डिसेम्बर फल्समा आर्यनको एक्सन उपासनाको तनाव


आगामी डिसेम्बर महिना पुस १५ गते अल नेपाल रिलिज हुने फिल्म डिसेम्बर फल्सको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

फिल्मको निर्माण समूहले रिलिज डेट तोक्दै फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेको हो। रामप्रसाद रिजालद्वारा निर्मित पाँचौं फिल्मको शुक्रबार दुई प्रकारका पोस्टर सार्वजनिक गरिएको छ। एउटा पोस्टरमा अभिनेता आर्यन र अर्काेमा अभिनेत्री उपासना सिंह ठकुरीलाई एकल रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा आर्यन एक्सन+रियाक्सनमा देखिएका छन् भने उपासना तनावग्रस्त र घाइते अवस्थामा देखिन्छिन्।

अभिनेता आर्यन केही समयको अन्तरालपछि डिसेम्बर फल्समार्फत पर्दामा देखिँदैछन्। आर्यन र उपसनालाई पहिलोपटक यही फिल्ममा एक साथ प्रस्तुत गरिएको हो। भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। यसका अलावा सुमन थापा रोहित, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारलाई यसमा देखिनेछ।

रिजाल एन्ड रिजाल प्रोडक्शनको ब्यानरमा रामप्रसाद रिजालद्वारा प्रस्तुत फिल्मममा लक्ष्मण रिजाल कार्यकारी निर्माता छन्। बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा र सम्वाद, दीपक शर्मा, कोशिस क्षेत्री, सुशान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, महेश आर गुप्ताको छायांकन र बनिष शाहको सम्पादन रहेको फिल्म श्रीराम बालाजी फिल्म्स्का सुनील मानन्धरले वितरण गर्नेछन्।