रञ्जुको स्वर्ण ११ महिने छोरीलाई समर्पण

0
Shares

पोखरा ।

खेलाडीहरूको आफ्नै कथा व्यथा रहेका छन् । कतै खेलाडीले कीर्तिमान कायम गरेका छन त कतै उपाधि चुमेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार महिला ह्यान्डबलको फाइनल खेल भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई १७–१६ ले हरायो ।
एपीएफलाई हराउने टोलीमा थिइन् २८ वर्षीया रञ्जु रावत । उनले आफुले जितेको स्वर्ण आफ्नो छोरीलाई लगाइदिएकी छिन् । ११ महिने छोरीलाई समेत काखमा च्यापेर प्रतियोगितामा सहभागिता जनाएकी उनी आर्मीको महत्वपूर्ण खेलाडीसमेत हुन् । आफ्नो दुध खाँदै गरेको शिशुलाई छाडेर खेल खेल्नु कठिन हुन्छ । उनी खेल मात्रै खेलिनन् टिमलाई स्वर्ण दिलाउन महत्वपूर्ण योगदानसमेत दिइन् ।

२०७२ सालदेखि निरन्तर ह्यान्डबलमा लागेकी उनी सुरुमा नखेल्ने सोचमा थिइन् तर टिमलाई खेलाडीको खाँचो भएपछि नकार्न सकिनन् । सातौं राष्ट्रिय खेलकुद देखी आफूलाई प्रतिनिधित्व गराएकी उनले दुई दिन अघिसम्म आफँै छोरी हेर्ने गरेकी थिइन् । टिमले सेमिफाइनलको यात्रा तय गरेपछि भने उनका श्रीमान्ले बिदा मिलाएर श्रीमतीलाई सहयोग गर्न आए ।

‘मेरो श्रीमान् पनि आर्मी हुनुहुन्छ । अस्तिसम्म म आफैँले नानीलाई हेरेको थिएँ । मेरो खेल हुँदा दाइहरूले हेरिदिनुभयो । अस्तिबाट चाँहि हल्का भयो’ उनले भनिन्,‘मलाई खेलकुदमा निकै चाख लाग्छ । मेरो घरपरिवाले पनि मलार्ई हौसला दिनुभयो । जाउँ म हेरिदिन्छु भन्छन् ।’ घर परिवारले छोरीको स्याहार सुसार गर्ने बताए पनि उनको मनले नमानेपछि छोरीलाई काखमा च्यापेर आइन् ।

उनले आफ्नो जित नभई छोरीको जित भएको बनाइन् । ‘मलाई होप थियो कि हामीले एपीएफलाई जित्छौँ भन्ने । जे होस् हामीले जित्यौं । खुसी लागेको छ । आगामी वर्ष पनि जित्छौँ । यो मेरो छोरीको लागि हो ।’
उनले ११ महिने शिशुलाई हुर्किइसकेको र आफू निरन्तर खेलमै रहने बताइन् । नानी सानो भएपछि घरपरिवारले खेल नखेल्न भनेको सुनाउँदै टिमका लागि आफू आवश्यक रहेकाले सुत्केरी भएको कुरा भुलेर नै प्रशिक्षणमा लागेको बताइन् । ‘खेल खेल्नुअघि छोड्छस् कि पनि भनेका थिए । तर, मैले खेल्छु नै भने ।
सामान्य तरिकाले नै बच्चा जन्मिएपछि पाँच महिनामा प्रशिक्षण गर्न सुरु गरेको हुँ’ उनले सुनाइन्,‘मैले सक्छु भन्ने आँट आयो । आर्मीलाई यतिबेला खेलाडीको खाँचो छ । यतिबेला मिसन भएकाले खेलाडीको कमी महसुस भयो र खेल्छु भन्ने आँट आयो घरपरिवारले साथ दियो । छोरीले पनि साथ दिई । अरुका बच्चा रुने गर्छन् मेरो छोरी सबैसँग मान्छे, त्यसैले सहज भयो । खेल्दै आए आज जितेँ पनि ।’