बहसमा युवा नेतृत्व



निर्वाचनको घोषणाअघि र घोषणालगत्तै पनि सामाजिक सञ्जालहरुमा एउटा बहस छेडिएको छ । विभिन्न दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई बिदाइ र युवा पुस्तालाई जिम्मेवारी !

सुन्दा बडा आनन्द लाग्छ यो बहस । एकपटक सबै युवाहरुलाई झस्काई पनि दिन्छ यो बहसले । साँच्चै अब मेरो पालो आउन लागेको हो त भनेर । तर तथ्य यो बहसभन्दा पृथक छ । राजनीतिक दलको नेतृत्वबाहिर रहेका युवाहरुले देशको परिस्थितिलाई खररर हेरौं त, युवा राजनीतिज्ञले जिम्मेवारीमा रहँदा होस् या नरहँदा देश परिवर्तनका कुनै खाका प्रस्तुत गरेका छन् त ? त्यस्तो दुश्य क्षितिज पारि–पारिसम्म पनि देखिन्न ।

राजनीतिमा सक्रिय युवाहरुको मात्र कुरा छैन, पत्रकारिता र अन्य पेसामा रहेर पछिल्लो समय राजनीतिमा फड्को मारेका युवाहरुको हालत पनि त्यस्तै देखिन्छ । पत्रकारिता वा अन्य पेसामा रहेर देशमा विकास र समृद्धिको कुनै योजना पस्कन नसक्ने, देशको चिन्तै नलिने, खाली नेताहरुलाई खुइल्याउन र आम नागरिकको व्यक्तिगत स्वतन्त्रतामा प्रहार गर्न नाम कमाएकाहरु अहिले राजनीतिमा फड्को मारेर देशको समृद्धिको गुड्डी हाँक्दा कति हाँसो उठ्छ, सोचौं त !

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कमेडियन भनेर कमेन्ट गर्ने यी पूर्वपत्रकारहरुले अहिले आम नागरिकलाई पेट मिची–मिची हाँस्ने बनाएका छन् । न योजना, न कार्यक्रम, न विगतमा देशको विकास र समृद्धिको पक्षमा काम गरेको कुनै पृष्ठभूमि । अनि यिनैको गफ ठूलो– अब हामीलाई जिम्मेवारी दिनुहोस्, हामी देशको मुहार फेर्छौं । उफ् ! कति हँसाउन सकेका हुन् यी अभिनेताहरुले ।

देशको विकासको लागि, समृद्धिको लागि र परिवर्तनको लागि युवा नेतृत्व आवश्यक रहने कुरामा कुनै द्विविधा छैन । अहिले राजनीतिक रुपमा सक्रिय रहेका ७० वर्षछेउछाउका नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, रामचन्द्र पौडेल, महन्त ठाकुर लगायतले सक्रिय राजनीतिबाट विश्राम लिने र अभिभावकीय भूमिकामा रहने कुरा आफैंमा सुन्दर र उत्साहप्रद छ । तर यसको पृष्ठभूमि तयार गर्ने काम कसले गर्ने हो ? युवा नेताहरुले हैन ? खै त युवा नेताहरुको त्यस्तो प्रयत्न र गतिविधि ?

सबै राजनीतिक दलमा बुद्धि, विवेक, योजना, कार्यक्रम, उत्साह, ऊर्जा भएका युवा नेताहरुको खाँचो छैन, यथेष्ट छन् । तर यस्ता नेताहरुको त्यो उत्साह, ऊर्जा र विवेकलाई देशको विकास र समृद्धिको अभियानमा लगाउने कसले ? उनीहरु स्वयंले त त्यो काम गरेनन् ।

एउटा बहुतै चल्तीको भनाइ छ– कस्तुरीले आफ्नो वीणाको सुगन्ध अन्यत्र खोज्दै भौंतारिन्छ रे ! हाम्रो देशका युवा नेताहरुको हालत पनि त्यस्तै छ । आफूभित्रको सीप, क्षमता, योग्यता, तत्परतालाई देशको विकासमा हैन अरुको खोइरो खनेर आफ्नै विनाशमा मात्र प्रयोग गरिरहेका छन्, हाम्रो देशको युवा नेताहरुले । यो अवस्था राष्ट्रिय तहमा मात्र हैन, जिल्ला र स्थानीय तहमा पनि त्यस्तै छ । आफ्नो टोल, गाउँ, वडा, पालिका र जिल्लाको सामाजिक विषय, विकासका अभियान र सामूहिम भावनामा रत्तिभर नटहल्ने युवाहरुलाई वडा, पालिका र जिल्लाको नेतृत्व चाहिएको छ ।

सामाजिक अभियान र सामूहिक भावना नभएका युवाहरु स्थानीय तहको नेतृत्वमा पुगेपछि आम नागरिकले के कुराको अपेक्षा गर्ने ? त्यस्तो नेतृत्वले पदको दुरुपयोगभन्दा बढी अरु के गर्न जानेको हुन्छ होला र ! सुन्तलाको बोट रोपेर अनारको फल अपेक्षा गर्ने हामी नागरिक पनि कतै दोषको भागीदार त छैनौं ? मुलुकमा प्रजातन्त्र नआउँदा युवाहरुको चासो र चिन्ता प्रजातन्त्र बहाली कसरी गर्ने भन्नेमा केन्द्रित थियो ।

त्यति बेलाका युवाहरुको योगदानकै कारण मुलुकमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसमेत आइसकेको छ । मुलुकमा प्रजातन्त्र बहालीको लागि लड्ने त्यति बेलाका युवाहरु अहिले ७० को सेरोफेरोमा छन् र मुलुकलाई एउटा तहको नेतृत्व प्रदान गरिरहेका छन् । अनि हामी उनीहरुलाई बिदाइ गरेर अहिलेको युवा नेतृत्वलाई स्थापित गर्ने बहसमा केन्द्रित छौं ।

मलेसियालाई विकासको अभियानमा अगाडि बढाउने श्रेय महाथिर मोहमदलाई जान्छ । उनले प्रधानमन्त्री भएर आधुनिक मलेसिया बनाउन ठूलो योगदान पु¥याएका छन् । त्यसैले उनलाई सत्ताबाट बाहिरिएको १५ वर्षपछि सन् २०१८ मा ९२ वर्षको उमेरमा त्यहाँका जनताले पुनः प्रधानमन्त्रीमा निर्वाचित गरे । यसको सन्देश के हो ? प्रस्ट छ, नेतृत्व उमेरले मात्र निर्धारण गर्दैन, विचार, नीति, योजना, तत्पता, सक्रियताजस्ता कुराले नेतृत्व निर्धारण गर्छ ।

विश्वका धेरै त्यस्ता मुलुक पनि छन्, जहाँ ४० वर्षमुनिका युवा नेताहरुले राष्ट्रको नेतृत्व गरेका छन् । उनीहरुको नेतृत्वमा ती राष्ट्रहरुले विज्ञानसँगै विकास र समृद्धिको मार्गमा अगाडि बढ्ने अवसर पाए । चिलीका ग्रेबियल बोटिक, मोन्टेनेग्रोकाका ट्रिटन अबाजोमिक, फिनल्यान्डका सन्ना मारिन, चाडका महाकत डेबी, उत्तर कोरियाका किम जोङ ए, मालीका असिमी गोएटा, जर्जियाका इराकली गरिबाश्विली, तुर्कमेनिस्तानका सेरदार बर्दिमुहम्मेदो, एल साल्भाडोरका नायब बुकेले र बुर्किना फासोका पल हेनरी सान्डाओगो दामिबा यस्ता नाम हुन् जसले ४० वर्षभन्दा कम उमेरमा राष्ट्रको नेतृत्व गरे ।

नेपालमा पनि शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई, गगन थापा, विश्वप्रकाश शर्मा, वर्षमान पुन लगायत केही यस्ता नाम छन् जसले देशको नेतृत्व गर्न सक्छन् । तर नेपालका युवा नेताहरुले आफूलाई परीक्षण गर्न न कुनै राजनीतिक अभियान शुरु गरेर त्यसलाई सैद्धान्तिक रुपमा स्थापित गर्न सके, न सामाजिक तथा विकास र समृद्धि अभियानमा अग्रपंक्तिमा उभ्याउन नै सके ।

नेपालमा केही गर्छन् कि भनेर आश गरिएका युवा नेताहरुले राजनीतिक रुपमा क्याबिनेट मन्त्री बनेर देशको नेतृत्व पनि गरे, पार्टीको उपल्लो तहमा पुगेर सांगठनिक नेतृत्व पनि गरे तर सत्ता र संगठनको बागडोर सधैँ केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, महन्त ठाकुरहरुकै हातमा कायम रह्यो । आफूलाई स्थापित गरेर नेतृत्व आफ्नो पोल्टामा पार्ने तहको काम युवा नेतृत्वले गर्नै सकेनन् । अर्थात् उनीहरुले जसको विकल्प खोजे उसैको नेतृत्वमा पद र प्रतिष्ठाको भागेदारीमा मोलमोलाइ गरे ।

भारतसँग पौंठेजोरी खेल्दै चुच्चे नक्सा जारी गर्न होस् वा भारतसँगको परनिर्भरता अन्त्य गर्दै चीनसँग पारवहन सन्धि गर्न होस्, केपी शर्मा ओलीकै नेतृत्व चाहिएको कुरा त सत्य हो नि ! यो विषयमा नेपालका कुनचाहिँ युवा नेताले आवाज उठाउन सके त ?काठमाडौं नेपालको राजधानी हो । काठमाडौंको सुन्दरताले समग्रमा नेपालको सुन्दरतालाई परिभाषित गर्दछ । अनि काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा मेयर बालेन्द्र शाहको मात्र हो त ? काठमाडौं लगायत देशका ठूला शहरहरु विराटनगर, बुटवल, वीरगन्ज, जनकपुर, ललितपुर, भक्तपुर, धरान, इटहरी, दाङ, नेपालगन्ज, हेटौडा, बनेपा, कञ्चनपुर लगायतमा पनि फोहोर व्यवस्थापन, ढल, खानेपानीजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएको समस्या जटिल बन्दै गएको छ । यो विषय देशको सभ्यतासँग पनि जोडिन्छ । यस्तो विषयमा युवा नेताहरुले चासो दिएर आफूले नेतृत्व लिने र समाधानका लागि पहल गर्न नहुने हो ?

जिल्ला–जिल्लामा देखिने यस्ता सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक समस्याहरुमा युवा नेताले चासो दिने र पहलकदमीको लागि नेतृत्व लिने हो भने परिणाम निस्कँदैन र ? पक्कै पनि यसले सकारात्मक परिणाम ल्याउन र युवा नेतृत्वलाई स्थापित गर्न सहयोग पुग्न सक्छ । तर यो कुरा हाम्रा युवा नेताहरुलाई कसले भनिदिने हो क्या !

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हरेक राजनीतिक दलका युवा नेताहरुले मुलुक परिर्वतनको लागि योगदान गरेका अग्रज अभिभावकहरुलाई आवश्यकता अनुसार नेतृत्वमा सहयोग गरेर आफूले सारथीको रुपमा साथ दिने हो भने बिस्तारै युवा पुस्ता स्थापित हुँदै जानेछन् । काम पनि नगर्ने, योजना पनि नल्याउने, नेतृत्व पनि नगर्ने अनि अभिभावक र अग्रजलाई बिदाइ गर्ने सुगा रटाइमा मात्र सीमित भइयो भने मुलुक आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक हरेक ढङ्गले स्खलित हुँदै जानेछ ।
अन्त्यमा, सार्क छिमेकी श्रीलङ्का उदाहरण छ ।

आर्थिक रुपमा अति समस्याग्रस्त बनेको श्रीलङ्कामा न पहिले युवाहरुले नेतृत्वको लागि योजनासहितको सक्रियता देखाउन सके, न समस्याग्रस्त भइसकेपछि पनि युवाहरुले मुलुकलाई समस्याबाट पार लगाउँछौं भनेर नेतृत्व लिने अग्रसरता नै देखाए । आखिर सङ्कटको बेलामा पनि अभिभावककै रुपमा रहेका रनिल विक्रमसिंघेले नै मुलुकको नेतृत्व लिनुप-यो ।
त्यसैले हामी अहिले नै योजना र अभियानविनाका युवा नेतृत्वलाई स्थापित गर्नुपर्छ भनेर काग हुइयाँतिर लाग्नुभन्दा युवाहरुलाई विकास र समृद्धिको अभियानमा अभिप्रेरित गर्ने कुरामा सचेत र सजग रहनु नै बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्