सादगी नेता प्रदीप गिरीको अन्तिम बिदाई

‘विचार र कर्म पार्टीको घेराभन्दा धेरै माथि’



काठमाडौं ।

पार्टीसँग जोडिएको हिसाबले प्रदीप गिरी नेपाली कांग्रेसका नेता हुनुहुन्छ । तर, उहाँको बौद्धिक र राजनीतिक विचारधारा पार्टीको घेरामा सीमित रहेन । गिरीलाई नजिकैबाटै चिनेका, संगत गरेका मात्र नभई उहाँको विचार सुनेका सबैका नजरमा उहाँको छवि अन्याय, वहिष्करण र उत्पीडनमा परेका वर्ग, समुदाय र क्षेत्रका पक्षमा सधै निर्भिकतापूर्वक उभिने एक चिन्तकको रूपमा रहेको छ ।

अन्यायको पक्षमा उभिने क्रममा पार्टीको नीतिविपरीत जान पनि उहाँ पछि पर्नु  भएन । स्वर्गीय बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको व्याख्या गर्नसक्ने समाजवादी चिन्तन र व्यवहारका पक्षपाती गिरी त्यसलाई पनि आलोचनात्मक दृष्टिले बुझ्नुपर्नेमा जोड दिने गर्नुहुन्थ्यो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग नजिक रहेर काम गरेका गिरीले उहा“हरूसँग पनि बेलाबखत फरक मत राख्नुहुन्थ्यो ।
अन्यायको विरुद्ध सधैं बोल्ने, त्यसरी बोल्ने क्रममा राजनीतिक लाभहानीको कहिले वास्ता नगर्ने गिरीको रिक्तता अधिकार र न्यायको लडाईमा सधंै खट्किरहने बताउँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उहा“सँग जोडिएको स्मरणहरू धेरै छ । तर, एउटा कुरो के हो भने उहाँले मलाई हरहमेशा राज्यमा वहिष्करणमा परेका, उत्पीडनमा परेका वर्ग, क्षेत्र, समुदायका लागि लड्नुपर्दछ भनेर भन्नुहुन्थ्यो । संघीयताको लागि, उत्पीडनमा परेकाको आत्मसम्मानको लागि मधेशमा यत्रो आन्दोलन भयो । हरेक आन्दोलनमा उहाँको साथ र ऐक्यबद्धता थियो ।’

मधेशको असन्तुष्टिका बाबजुद यो संविधान जारी गर्दा त्यसमा हस्ताक्षर नगर्ने गिरी नेपाली कांग्रेसको एक्लो सांसद् हुनुहुन्छ । यो संविधानले मधेशलाई न्याय गरेको छैन, बहुमतको बलमा लादिएको भन्दै गिरीले असन्तुष्टि जनाउनुभएको थियो । स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आइतबार नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा पुगेका नेता महतोले भन्नुभयो– ‘उहा“को विचार र कर्म पार्टीको घेराभन्दा धेरै माथि छ । एक समाजवादी चिन्तक, सिद्धान्तनिष्ठ नेता गुमाउनुपर्दा देशले धेरै गुमाएको छ ।’

गिरीको शनिबार बेलुका साढे ९ बजे ललितपुरको नख्खुस्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो । गत वर्ष साउनदेखि क्यान्सरबाट पीडित गिरी भारतको मुम्बई अस्पतालमा क्यान्सरको उपचार गर्ने क्रममा एक वर्ष भारतमै बस्नुभएको थियो ।

गत साउनको पहिलो साता स्वदेश आउनेबित्तिकै उहाँको स्वास्थ्यमा झन् समस्या देखिएपछि साउन ८ गतेदेखि उहाँलाई मेडेसिटी अस्पतालमा उपचार गरिएको थियो । उहाँको उपचारका लागि सरकारले खर्च दिन चाहेपनि उहाँले आफ्नो उपचारमा राज्यको एक पैसा पनि खर्च नहोस् भनेर लिनुभएन । व्यक्तिगत रूपमा दिइएको सहयोग लिनु भयो, तर राज्यको एक पैसा नलिएको उहाँको परिवारका सदस्यहरू बताउँछन् ।

उहाँको निधनपछि हस्पिटल परिसर र सानेपास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्र्रेसका नेता कार्यकर्ता मात्र नभई अरु विभिन्न दलका नेता, कार्यकतासहित अन्य व्यक्तिहरूको पनि ठूलै उपस्थिति रहनुले उहाँको सिंगो जीवन र कर्म पार्टीको दायरामा मात्र कैद नभएको इङ्गित गर्दछ । राजनीति, समाजवादी चिन्तन, सादगी व्यवहारको हिसाबले पृथक पहिचान बनाएका गिरी सबैका लागि स्वीकार्य थियो । माक्र्सवाद र लेनिनवादबारे घण्टौं व्याख्या मात्र नभई उहाँले माक्र्स र लेनिनका बारे सरल भाषामा पुस्तक पनि लेख्नुभयो । उहाँ कांग्रेसको नेता भए पनि कम्युनिस्टले पनि त्यतिकै आदर र श्रद्धा गर्ने नेता हुनुहुन्छ ।

