विदेशी फिल्मको अतिक्रमणप्रति आपत्ति


परिवर्तन नेपालले राजधानीमा एक कार्यक्रम आयोजना गरी नेपाल चलचित्र निर्माता संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई एवं सम्मान व्यक्त गरेको छ।

अभिनेत्री वसुन्धरा भुसालको सभापतित्वमा सम्पन्न समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य राख्ने विदेशी फिल्मको माध्यमबाट नेपालको भाषा र संस्कृतिमा आक्रमण भइरहेकोमा आपत्ति जनाए। नेपाल चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले फिल्म क्षेत्र फिल्मकर्मीको परिवार भएको चर्चा गर्दै परिवारमा आइपर्ने समस्या समाधान गर्न सम्पूर्ण सदस्य एकजुट भई लाग्नुपर्ने राय व्यक्त गरे। यस्तैगरी, निर्माता संघका अध्यक्ष नवल खड्काले देशको संस्कृति र भाषामाथि आँच आउने कुनै पनि विषय सह्य नहुने औंल्याउँदै फिल्म वा निर्माताले संविधान र ऐन नियमको उल्लंघन गर्न नपाउने बताए।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले फिल्मसँग सम्बन्धित संघसंस्था संख्यामा धेरै हुन थालेपछि समस्या पनि एकीकृत नभई छरिएर आउन थालेको चर्चा गर्दै एकीकृत रूपमा आवाज उठाउन महासंघको आवश्यकता भएको औंल्याए। चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीले फिल्मकर्मीहरू आफैं भ्रम फैलाउनतिर आफैं लाग्ने र त्यस्ता कार्यको परिणाम नकारात्मक नै हुने चर्चा गरे।अभिनेत्री वसुन्धरा भुसालले महासंघको आवश्यकता विगतमा पनि महसुस गरिएको र यसतर्फ गम्भीर भएर कदम उठाउनुपर्नेमा जोड दिइन्।