आईटीएफमा आर्मीलाई तीन स्वर्ण


पोखरा । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा जारी आईटीएफ तेक्वान्दोमा त्रिभुवन आर्मीले तीन र बागमती प्रदेशले एक स्वर्णपदक जितेको छ ।

महिलातर्फ कालोपेटी दोस्रो डानमा आर्मीकी रिना धिमालले स्वर्ण र गण्डकी प्रदेशकी सुश्मिता थापाले रजतपदक हात पारेकी हुन् । कालोपेटी तेस्रो डानमा बागमतीकी रुबिना खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् ।

पुरुष कालोपेटी दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण र गण्डकी प्रदेशका राजन रेग्मीले रजतपदक प्राप्त गरिन् । यस्तै, कालोपेटी तेस्रो डान पुरुषतर्फ आर्मीका सुमन मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजतपदक जितेका छन् । यसअघि, आइतबार बिहान भएको खेलमा बागमती र आर्मीले एक–एक स्वर्णपदक जितेका थिए ।

उक्त खेलमा कालो पेटीतर्फ बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र आर्मीका हिमाल खड्काले रजतपदक हाँसिल गरेका हुन् । रातो पेटीतर्फ आर्मीका निकिता धिमालले स्वर्ण र सशस्त्र प्रहरी बलका अप्सना तामाङले रजत पदक हात पारेकी हुन् ।

टेनिसको टिम इभेन्टमा गण्डकी र आर्मीलाई स्वर्ण

टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लबले स्वर्णपदक जितेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरीयताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो ।

टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा आर्मीका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३,६–३ सेटले हराए ।एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले आर्मीका प्रनव खनाललाई ६–३,७–५ सेटमा हराए । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनभ र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो ।

पुरुषतर्फ गण्डकीले स्वर्णपदक जित्दा आर्मीले रजत पदकमा चित्त बुझायो । महिलातर्फ एकलमा आर्मीकी अभिलाषा विष्टले एपीएफका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा हराइन् । अर्को खेलमा आर्मीका आइरा एम रावतले एपिएफका सुनिरा थापालाई ६–१, १–६ ७–५ सेटमा हराउँदा आर्मी च्याम्पियन बनेको हो ।

क्रस कन्ट्री साइक्लिङ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती र पुरुषतर्फ एपीएफले स्वर्णपदक जितेको छ । पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दूरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

त्यस्तै, १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा दूरी पूरा गर्दै आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन् । १ घण्टा २० मिनेट ०४ सेकेण्डमा दूरी पार गर्दै एपिएफकी हुमी बुढामगरले कास्य जित्न सफल भइन् । पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपीएफले स्वर्ण र कास्य, आर्मीले रजतपदक जित्न सफल भएको छ । १९ किलोमिटरको दूरी १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै एपीएफका सुरज रानाले स्वर्णपदक जित्न सफल भएका छन् ।

आर्मीका हिमाल टमाटाले उक्त दूरी १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । त्यसैगरी, १ घण्टा १३ मिनेट २५ सेकेन्डमा दूरी पूरा गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् । सात प्रदेश र तीन विभागीय गरी दश क्षेत्रबाट प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छभने रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरी ८-८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

फुल कन्ट्याक्ट कराते

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र एपीएफले समान ३÷३ स्वर्ण जितेका छन् । कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषफर्तको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा १ स्वर्ण जितेको हो । आर्मीले खुला तौल समूह पुरुष, महिला र पुरुषातर्फ ६०-६५ केजी तौल समूहमा स्वर्ण जितेको हो ।

एपीएफले महिलातर्फको ४५ केजी मुनि र ५० केजी मुनि तौल समूह र पुरुषतर्फको ४५ केजी मुनि तौल समूहमा स्वर्ण जितेको हो । पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका हुन् । उनले गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए ।

पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा पनि आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् । भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशान लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।

पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए । यसैगरी, ४५-५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने बागमतीका राइले रजतमा चित्त बुझाए ।

४०-४५ केजी तौल समूहमा एपीएफका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५-४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।

महिलातर्फको खुला तौल समूहमा आर्मीकी मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले बागमतिकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजतमा चित्त बुझाइन् । ५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् ।

४५-५० केजी तौल समूहमा एपीएफकी करिष्मा कार्कीले बागमती प्रदेशकी नविना धमाललाई पराजित गरी स्वर्ण जित्दा धमालले रजत पदक जितिन् । ४० देखि ४५ केजी तौल समूहमा एपिएफकी रिना माझीले पुलिसकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजतपदक जितिन् ।

महिलातर्फको ३५-४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । एपिएफले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिस्पर्धा रोकिएका थिए । पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिस्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रिय स्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियमअनुसार प्रतिस्पर्धा गराइएको थियो ।

शारीरिक सुगठन

शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप-यो । स्वर्णका लागि प्रि–जर्ज राउन्डबाट छनोट भएका ५ जनाबाट विजेता बनेका हुन् ।

प्रि–जर्जबाट गण्डकीका विवेक हमाल, बागमतीका दिनेश गोसाईं, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपीएफका कपिल गौतम र त्रिभुवन आर्मीका रमेश फोम्बो छनोट भएका थिए । ५५ किलो तौल समूहमा उनीहरूसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सुनील राईका प्रतिस्पर्धा गरेका थिए ।

यस्तै, त्यसपछि भएको ६० किलोग्राम तौल समूहमा नेपाल पुलिसका डेबिड बलामीले स्वर्ण, एपीएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलले काँस्यपदक जितेका छन् । आईतबार नै ६५, ७० र ७५ किलोग्राम तौल समूहको प्रि–जर्ज र फाईनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।

दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समुहको फाइनल हुनेछ । भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन् । उनका अनुसार प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् ।

उनीहरूले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेन्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरूले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।