राजनीतिमा नटवरलालहरुको बिगबिगी

0
Shares

सत्तरी–असीको दशकताका हामी केटाकेटी हुँदा गाउँघरतिरका अलि पढेलेखेका मानिसहरुले कतिपय व्यक्तिको सन्दर्भमा चर्चा चल्दा यो त नटवरलाल नै हो नि भन्ने गरेको सुनिन्थ्यो, तर किन त्यसो भनेको होला भन्ने थाहा नपाए पनि बुभ्mनेतर्पm खासै वास्ता हुँदैनथ्यो ।

पछि ठूलो हुँदै गएपछि थाहा भयो, कुनै मानिस साह्रै ठग छ अथवा जसलाई पटक्कै विश्वास गर्न सकिँदैन त्यस्ताको बारेमा भन्नुप¥यो भने त्यसताका त्यसो भन्ने गरिएको रहेछ । नटवरलाल आम मानिसले कल्पना गरेको पात्र नभई एउटा नामुद भारतीय ठगले विभिन्न ठाउँमा ठगी गर्ने क्रममा प्रयोग गरेको विभिन्न फर्जी नामहरुमध्येको एउटा नाम हो, जुन पछि यति चर्चित भयो कि उसको असली नाम नै ओझेलमा पर्न गयो ।

भारतको विहार राज्यको सिवान जिल्लामा जिरादेह भन्ने एउटा गाउँ छ, जसलाई आजाद भारतको प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको गाउँ भनेर चिनिन्थ्यो । पछि सोही गाउँको मिथिलेस कुमार श्रीवास्तव भन्ने एक ठग जसलाई अधिकांश मानिसले नटवरलालको नामले मात्र जान्दछन्, यति चर्चित भयो कि पछि–पछि सो गाउँलाई नटवरलालको गाउँ भनेरसमेत चिनिन थालियो ।नटवरलालले गरेका ठगीहरुको फेहरिस्त निकै लामो छ । उसले गरेका कतिपय ठगीहरुको किस्सा सुन्दा र पढ्दा पत्याउनसमेत मुस्किल पर्दछ ।

भन्ने गरिन्छ, उसले सरकारी अफिसरको रुपधारण गरेर राष्ट्रपति भवन, संसद् भवन र लालकिल्लासमेत विदेशीलाई बिक्री गरी ठगी गरेको थियो, अझ ताजमहल त एकपटक मात्र नभई तीनपटकसम्म बिक्री गर्न भ्याएको थियो । नटवरलालको बारेमा लेखिएका किस्साहरु, गरिएका अनुसन्धानहरु र उसको नाममा खेलिएका तथा बनेका नाटक तथा सिनेमाहरुले उनको चर्चा अझ बढी चुलियो ।वितेका केही दशकदेखि नेपालको राजनीतिमा यस्तै नटवरलालहरुको वर्चश्व र बिगबिगी बढ्दो छ, जसका कारण मुलुकको हरेक क्षेत्र तहसनहस हुँदै गइरहेको छ । अचम्म त के छ भने, मिथिलेस कुमार नाम गरेको बहुचर्चित ठग नटवरलालले पनि एउटै व्यक्ति वा समूहलाई पटक–पटक ठगी गर्न सकेको थिएन । अतः उसले प्रत्येक पटकको ठगीको लागि नयाँ–नयाँ मानिसहरुको खोजी गर्दथ्यो ।

तर नेपालका नटवरलालहरु दशकौंदेखि एउटा व्यक्ति वा समूहलाई मात्र नभई करोडौं नेपाली अथवा भनौं सम्पूर्ण राष्ट्रलाई पटक–पटक ठग्न सफल छन् । ठगी गरेकै कारण मिथिलेस कुमार दर्जनौंपटक जेल प¥यो तर नेपालका नटवरलालहरु जेल पर्नु त परको कुरा मुलुककै सर्वोच्च तथा निर्णायक तहमा पालैपालो विराजमान छन् । सरकारी सुरक्षा निकायका दर्जनौं सुरक्षाकर्मी स्यालुट ठोक्दै यिनकै सुरक्षाका लागि हरहमेसा तैनाथ छन् भने यिनीहरु जहाँ–जहाँ पुग्छन् त्यहाँ–त्यहाँ सयौंको संख्यामा फूलमालासहित यिनका समर्थकहरु लामबद्ध देखिन्छन् ।

