स्व. गणेश भट्टराई एउटा असल राष्ट्रसेवक

0
Shares

स्व. गणेश भट्टराई, एउटा असल राष्ट्रसेवक । उहाँको स्मृतिमा ‘स्मृतिमा गणेश भट्टराई’ पुस्तक प्रकाशन भएको छ । ३८१ पेजको त्यो पुस्तकमा कोरिएका सबै भावना छोटो समयमा पढी भ्याउनु असम्भव छ । तर ‘गणेश भट्टराई’ नामसँगको छोटो चिनजान, भेटघाट र उठबस वर्षौंको दोस्तानाजत्तिकै आत्मीय र भावनात्मक भएकोले पुस्तकको कभर पेज हेर्नासाथ मेरा मस्तिष्कमा झन्डै १३ वर्षअघिका केही सामाजिक अभियानका आत्मीय यादहरु उत्रिएका छन् ।

बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदाकै अवस्थामा नियोजित सवारी दुर्घटनामा भएको उहाँको पीडादायी अन्त्यको पाँच वर्षपछि गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘स्मृतिमा गणेश भट्टराई’ पुस्तकको कभर फोटोसँगै स्व. गणेशका बुबा तुलसीप्रसाद भट्टराईको लेख पढेपछि भने मलाई उहाँसँगको केही संस्मरण कोर्न मन लाग्यो ।
मैले पत्रकारिता गरेको ३४ वर्ष पुगेको छ । दोलखालाई केन्द्रमा राखेर पत्रकारिता गरेको पनि ३० वर्ष पूरा भएको छ । यो अवधिमा दोलखा जिल्लामा धेरै प्रमुख जिल्ला अधिकारीहरु आउनुभयो ।

व्यक्तिगत रुपमा र पेसागतरुपमा मेरो सबै प्रमुख जिल्ला अधिकारीहरुसँग सुमधुर सम्बन्ध कायम रह्यो । तर नागरिक सहजतामा सजग र सतर्क प्रमुख जिल्ला अधिकारी कमै हुनुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको पद नै अलि बढी आदेशात्मक हुने भएकोले पनि होला, सबै प्रमुख जिल्ला अधिकारी नागरिक सहजतामा सजग र सतर्क हुन असम्भव नै हुने गर्छ ।
तर चण्डेश्वर आचार्य, प्रल्हाद पोखरेल, स्व. गणेश भट्टराई केही यस्ता नाम हुन् जसले पदीय दायित्व र जिम्मेवारीलाई ख्याल गर्दै नागरिक सहजताको लागि कानुनी जोखिम मोलेरै पनि व्यावहारिक निर्णय र भूमिका निर्वाह गर्नुहुन्थ्यो ।

मलाई याद छ, माओवादी द्वन्द्व चरम उत्कर्षमा पुगेको बेला तत्कालीन प्रमुख जिल्ला अधिकारी चण्डेश्वर आचार्यले पक्राउ परेका केही माओवादी नेता–कार्यकर्तालाई मानवीय भावनाको सम्मान गर्दै कसैको दबाब र प्रभावमा नपरी उन्मुक्ति दिने जोखिमपूर्ण निर्णय गर्नुभएको थियो । स्व. गणेश भट्टराईको कार्यसम्पादन पनि त्यस्तै प्रकृतिको । बरु आफू जोखिम मोल्न तयार तर सर्वसाधारण जनताले कानुनी, व्यावहारिक या प्रक्रियागतरुपमा कुनै प्रकारको झमेला र ढिलासुस्तीको सामना गर्न नपरोस् भन्ने भावना ।

स्व. गणेशले दोलखाको प्रमुख जिल्ला अधिकारी भएको बेला गर्नुभएको एउटा निर्णय अहिले पनि उदाहरणीय र प्रशंसनीय छ । सविना दमाईं दिदी–बहिनीलाई आमाको नामबाट नागरिकता दिने निर्णय ।संविधानमा आमाको नामबाट नागरिकता लिन सकिने प्रावधान रहे पनि सो अनुसारको ऐन कानुन निर्माण भई नसकेको अवस्थामा आमाको नामबाट नागरिकता दिनु त्यति बेला निकै चुनौतीपूर्ण थियो ।

दोलखामा प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका अरु धेरैले आमाको नामबाट नागरिकता दिने चुनौती खेप्ने तदारुकता देखाउनुभएन । तर स्व. गणेश भट्टराईले सविना दमाईं दिदी–बहिनीले नागरिकताको अभावकै कारण भोग्नुपरेको पीडा र समस्यालाई भावनात्मकरुपमा आत्मसात् गर्दै त्यो चुनौती खेप्ने आँट देखाउनुभयो र सविना दमाईं दिदी–बहिनीले नागरिकता प्राप्त गर्न सक्नुभयो ।सविना दमाईं दिदी–बहिनीले नागरिकता प्राप्त गर्नुभएको त्यो क्षण म अहिले पनि सम्झिरहेको छु । रिर्पोटिङको लागि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुग्दा सविना दमाईं र उहाँको बहिनीको आँखाबाट केही थान मोतिका दाना झरिरहेका थिए आँसु बनेर । मोतिका दाना यस अर्थमा कि त्यो पीडाको हैन खुशीको आँसु थियो, सुखद र सहज भविष्यको आँसु थियो ।

सविना दमाईंको दिदी–बहिनीले नागरिकतालाई छातीमा टाँसेर एक–अर्कोसँग अङ्कमाल गरेको दृश्य अलौकिक र सुन्दर लाग्थ्यो । प्रमुख जिल्ला अधिकारीको कुर्सीमा बसिरहनुभएका स्व. गणेश भट्टराईको आँखा पनि रसाएका थिए, तर अनुहारमा अनौठो चमक तथा शरीरमा ऊर्जाशील स्फूर्ति देखिन्थ्यो । सविना दमाईं दिदी–बहिनीको आँसु, स्व. गणेश भट्टराईको स्फूर्ति र उहाँहरु सँगै बसेर फोटो खिचेको त्यो क्षणमा हामी रिर्पोटिङको लागि पुगेका पत्रकारहरु पनि आह्लादित बनेका थियौं । शायद हामी सबै पत्रकारहरुको लागि रिर्पोटिङको त्यो परिवेश दुर्लभ थियो ।

पत्रकारको भूमिकाको विषयमा अहिले पनि बेलाबखत बहस हुने गरेको छ । पत्रकारले समाचारमात्र लेख्ने कि सामाजिक अभियानको अगुवाइ पनि गर्ने ? मेरो मत र भूमिका भने सधैँ सामाजिक अभियानको अगुवाइ गर्ने कुरामा रहने गरेको छ । पत्रकार समाजको अगुवा र हरेक परिस्थिति तथा परिवेशको निकट साक्षी भएकोले सामाजिक पीडामा लेख्ने सिपाहीमात्र बनेर दायित्व पूरा नहुने मेरो विश्वास र मत हो । पत्रकारले त्यस्तो सामाजिक पीडामा अगुवाको भूमिका खेल्दै समाधानको लागि सचेततापूर्वक कानुनी लडाइँ लड्नुपर्छ भन्ने मलाई लाग्छ ।

दोलखाको सन्दर्भमा सबै पत्रकार मित्रहरु भूमिका लेख्ने कुरामा मात्र सीमित होइन, नागरिक अगुवाको भूमिकामा पनि सक्रिय हुनुहुन्छ । त्यसैले दोलखाका नागरिकहरु सानो समस्या पर्दा पनि पत्रकारहरुसँग समाधानको अगुवाइ र साझेदारीको लागि पुग्ने गर्नुहुन्छ ।स्व. गणेश भट्टराईसँग लेखनको क्रममा मेरो भेट कमै भयो होला तर सामाजिक अभियान र नागरिकको समस्यामा छलफल गर्ने कुरामा हामी धेरैपटक भेटिने गरेका थियौँ । नागरिकको समस्या र समाजको अवस्थालाई व्यावहारिक आँखाले हेर्ने र कानुनको सम्मान गर्दै व्यावहारिक समाधान खोज्ने स्व. गणेशको कार्यशैली वास्तवमै प्रशंसनीय थियो ।

त्यसैले त अहिले पनि आम दोलखालीले प्रजिअ स्व. गणेशलाई एउटा असल अभिभावकको रुपमा सम्झिरहेका छन् । यहाँ थोरै स्व. गणेश भट्टराईको बुबाले पुस्तकमा लेख्नुभएको संस्मरणको प्रसंग उल्लेख गर्न सान्दर्भिक ठान्दछु । छोराको मृत्युले शोकाकूल मन र विस्मीत भावना अक्षर बनाएर दौडाउनुभएको छ तुलसीप्रसाद भट्टराईले । छोरालाई साथी सम्झने तुलसीप्रसादको मन साँच्चै फराकिलो छ ।जेठा छोरा स्व. गणेश भट्टराईको साथ र सहयोगले पारिवारिक रथ अगाडि बढेको सत्यलाई तुलसीप्रसादले छोप्ने प्रयत्न गर्नुभएन ।

ओखलढुङ्गाको सम्पन्न परिवारमा डाँकाको प्रवेशले मच्चाएको वितण्डा र अभिभावकको हत्याले निम्त्याएको विडम्बना हृदयविदारक लाग्छ । आफू १४ वर्षको हुँदा आफ्ना पिताजीको हत्याले भक्कानिएको तुलसीप्रसादको मनलाई ८० वर्ष टेक्दै गर्दा नियोजित दुर्घटनामा भएको छोराको मृत्युले छिया–छिया बनाइदियो । छोराको यादमा तुलसीप्रसादले लेख्नुभएको संस्मरणमा जे कुरा उल्लेख भएको छ त्यसले के सङ्केत गर्दछ भने, स्व. गणेश भट्टराईको सामाजिक भावना र उत्तरदायित्व पारिवारिक विरासतमै हुर्किएको थियो । दैवको लीला, पारिवारिक विरासतमा हुर्किएको त्यो सामाजिक उत्तरदायित्वलाई स्व. गणेश भट्टराईले धेरै लामो समय निर्वाह गर्न सक्नुभएन । किनभने ५६ वर्षको अल्पायुमै मृत्यवरण गर्नुपर्ने उहाँको नियति रहेछ ।

‘स्मृतिमा गणेश भट्टराई’ पुस्तकमा भीम रावल, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, योगेश भट्टराई, अग्नि खरेल, डा. गंगालाल तुलाधर, गौरी प्रधान, दिनेश अधिकारी, प्रेमकुमार राई, प्रा.डा. विष्णुविभु घिमिरेजस्ता धेरै व्यक्तित्वहरुले उहाँसँगको संस्मरण कोर्नुभएको छ । यसले पनि के देखाउँछ भने, स्व. गणेश भट्टराई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सैद्धान्तिक नेता र कुशल तथा असल राष्ट्रसेवक हुनुहुन्थ्यो ।

‘स्मृतिमा गणेश भट्टराई’ पुस्तकमा एउटा अर्को पीडादायी संयोग देखिएको छ । स्व. गणेश भट्टराईको संस्मरणमा असल राजनीतिज्ञ पशुपति चौलागाईंले पनि केही भावनाहरु कोर्नुभएको रहेछ । तर विडम्बना, उहाँले त्यो भावना पुस्तक प्रकाशनपछि भने पढ्न पाउनुभएन । किनभने पुस्तक प्रकाशन हुनुअघि नै कोरोनाका कारण उहाँको निधन भयो । स्व. पशुपति चौलागाईं पनि राजनीतिक क्षेत्रको एउटा असल र कुशल पात्र हुनुहुन्थ्यो ।

उहाँले राजनीतिमा इमानदार जनसेवकको पहिचान बनाउनुभएको थियो, जसरी स्व. गणेश भट्टराईले राष्ट्रसेवकमा इमानदार जनसेवकको पहिचान बनाउनुभएको थियो । अन्त्यमा, म यत्ति भन्छु– सामाजिक सन्तुलन र जनपक्षीय काम गर्न कानुनले रोक्दैन । किनभने कानुन नागरिकको सुरक्षाको लागि हो, अनि नागरिक कानुनको रक्षाको लागि हो । कानुनको रक्षा र नागरिकको सुरक्षाले नै मुलुकको अस्तित्व स्थापित हुनसक्छ । त्यसैले हरेक राष्ट्रसेवकले कानुनको मर्यादा र दायरामा रहेरै नागरिकको व्यावहारिक समस्या समाधान गर्न सक्छन् । जसरी स्व. गणेश भट्टराईले आफ्नो जागिरे जीवनमा त्यो काम गर्नुभयो र एउटा असल राष्ट्रसेवकको पहिचान बनाउनुभयो ।