काभ्रेमा निर्वाचनको तयारी तिब्र,  ४ वटा अस्थायी मतदान केन्द्र

३,११२ कर्मचारी, १,५५६ स्वंसेवक

0
Shares

काभ्रे । 

मसिंर ४ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी छनौटको कामलाई अन्तिम चरणमा पु-याएको छ । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीहरुको नामावलीलाई अन्तिम रुप दिदै जिम्मेवारी बाँडफाँडको गृहकार्य भईरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएका कर्मचारीहरुका विषयमा टिका टिप्पणी धेरै भए पछि निर्वाचन कार्यालयले शंशोधन गरेको थियो । कर्मचारी तथा शिक्षकहरु राजनीतिक दलको जिम्मेवारीमा रहेको अवस्थामा समेत निर्वाचनमा खटिँदा उनिहरुबाट हुने निर्वाचनको निश्पक्षता माथि प्रश्न उठाईएको थियो । यो पटक कर्मचारी छनौटमा त्यसो हुन नदिने गरी कर्मचारी संघ संगठनका नेताहरु तथा अन्य माध्यमबाट राजनीतिक दलको जिम्मेवारीमा रहेका ब्यक्तिहरुलाई निर्वाचनमा परिचलान नगर्ने गरी परामर्श गरिएको छ ।

३ लाख १० हजार ६३ मतदाताका लागि कार्यालयले तयार गरेको मापदण्ड अनुसार ३ हजार १ सय १२ कर्मचारी र १ हजार ५ सय ५६ स्वसेवक परिचालन हुनेछन् । जिल्ला निवार्चन अधिकारी उमेश राईका अनुसार एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी र ४ जना स्वंवेवक परिचालन हुनेछन् । जिल्लामा ३ सय ८९ वटा मतदान केन्द्र छन् । यो पटक निर्वाचनमा धेरै कर्मचारी खटाउनु पर्ने भएकाले निजामति कर्मचारीको अलावा माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई मतदान अधिकृत र सहायक मतदान अधिकृत बनाउने गरी तयारी गरिएको छ ।

मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी ५ जना र सहयोगी एक जना रहनेछन् । यो पटकको निर्वाचनमा प्रत्यक्ष तर्फका २ र समानुपातिक तर्फका २ गरी चारवटा मतपत्र हुनेछन् । चारवटा मतपत्रका लागि चारजना कर्मचारी खटिनेछन् । ८ जना कर्मचारी जिल्लाबाट खटिनेछन् भने स्वसेवक मतदान अधिकृतले स्थानीय स्तरबाटै लिनेछन् । यो पटक कर्मचारी तथा सुरक्षा निकायका ब्यक्तिहरुले पनि समानुपातिक तर्फ प्रदेशका हकमा प्रदेश अन्र्तगतका र प्रतिनिधि सभा तर्फ मतदाता सूचीमा नाम भएका सबैले मतदान गर्न पाउने भए पछि जिल्लामा ४ वटा अस्थायी मतदान केन्द्र रहने भएको छ ।

जेष्ठ नागरिक केन्द्र तथा आश्रममा रहेका मतदाताहरुलाई नजिकको मतदान केन्द्रमा मतदान गर्ने ब्यवस्था मिलाईने छ भने अन्यको हकमा ५० जना भन्दा धेरै अस्थायी मतदाता भएका स्थानमा मतदान केन्द्र राखिनिछ । शशस्त्र प्रहरी पाँचखाल, जिल्ला कारागार कार्यालय, धुलिखेलमा रहेको नेपाली सेना र नेपाल प्रहरीका लागि एउटा केन्द्र रहने छ भने भकुण्डेमा रहेको नेपाली सेना तथा अन्य स्थानमा ५० भन्दा धेरै मतदाता भएको स्थानमा अस्थायी मतदान केन्द्र राख्ने तयारी गरिएको छ ।

काभ्रेमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा १६ जना, सोहि क्षेत्रको प्रदेश सभा १ मा ६ जना र २ मा ८ जना उम्मेदवार छन् । प्रतिनिधि सभा १ मा १७ जना, प्रदेश सभा १ मा ९ जना र २ मा ९ गरी ६४ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ६३ मतदाता छन् । ३ सय ८९ वटा मतदान केन्द्रबाट १ लाख ५७ हजार ९ सय ४७ पुरुष, १ लाख ५२ हजार १ सय १४ महिला मतदाताले मतदान गर्न पाउने छन् । अन्य मतदाता २ जना छन् ।

प्रतिनिधि सभा १ मा १ लाख ५२ हजार ६ सय २१ मतदाता छन् भने प्रदेश १ मा ७६ हजार ४ सय ७५, प्रदेश सभा २ मा ७६ हजार १ सय ४६ मतदाता छन् । प्रतिनिधि सभा २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन् । प्रदेश सभा १ मा ७७ हजार १ सय ९ मतदाता छन् भने प्रदेश सभा २ मा ८० हजार ३ सय ३३ मतदाता छन् । जिल्लामा ५ हजार ५ सय पुरुष मतदाता धेरै छन् ।