अब त बुभ्mनै गाह्रो भइसक्यो, यिनका स्वागतार्थ तथा यिनका हरेक झुटमुठका वाणीमा ताली पिट्न तम्तयार यो जमात मनोरञ्जन लिइरहेको छ कि अज्ञानता, विवेकहीनता तथा दास मानसिकताका कारण यो सब गरिरहेछ ।मिथिलेस कुमार एउटा व्यक्ति थियो, जसका कारण ढिलो–चाँडो उसको अन्त्य निश्चित थियो र भयो पनि । तर नेपालका नटवरलालहरु संगठित मात्र नभई राज्यमा नै रुपान्तरित भइसकेकाले जनता र राष्ट्रले सितिमिति यिनीहरुबाट मुक्ति पाउने देखिँदैन । वडादेखि केन्द्रसम्म जहाँसुकै गए पनि यिनीहरुकै दबदबा देखिन्छ । कार्यपालिका र व्यवस्थापिकाको त कुरै भएन, न्यायालयमा समेत यिनीहरुको पकड र प्रभाव कति छ भन्ने कुरा महाभियोग लगाइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरले संसदीय समितिमा दिएको बयान सुन्दा पनि आँकलन गर्न सकिन्छ ।

एउटा नटवरलाल २०४८ सालदेखि डडेलधुराका जनता झुक्याउँदै छ । त्यही जिल्लाबाट ६ पटक चुनाव जितेर एकपटक गृहमन्त्री र ५ पटक प्रधानमन्त्री भइसक्दा पनि त्यस जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी, जीवनस्तर, भौतिक पूर्वाधारलगायतका कुनै पनि क्षेत्रमा उल्लेख्य सुधार हुन सकेको छैन र पनि सातौंपटक त्यहीँका जनता झुक्याउन प्रयत्नशील छ । अर्को नटवरलाल १८ औं शताब्दीको प्रारम्भिक औद्योगिक क्रान्तिको समयमा प्रतिपादित तीन सय वर्ष पुरानो विचारधारा बोकेर कहिले रोल्पा र काठमाडौंका, कहिले सिरहाका त कहिले चितवनका जनता झुक्याउँदै अहिले गोरखाका जनता झुक्याउन प्रयत्नशील छ ।

अर्को नटवरलाल पालैपालो कहिले रौतहटका त कहिले काठमाडौंका जनता झुक्याउँदै यसपटक पुनः रौतहटका जनता झुक्याउन सकिन्छ कि भन्दै त्यतै लागेको छ । अर्को एउटा नटवरलाल शेरबहादुर, ओली र प्रचण्डले मिलेर बुढीगण्डकीमा नौ अर्ब भ्रष्टाचार गरेको र प्रचण्डले मुलुक लुटेर दुबईमा २० अर्ब राखेकोले सहन नसकेर प्रचण्डलाई छोडेको घोषणा गर्छ र चारैतिर असफल भएपछि उही प्रचण्डसँग टाँसिन पुगेको छ ।

कोही आफू एउटा पार्टीको अध्यक्ष हुने अनि अर्को पार्टीको चिन्हबाट चुनाव लड्ने छन् भने कोही दिनरात आफैले साम्प्रदायिक भनेकाहरुसँग घाँटी जोड्न पुगेका छन् । यी त प्रतिनिधि पात्र मात्र हुन्, मुलुकको विभिन्न तह र तप्कामा यस्ता हजारौं हजार नटवरलालहरु भेटिन्छन् जसले वर्षौंदेखि निरन्तररुपमा राष्ट्र र जनतालाई ठगिरहेछन् ।

