कैलालीका नरबहादुर साउदले छातीमाथि उमार्दैछन् जमरा



धनगढी,१७ असोज । कैलालीमा एक जनाले आफ्नो छातीमाथि दसैंको जमरा उमारिरहेका छन्। जिल्लाको गोदावरी नगरपालिकास्थित वडानम्बर ९ मुरकट्टीका नरबहादुर साउदले जमरा उमारिरहेका हुन्। उनले घटस्थापनादेखि ब्रत बसेर छातीमा जमरा उमारिरहेको जानकारी दिए। घटस्थापनादेखि विधिवत पूजापाठ गरेर उनले छातीमा जमरा उमार्न घरमै उपवास बसेका छन्।

‘एकपटक मात्र खाना खान्छु। त्यो पनि रोटीमात्रै’, उनले भने, ‘नवरात्रको ब्रत बसेको हुँ। नवरात्रको ब्रतका साथसाथै भगवतीप्रतिको आस्था रहन्छ भनेर यसरी जमरा उमारिरहेको छु।’ यस्तै उनले नुहाउन तथा शौचालय जादा आफ्नी पत्नीलाई उक्त जमरा छातीमा राख्न लगाउने गरेको बताए। उनले रातदिन जमरा छातीमा राखेर उमारिरहेका हुन्। अब नवमीको दिन बली दिएर जमरा काटिने उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्