमानलाई १ दशमलव ५ डिग्री सेल्सियसमा कायम राख्न सबै मुलुक सहमत त भएका छन् जसले यसको कार्यान्वयन गर्नुपर्ने हो उनीहरुले त्यति चासो दिएको देखिदैन । बढी कार्वन उत्सर्जन गर्ने देशहरुलाई सबै मिलेर दवाव दिनुपर्ने बेला आएको छ । यस पटकको सम्मेलनमा सबैभन्दा बढी कार्वन उत्पादन गर्ने मुलुकको रुपमा चिनिएको भारत र चीनका प्रतिनिधि जारी सम्मेलनमा सहभागी नहुनुले पनि उनीहरुको नियतमाथि प्रश्न उठेको छ । चीन र भारतलाई विश्व समुदायले यस विषयमा दवाव दिनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्