समकालीन नेपाली राजनीतिमा जनता झुक्याउन सबैभन्दा सिपालु पात्र हुन् नेकपा एमालेका खड्गप्रसाद ओली । यस आधारमा उनलाई राजनीतिमा रहेका नटवरलालहरुमध्ये पनि सबैभन्दा शीर्ष स्थानमा राख्न सकिन्छ । हावादारी तथ्यमा टेकेर सफेद झुटलाई समेत बडो निर्लज्जतापूर्वक कलात्मक ढंगले प्रस्तुत गर्न सक्नु र आफूले राष्ट्र र जनताविरुद्ध गरेको अपराध वा आफ्नो अक्षमतालाई छल्न वा विषयान्तर गरेर जनताको ध्यान मोड्न सक्नु उनको सबैभन्दा ठूलो योग्यता अथवा क्षमता हो । भनेको सुनिन्छ, आठ कक्षाको परीक्षामा फेल भएर निन्याउरो मुख लाई घर आउँदा उनका पिता मोहन प्रसादले तँ त फेल भइस् रे नि ! भनेर सोध्दा म फेल भएको होइन, फेल गराइएको हुँ भनेर जवाफ फर्काएका थिए रे ! ओलीको राजनीति, नैतिकता, विकास, तर्क–वितर्क, भाषण, स्पष्टीकरण आज पनि आठ कक्षा फेल हुँदाकै स्तरको देखिन्छ ।

आफैंले दुईपटक विघटन गरेको संसद्मा उभिएर आफू र आफ्नो पार्टीले संसद्को गरिमा बढाएको भन्दै भाषण गर्ने साहस र निर्लज्जता ओलीबाहेक जो–कोहीले राख्न सक्दैन । दशकौंसम्म चल्ने सम्भावना नरहेको पानीजहाजको टिकट बेच्ने, रेलको स्टेसन तोक्ने, हुँदै नभएको अयोध्या ठोरीमा खोज्ने, बाहिर उग्र राष्ट्रवादी गीत गाउने अनि मध्यरातमा सामन्त गोयलको पाउमा लम्पसार पर्ने, गोबर ग्यास उद्घाटन गरेर आफूले घर–घरमा पु¥याउने भनेको ग्यास पाइपको सपना आज पूरा भएको भन्ने, भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै यती, ओम्नी, वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायतका काण्डहरु रच्ने, कमिसनकै लागि राष्ट्रलाई ऋणको भारी बोकाएर घण्टाघर र भ्यु टावर निर्माणको लहर ल्याउनेजस्ता कामहरु जो–कोहीले गर्न सक्दैन ।

कोरोनाका कारण सम्पूर्ण विश्व नै संकटग्रस्त रहेको अवस्थामा समेत स्वास्थ्य सामग्री ल्याउने क्रममा व्यापक भ्रष्टाचारको समाचार बाहिरिएपछि कहिले बेसारविज्ञ, कहिले जलवायुविज्ञ त कहिले जडीबुटीविज्ञ बनेर जनताको स्वास्थ्यमा खेलबाड गर्दै जग हँसाइ गरेको जगजाहेर नै छ । केही महिनाअघि विजय कुमारसँगको टक सो कार्यक्रममा सत्ता गठबन्धनलाई लिएर ज्योतिषविज्ञका रुपमा पटक–पटक आषाढ १७ को मिति तोक्दै गरेको भविष्यवाणी पनि सम्झनलायक नै छ ।

राष्ट्रहित विपरीतको महाकाली सन्धिका एक नम्बरका सारथी सर्वपक्षीय दबाबका कारण चुच्चे नक्सा जारी गर्न बाध्य भए पनि उनले त्यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वीकृति दिलाउन कुनै प्रयत्न त गरेनन् नै, पाठ्यक्रममा समेत समावेश गर्न दिएनन् । तर सोही नक्सा देखाउँदै आफ्ना हनुमानहरु लगाएर आफैंले आफैंलाई ‘परमपिता’ र ‘फादर अफ नेसन’ को पगरी गुथिसके । एमसीसी, एसपीपी र नागरिकता विधेयकमा उनको दोहोरो चरित्र छर्लंग देखिएकै हो र पनि उनी अझै जनतालाई मूर्ख बनाउन सकिन्छ भन्ने भ्रममा बाँचिरहेका छन् अनि आफ्ना कर्तुत लुकाउन नयाँ–नयाँ हथकण्डाको प्रयोग गर्दै छन् ।

