खेल्नै नपाई प्रतियोगिताबाट बाहिरिए

0
Shares

काठमाडौं । 

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद शुरु भएको छैन । यसअन्तर्गतको पुरुष क्रिकेट खेल भने शुरु भएर सकिने अवस्थामा पुगिसकेको छ । तर, बेमौसममा खेलाएको क्रिकेट विवादास्पद निर्णय भइरहेको छ । दिनहुँ जसो वर्षा हुँदा खेल हुन नसकेपछि प्रतियोगिताकै दावेदारी टोली वागमती प्रदेश बाहिरिएको छ ।

वागमती प्रदेश एक खेल पनि खेल्न नपाउँदै प्रतियोगिताबाट बाहिरिनु पर्दा यसमा लगानी खेर पनि गएको छ । वागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । अर्को बलियो टोली नेपाल एपीएफ क्लब पनि एक खेल पनि नखेली बाहिरिसकेको छ ।वर्षाले गर्दा समूह ‘बी’ का खेल राम्ररी सञ्चालन हुन सकेन । जसले गर्दा वागमती र एपीएफ जस्ता उपाधि दाबेदारी टोलीले निराशाजनक नतिजा बेहोरेका छन् ।

वागमतीले लगातार चार खेल खेल्न पाएन । यी टोलीले खेल तालिका परिमार्जन गर्दै रद्द भएका खेल पुनः खेलाउनुपर्ने माग राखेका छन् । यस विषयमा राष्ट्रिय खेलकुद परिषद्ले बैठक पनि बोलाइएको छ ।यी रद्द भएका खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो । तर, लगातार वर्षाको कारण खेल हुन सकेन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगलाई असर पर्ने गरी मिति सार्न नहुने बताउँदै आएको छ । नेपाल टी–२० लिग आगामी असोज ८ गतेदेखि आयोजना गर्ने मिति तय भइसकेको छ ।

वर्षा खलनायक

वर्षा खलनायक बनेपछि प्रतियोगितामा २२ खेल समाप्तिसम्म मात्र ५ खेल निर्धारित २० ओभरमा सम्पन्न भएका छन् । यसमध्ये १६ खेल रद्द भए भने १ खेल ६ ओभरको मात्रै भएको थियो । यो खेल सुदूर र एनआरएनएबीच भएको थियो । यो खेल एनआरएनएले जितेको थियो । राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटका खेलमा ११ खेल मूलपानी क्रिकेट मैदानमा हुनुपर्ने तर, रद्द भए । यस्तै, त्रिवि क्रिकेट मैदानमा ५ खेल वर्षाको कारण रद्द भएका थिए ।

एक समूहमा ५ टोली रहेका छन् । समूह ‘बी’ मा एनआरएनए, सुदूरपश्चिम, वागमती, एपीएफ र प्रदेश १ रहेका छन् । यसमा एनआरएनले ४ खेलबाट ५ अंक जोडेर सेमिफाइनलमा स्थान बनाइसकेको छ । तर, वागमती, सुदूरपश्चिम र एपीएफको समान ४ अंक भए पनि नेट रनरेटको आधारमा सुदूरले बाजी मारेको छ । सुदूरले एक खेल खेल्न पाएको थियो, जसमा जित हासिल गरेको थियो ।

यस्तै, समूह ‘ए’ मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली, गण्डकी, मधेस र लुम्बिनी गरी ६ टोली रहेका छन् । यसमा पुलिसले ४ खेल खेलेर ६ अंक जोडेको छ । आर्मीको पनि ६ अंक रहेको छ । कर्णाली, गण्डकीसँग ४÷४ अंक छ । यी तीनै टोलीले ४÷४ खेल खेलिसकेका छन् । गण्डकीले पनि एक खेल पनि खेल्न पाएको छैन । मधेस र लुम्बिनी भने ५ खेलमा ३-३ अंक जोडेर समूह चरणबाटै बाहिरिसकेका छन् ।