नेपथ्य कोरोनापछि दुबईमा प्रस्तुत हुँदै


महामारीपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ। आगामी कात्तिक २० गते ब्यान्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुने भएको हो।

यसपटक हामी फेरि पूरै जोस र जाँगरका साथ दुबई जाँदैछौँ ब्यान्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीत यसपटक प्राथमिकतामा परेका छन्।नेपथ्यले २०७२ को महाभूकम्पलगत्तै आफूलाई सो सहरमा प्रस्तुत गरेको थियो।

पूर्वनिर्धारित कार्यक्रम भएकैले शोकका बेला पनि उपस्थिति जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबई कन्सर्टबाट प्राप्त रकममध्ये प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो।

नेपथ्य त्यसको चार वर्षपछि सन् २०१९ को मार्च महिनामा दोश्रोपटक दुबई पुगेको थियो। नेपथ्यलाई यसपटक दुबई सहरमा अमृत इभेन्ट्सले प्रस्तुत गर्न लागेको हो। कार्यक्रममा सँधैजस्तै अमृतलाई डझमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।