अमेरिकावासी नेपालीलाई नचाउँदै राजेशपायल


भनिन्छ गायक राजेशपायल राई जमिनमा कम, आकाशमा बढी हुने गर्छन्। देश विदेशमा हुने कार्यक्रममा सहभागीका क्रममा हुने उनको यात्रालाइ्र्र लिएर यसो भन्ने गरिएको हो।

विश्वभर कोरोना महामारी फैलिएपछि रोकिएको राजेशपायलको यस किसिमको हवाई यात्राको व्यस्तता फेरि बढेको छ। यतिबेला, गायक राई अमेरिकामा भइरहेका सांगीतिक कार्यक्रममा व्यस्त छन्। जीबीसीसी र क्रियटिभ युथ्स अफ कोलोराडोको संयुक्त आयोजनामा भएको दशैं तिहार सांगीतिक साँझ २०२२ कार्यक्रममा लागि केही समयअघि अमेरिका पुगेका गायक राईको यस पटकको विदेशी सांगीतिक यात्रा लामै हुने भएको छ।

अक्टोबर १ मा कोलोराडाको अरोरास्थित अरोरा सेन्ट्रल हाई स्कुलमा सोम बरालको अध्यक्षतामा सम्पन्न भव्य सांगीतिक प्रस्तुति दिएका राजेशपायलको अमेरिकाको सांगीतिक यात्रा निरन्तर चलिरहेको छ।

कोलोराडाको कार्यक्रममा उनको साथमा गायिका शशी रावल तथा स्थानीय कलाकारको समेत प्रस्तुति रहेको थियो। पछिल्लोपटक सन् २०१६ मा कोलोराडो पुगेका राजेश पायललले त्यहाँका दर्शकलाई ५ वर्षपछि आफ्नो सांगितीक प्रस्तुतिमार्फत मोहित तुल्याएका थिए।

कार्यक्रमकै सिलसिलामा अक्टोबर ९ मा डेलास पुगेका उनले त्यसपछि जर्जिया र पेन्सिल्वेनियासमेत आफ्नो सांगीतिक प्रस्तुतिका माध्यमबाट अमेरिकावासी नेपालीलाई मन्त्रमुग्ध बनाएका छन्।

गायक राईले अमेरिकी शहरमा भएका कन्सर्टहरूमा उनलाई दर्शकले सँगसँगै गीत गाएर र हुटिङ गरेर साथ दिएका थिए। एकै शोमा निरन्तररूपमा दर्जनौं गीत गाएर दर्शक नचाउने उनलाई दर्शकले लगातार रूपमा वन्स मोरको आवाज गुञ्जाएर स्वागत गरेका थिए।

आफ्ना हिट र सुपरहिट गीत संगीत पस्कने क्रममा दर्शकको मनोभावअनुसार आफ्नै शैलीको विशेष हाउभाउ प्रस्तुत गर्दै आएका राजेशपायलले आगामी अक्टोबर २१ मा एक्रोन, २३ मा दक्षिण डाकोटा र ३० मा उत्तर क्यारोलिनामा सांगीतिक प्रस्तुति पस्कनेछन्।

फेरि संगीतप्रेमीको बीचमा आफूलाई उभ्याउन पाएको छु। नेपाली संगीतप्रेमी दर्शकको सांगीतिक प्यास मेटाउने प्रयास गरिरहेको छु गायक राईले अमेरिकाबाट नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने।