पहिला सिटामोल कि चुनाबी सिट ?



राजधानी उपत्यका लगायत देशभर डेंगुको प्रकोप फैलिएको छ । डेंगुका बिरामी नभएका घर फेला पर्न मुस्किल हुनथालेको छ । राजधानी लगायत देशभर मानवजन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा डेगु फैलाउने लामखुट्टेको बढ्दो प्रभाव रहेको जनस्वास्थ्य विज्ञहरुले बताइरहेका छन् ।

फोहोरकै कारण तुलनात्मक रुपमा चिसो ठाउँमा र विगतमा नदेखिएको क्षेत्रमा पनि डेंगु फैलाउने लामखुट्टेको बढ्दो प्रभाव रहेको जनस्वास्थ्य विज्ञहरुको तर्क छ । हुनपनि काठमाडौं उपत्यका झण्डै दुई महिनासम्म मानवजन्य फोहोरको राजधानी नै बन्यो । फोहोरमाथि राजनीति गर्नेले निर्दयी व्यवहार देखाएकै कारण यहाँ डेंगुको महामारीमा नागरिक फस्नपुगे ।
जे–जसरी होस्, डेंगुको मारमा नागरिक परेपछि सरकारले निदान र समाधानमा सक्रियता देखाउनुपर्ने थियो । यस प्रकारको लामखुट्टे नियन्त्रणका लागि कहीं कतैबाट प्रभावकारी पहल भएको पाइँदैन ।

लामखुट्टेको टोकाइवाट हुने डेंगुको औषधि अहिले सम्म पत्ता नलागेको बताइन्छ । चिकित्सकहरुले रोग नियन्त्रणका लागि प्रयोगमा आउने औषधि भनेको सिटामोल मात्रै भएको बताइरहेको बेला राज्यले डेंगु पीडित बिरामीले खाने सिटामोल समेत उपलब्ध गराउन सकेको छैन । विदेशबाट आउने औषधि सरकारले प्रतिबन्ध लगाएको छ तर नेपालमा भएका कम्पनीले सिटामोल उपलब्ध गराउन सकेका छैनन् । परिणामस्वरुप डेंगुबाट पीडित बिरामी झन् पीडित बनेका छन् । राज्य सञ्चालन गर्नेहरुलाई अहिले महामारीको रुपमा फैलिएको डेंगुले छुन सकेको छैन । राज्यद्वारा सञ्चालित नेपाल औषधि लिमिटेड कानमा तेल हालेर बसेको भान हुनथालेको छ ।

राजधानीका अधिकांश औषधि पसलमा सिटामोलको अभाव हँुंदा पनि राज्यले त्यसतर्फ ध्यान दिन नसक्नु विडम्वना हो । सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नो डम्फु बजाउन ब्यस्त देखिन्छन् । रोग नियन्त्रणका लागि सबै मिलेर काम गर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो तर उनीहरु आउँदो मंसिर ४ गते हुने निर्वाचनमा कसले कतिसिट पाउने र राजगर्ने भन्ने विषयमा नै व्यस्त देखिन्छन् । नागरिक समाजका अगुवा हुं भन्नेहरु पनि यस बिषयमा चुं बोलेको सुनिदैन । अहिलेको आवश्यकता भनेको सिटामोल हो, राजनीतिक सिट होइन ।

सिटामोल समयमा नै उपलब्ध हुने हो भने नागरिकको पीडा कम हुने थियो । सरकार कम्तीमा पनि जनताको आधारभूत आवश्यकताभित्र पर्ने औषधिको उचित व्यवस्थापन गर्नेतर्फ लागिहाल्नुपर्छ ।दलीय गतिधिबाट वाक्क बनेका जनतालाई आधारभूत आवश्यकता समेत पूरा गराउन नसक्ने सरकारलाई पदमा बसिरहन पनि नैतिकताले नदिनुपर्ने हो । बालुवाटार, खुमलटार, बालकोट र कोटेश्वरका नेताका घरभित्र डेंगु प्रवेश नगरेका कारण राज्य चुप रहेको हो भने आफूलाई अभियन्ता भनेर नारा जुलुसमा सहभागी हुनेहरुले यो गम्भीर विषयलाई बाहिर ल्याउनुपर्ने थियो ।

डेंगुका कारण मानिसको मृत्युदर समेत बढिरहेको पछिल्लो तथ्यांकले देखाउँछ । यस बेला सरकारले अरु धेरै भूमिका खेल्न नसके पनि ज्वरो घटाउने औषधि बजारमा सहज ढंगले पाउने व्यवस्थासम्म त अवश्य मिलाउनै पर्छ । सरकारका लागि यो बढी जटिल र कठिन काम पनि होइन । छिमेकी मुलुकमा डेंगु छैन, त्यहाँ सिटामोल किन्न पाइन्छ । आयात गरेर बजारभरि वितरण गरे त कुरै सकियो !

प्रतिक्रिया दिनुहोस्