बांगेमुढाको सामुदायिक भवन भत्काएपछि बालेनको पुत्ला दहन

0
Shares

काठमाडौँ।

काठमाडौं महानगरपालिकाले बांगेमुढामा रहेको सामुदायिक भवन भत्काएपछि मेयर बालेन शाहको पुत्ला दहन गरेको छ।

शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन्।

महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्। मंका खल, आदिवासी जनजाती स‌ंघ लगायत नेवा: समुदायसँग आबद्ध स‌ंघ संस्थाहरूले प्रदर्शन गरेका हुन‍्। प्रदर्शनकारीले विरोध जारी नै रहने जनाएका छन्। उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका छन् ।

शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ।

‘सहमतिका लागि तयार हुँदाहुँदै र सो सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा सो भवन भत्काउने कार्य निन्दनीय ठहर्छ,’ दबूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दसैं विदाको एकदिन अगाडि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य छ।’

दबूले अहिले वार्ता गरी सहमति गर्नु नै आवश्यकता भएको जनाएको छ।