नयाँ भाँडा किनेर मनाइयो धनतेरस

0
Shares

काठमाडौँ।

कार्तिक कृष्ण त्रयोदशीको दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ । केहीले आज कुबेरको पूजा गरेपनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन् ।

आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ ।