सेल्फ डिफेन्स प्रशिक्षक प्रशिक्षण शुरु



काठमाडौं । 

नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स प्रशिक्षक प्रशिक्षण तालिम मंगलबारदेखि शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा आयोजित प्रशिक्षक प्रशिक्षण तालिम दुई दिनसम्म चल्ने संघकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनले जानकारी दिइन् । उक्त अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायतले गरेकी थिइन् ।

प्रशिक्षण शैली कसरी प्रभावकारी बनाउने भन्ने उद्देश्यस्वरूप संघले यो कार्यक्रम आयोजना गरेको जनाएको छ । पोल्यान्डका ग्रान्ड मास्टर स्टानिसल, भारतका सोक जगदीश सिंह र सन्जु महर्जनले प्रशिक्षण दिइन् ।शैद्धान्तिक र प्रयोगात्मक गरी दुई भागमा प्रशिक्षण भइरहेको संघले जनायो ।

उक्त प्रशिक्षण कार्यक्रममा कुल तीन सय ५० जना सहभागी छन् । ७० जिल्लाका प्रशिक्षकले यो प्रशिक्षण लिइरहेका छन् । संघले अन्तर्राष्ट्रिय प्रशिक्षणकै अवसरमा हिमालयन हल अफ फेम अवार्डको पनि आयोजना गर्दै छ । यस अवार्डबाट एक जना पत्रकार, खेलकर्मी, विद्यार्थीका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने संघकी प्रशिक्षक सञ्जु महर्जनले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्