कालीगण्डकीमा जल यातायात पुनः शुरु

0
Shares

पर्वत ।

कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ ।
कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो ।

पर्वतको सेतीबेणीदेखि कालीगण्डकी ए जलबिद्युत आयोजनाको बाँधस्थल स्याङजाको आँधीमुहान सम्म चल्ने स्टिमर सेवा वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि अवरुद्ध बनेको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर पुनः शुरु भएको शिला–शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो । ‘स्टिमर कार्तिकको पहिलो हप्ताबाट सञ्चालनमा ल्याएका छौ।’ उहाँले भन्नुभयो ‘दशैको समयमा समेत बर्षा भएपछि नदीमा पानीको बहाव नघटेकाले विगतका वर्षमा भन्दा यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको हो ।’

गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुन सक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ । अहिले १२ वटा स्टिमर सञ्चालन गरिरहेका छन् ।

स्टिमर सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित भएका छन । स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईवटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।