दिनरात लोकतन्त्र र प्रजातन्त्रको गीत गाउने तर महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएको रआफूले गरेको असंवैधानिक अनि गैरकानुनी क्रियाकलापविरुद्ध आवाज उठाएको रिसमा स्थानीय, जिल्ला र प्रदेश कमिटीहरुबाट एकल सिफारिसमा परेकाहरुलाई समेत टिकट नदिई अरु पार्टीका त्यो पनि पटक–पटक जनताबाट तिरष्कृत कमल थापा र दीपक बोहोराहरुलाई उनी सबैभन्दा लोकतन्त्र र प्रजातन्त्रका हिमायती देख्छन् । केन्द्रमा झन्डै दुई तिहाइ र सात प्रदेशमध्ये ६ प्रदेशमा वाम गठबन्धनको लागि जनादेश पाएको सरकार समय नपुग्दै तुहाएर आज फेरि केका लागि मत माग्दै हिँड्दै छन् ? यो कुरा आम नेपालीले गम्भीरताका साथ सोच्नुपर्ने भएको छ ।

निर्वाचनको मिति नजिकिँदो छ । स्थापित दलहरुका साथै कतिपयले नयाँ दलका नाममा त कतिपयले स्वतन्त्र उम्मेदवारको रुपमा नयाँ–नयाँ नाराहरुका साथ आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय चुनावमा काठमाडौं महानगरलगायतका केही ठाउँमा स्वतन्त्र उम्मेदवारहरुको जीत र पुराना दलहरुप्रतिको युवापुस्ताको वितृष्णाको फाइदा प्राप्त हुने आँकलनका साथ आफूभन्दा जुनियरहरुलाई भेला पारेर दल दर्ता गरेकाहरु अथवा स्वतन्त्र उम्मेदवारी दिएकाहरुमध्ये कति नटवरलाल छन् भन्ने कुराको पहिचान समयक्रमसँगै हुँदै जाला ।

गठबन्धन सरकारले नागरिकता विधेयक संसद्मा पेस गरेताका युट्युब र टेलिभिजनहरुमा उग्र राष्ट्रवाद र देशप्रेमको कुरा गर्ने एकजनालाई मैले (जो हाल काठमाडौंको एउटा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारसमेत भएका छन्) राष्ट्रहित विपरीतको नागरिकता विधेयकबारे त केही बोल्नुहुन्न नि भनेर सोध्दा तपाईं बोल्नुस् न म किन बोल्नु भन्दै जवाफ फर्काएका थिए । यसरी नटवरलालहरु विभिन्न समयमा विभिन्न रुपमा प्रकट भइरहेका छन् । अतः जबसम्म यस्ता नटवरलालहरुको चंगुलबाट समाज र मुलुक मुक्त हुँदैन तबसम्म जनता र राष्ट्र ठगिइरहनेछन् ।

यिनीहरुको चंगुलबाट मुक्त हुने भनेको कि आन्दोलनबाट हो, कि निर्वाचनको समयमा गरिने मतदानबाट । निर्वाचनको मिति नजिकिँदै जाँदा नटवरलालहरु पुनः कसरी जनता झुक्याउन सकिन्छ भन्दै घोषणपत्र र तानाबाना बुन्न व्यस्त छन् । यस्तो अवस्थामा कुनै पनि किसिमको भ्रममा नपरी विवेकी ढंगले मतदान गरेर नटवरलालहरुको पञ्जाबाट समाज र मुलुकलाई मुक्त गर्दै भविष्य सुनिश्चित गर्नु आम नेपाली नागरिकको आजको आवश्यकता तथा दायित्व हो ।