जुनसुकै राजनीतिक दलका राजनीतिक विचारधाराप्रति गहिरो समझ राखेर त्यसको व्याख्या, विश्लेषण गर्ने क्षमता भएको व्यक्तिका रूपमा चित्रित गर्दै ओशो तपोवनमा गिरीसँग लामो संगत गरेका स्वामी आनन्द अरुणले भन्नुभयो– ‘कसैलाई बिगार गरौं भन्ने सोच उहाँमा कहिले भएन ।’ वि.सं. २००४ सालमा सिरहाको बस्तीपुरमा जन्मिएका गिरीले नै पार्टी विभाजनको सैद्धान्तिक आधार पुष्टि गर्न शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को २०६२ सालमा भएको महाधिवेशनमा समावेशीको अवधारणा भित्र्याउनुभएको थियो । त्यस पार्टीको केन्द्रीय सदस्य बन्नुभएका गिरीले समावेशीकरणको नयाँ कार्यक्रम ‘दमजम’ ल्याउनुभएको थियो । द भनेको दलित, म भनेको महिला, ज भनेको जनजाति र म भनेको मधेशी थियो ।

लोकतन्त्र बलियो बनाउन, पार्टीको लोकतान्त्रीकरण गर्न पिछडिएका वर्ग, समुदाय, अल्पसंख्यकलाई प्रतिनिधित्व गराउनुपर्ने गिरीको जोड थियो । पछि यही कार्यक्रमलाई सबै राजनीतिक दलले क्रमशः अनुशरण गर्दै लगेका थिए । नेपालको राजनीतिक दललाई समावेशीकरण बनाउन गिरीको योगदान उल्लेखनीय रहेको पार्टी विभाजन हुँदा प्रजातान्त्रिकमा रहेका नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हरेक पार्टीमा झैं कांग्रेस पार्टीभित्र पनि एउटा धार यथास्थिति, सुधार गर्न नचाहने र अर्को निरन्तर सुधार गर्न चाहने धार विद्यमान थियो । गिरी हमेशा परिवर्तनको धारमा उभिनुहुन्थ्यो ।

पार्टीभित्र व्यक्ति हरेर भन्दा पनि विचार मिल्नेसँग नजिक हुने गर्नुहुन्थ्यो ।’ उहाँले गिरीको बुबा सागरशम्शेर राणासँग हिमचिमका कारण आफूले सानैदेखि चिनकोे भए पनि गिरीसँग अलि बढी नजिक २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासनसत्तामा हातमा लिएपछि भएको बताउनुभयो । राजनीतिक दलका नेता र कार्यकताले अलि अध्ययनशील हुन गिरीबाट प्रेरणा लिनुपर्ने पनि उहाँको जोड रहेको छ । गिरी सानैदेखि अध्ययनशील हु्नुहुन्थ्यो । एसएलसीसम्म सिरहा बस्तीपुरमै पढनुभएका गिरीलाई औपचारिक पढाईसँगै भारतीय साहित्यको अध्ययनसँगै धार्मिक पुस्तक, दर्शन, राजनीतिक विचारधारा पढ्न निकै रुचि थियो । रातभर पढ्ने बानी भएका गिरी समकालीन नेताहरूमध्ये सर्वाधिक अध्ययनशील हुनुहुन्थ्यो । उहाँको सबैभन्दा बढी रुचि साहित्य, दोस्रो अध्यात्म र तेस्रोमा राजनीतिमा थियो ।

राजनीतिलाई देश, जनता र समाजको हित र सेवाको माध्यम बनेका गिरीले मन्त्री हुने, प्रधानमन्त्री हुने कल्पना समेत नगरेको जिकिर गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले भन्नुभयो– ‘उहाँ एक सादगी, पदप्रति अनाशक्त मानिस हुनुहुन्थ्यो । २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा भन्नुभएको थियो अरु नेता कोही मन्त्री, त कोही सांसद् र केही न केही पद चाहिने । केही पद नचाहिने भनेको यही एक प्रदीप बाबु मात्र हुनुहुन्छ ।’आइतबार बिहान नेता गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी हस्पिटलमा आउनुभएका नेपाली कांग्रेसका नेत शेखर कोइरालाले गिरी आफ्ना कुरो निडरसँग राख्ने नेता र सादगी व्यक्तित्व भएको बताउनुभयो । श्रद्धाञ्जली दिन आउनुभएका अर्थमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका नेता जर्नादन शर्माले गिरीलाई सादगी जीवन जीउने निष्ठावान राजनीतिज्ञको रूपमा उल्लेख गर्नुभयो ।

२०५१ सालमा सिरहाबाट संसदीय चुनावमा उठनुभएका गिरी २०५६ सालको चुनावमा पराजित हुनुभएको थियो । २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका गिरी २०७४ सालमा सिरहा क्षेत्र नं बाट निर्वाचित हुनुभएको थियो । संसद्मा हत्तपत्त उपस्थिति नहुने गिरी संसद्मा उपस्थित हुने बेला भने बेजोडले बोल्नुहुन्थ्यो । भारतीय समाजवादी चिन्तक राममनोहर लोहियाको सप्त क्रान्तिलाई नेपाली राजनीतिमा अभ्यास गर्न खोजेका गिरीमा मुलुक अर्कोतिर गएको देखेर जीवनका पछिल्ला दिनहरूमा उहाँमा अलि निराशा भाव देखिएको थियो । गिरीको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्