सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाई , चार हजार प्रहरी परिचालन


धनगढी, १८ असोज । जब दसैंतिहार आउँछ, गाउँमा चहलपहल बढ्छ। सहर सुनसान हुन्छ। सहरका घरहरुमा मानिस हुँदैनन, खाली हुन्छन्। गाउँमा पनि मेला हुने भएकाले घरहरुमा कोही हुँदैनन्। सोही समयमा चोरी तथा लुटपाटका घटनाहरु हुने गरेका छन्। मेलाहरुमा झै(झगडा हुने तथा अन्य अपराधिक क्रियाकलापको जोखिम हुन्छ। दसैं तिहारमा हुने सम्भावित यस्तै अपराधिक घटना रोक्नका लागि सुदूरपश्चिम प्रदेशमा चार हजार प्रहरी परिचालन गरिएको छ।

प्रदेशका सबै जिल्लाहरुमा सम्भावित जोखीमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताउनुभयो । ‘प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भएका छन्। आवश्यक परे थप परिचालन हुन्छन्। तर, अपराधिक घटना नयूनिकरण गर्न हामी तयार छौं,’ उहाँले भन्नुभयो । यस्तै प्रदेशको राजधानी समेत रहेको जिल्ला कैलालीमा पनि स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको छ। दसैँ तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको दाबी गरिएको हो।

स्थानीय प्रशासनले नागरिकलाई ढुक्कसँग दसैं मनाउन आग्रह गर्दै सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जनाएको छ। दसैं तिहारको समयमा प्रहरीको गस्ती बढाइएको छ भने सादा पोशाकमासमेत प्रहरी परिचालन गरिएको छ। सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेक्स र आवश्यक परेको खण्डमा थप सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘जिल्लामा एक हजार बढी प्रहरी परिचालन भएका छन्। ढुक्कसँग दसैं मनाउन हाम्रो आग्रह छ। नागरिक पनि सचेत हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

चाडपर्वको समयमा जथाभावी रुपमा सवारी साधन चलाउने र तीब्र गतिमा गाडी हाक्नेलाई कारबाहीको दायरामा ल्याउने छ। प्रदेशवासीलाई भयरहित वातावरणमा दसैं मनाउन आग्रहसहित प्रदेशभरी चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो। दसैंको अवधिमा आर्थिक संकटका कारण हुनसक्ने आर्थिक अपराधका घटनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गएिको हो। दसैं, तिहार, छठजस्ता चाडपर्व लक्षित सुरक्षा योजनामा चोरी, तस्करी, सडक दुर्घटना लगायतका घटना हुन नदिन प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नियमित ड्युटीसँगै रिजर्व फोर्सलाई पनि परिचालन गरिएको छ।