भारतीय कम्पनीलाई असल्ट राइफल गोलीको ठेक्का

0
Shares

काठमाडौं । 

नेपाली सेनाले प्रयोग गर्ने राइफलको गोली भारतीय एक निजी कम्पनीले आपूर्ति गर्ने ठेक्का पाएको छ । विगत ८ वर्षदेखि चीनको विभिन्न कम्पनीले नेपाली सेनालाई गोली गठ्ठा उपलब्ध गराउँदै आएको थियो ।

नेपाली सेनाले प्रयोग गर्ने असल्ट राइफलमा प्रयोग हुने ५ दशमलव ५६ एमएमको २० लाख राउन्ड गोली उक्त भारतीय निजी कम्पनीले उपलब्ध गराउने भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । नेपाल सरकार र भारतीय सरकारबीच जिटुजी सम्झौताअन्तर्गत उक्त गोली नेपाल आउन लागेको हो ।

यसपटक नेपाली सेनालाई उपलब्ध गराउने उक्त गोली सप्लाइ गर्न चिनियाँ कम्पनीले ठेक्का प्रक्रियामा सहभागी भए पनि कम रकम कबोल गर्ने भारतीय कम्पनीले उक्त ठेक्का पाएको हो ।नेपाली सेनाले प्रयोग गर्ने अधिकांश हतियार भारत सरकारसँग खरिद गर्ने र कतिपय हतियार भारत सरकारले नेपाली सेनालाई अनुदानमा दिने गरेको थियो । माओवादी द्वन्द्वको समयमा भारतले नेपाली सेनालाई उपलब्ध गराएको इन्सास राइफलले काम नगरेर नेपाली सेनाले ठूलो क्षति व्यहोरेपछि कोरिया र अमेरिकामा बनेको हतियार आपूर्ति गर्दै आएको छ । नेपाली सेनाले इन्सास राइफलको सट्टा एम ४ एस र एम १६ तथा नेटो राइफल लिँदै आएको छ ।

भारतीय र नेपाली सेनाबीच लामो इतिहास रहेको छ । भारतीय सेनामा ३५ हजारभन्दा बढी नेपाली नागरिक गोर्खा सैनिकको रूपमा कार्यरत रहेका छन् । नाम नखुलाइएको भारतीय कम्पनीले आउँदो जनवरीसम्ममा उक्त गोलीगठ्ठा नेपाली सेनालाई उपलब्ध गराउने भएको छ । उच्च सैनिक स्रोतका अनुसार एसएसएस डिफेन्सले आन्ध्र प्रदेशमा रहेको आफ्नो कारखानामा गोलाबारुद उत्पादन गर्ने गरेको छ । सो कम्पनी ब्राजिलको सीबीसी डिफेन्ससँग मिलेर भारतमा गोलाबारुद उत्पादन गरिरहेको छ । जुन विश्वको दोस्रो ठूलो सैन्य हतियार उत्पादक कम्पनी हो ।

सीबीसी भारतीय सशस्त्र बलका लागि एक आपूर्तिकर्ता हो र भारतीय सेनालाई पनि सानो क्यालिबर हतियार आपूर्ति गर्दै आएको छ । नेपालसँगको सम्झौताको सान्दर्भिकताका बारेमा प्रस्ट पार्दै स्रोतले भन्यो– ‘विगत आठ वर्षयता नेपालको सेनाले एउटा पनि भारतीय हतियार वा खरखजाना किनेको छैन ।’

नेपाली सेनाले हामीलाई हाम्रा फर्महरूबाट बोलपत्र मागेको पत्र लेखेको थियो । चिनियाँबाट पनि बोलपत्र माग गरिएको थियो । नेपाली सेनाले आफ्नै मूल्याङ्कन प्रक्रिया अघि बढाएर भारतीय कम्पनी एसएसएसलाई छनोट गरेको थियो । यो सम्झौताले भारतको बढ्दो प्रतिरक्षा उद्योग र भारतीय प्रणालीको निर्यात क्षमताको अर्को उदाहरण भएको स्रोतले बताएको छ ।