कोरोनाप्रति पुनः सतर्कताको खाँचो



सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोजभन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार कोभिसिल्डको प्रयोगमा ल्याउन नसके १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिँदै छ ।

सरकारले कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोपमध्येको १० लाखभन्दा बढी खोप म्याद गुज्रिएर खेर जान लागेको अवस्थामा छ । त्यति मात्र होइन, हाम्रोमा मोडेर्नाको ६ हजार ७ सय भाइल खोप पनि खेर गएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म १२ वर्षमाथिकाले ९९.१ प्रतिशतले एक मात्रा, ८७.४ प्रतिशतले दोस्रो मात्रा र ३२ प्रतिशतले अतिरिक्त खोप (बुस्टर डोज) लगाएका छन् । म्याद गुज्रिँदै छ भन्ने जानकारी त पहिले नै थियो होला, यदि थाहा हुँदाहुँदै पनि बेवास्ता गर्दा यस्तो परिणाम बनेको छ । जुन जिल्ला, प्रदेशमा कम खोप वितरण भएका थिए ती स्थानमा खोप लगाउने व्यवस्था समयमै गरेको भए आज यो अवस्था आउने थिएन ।

विश्वमा कोरोना भाइरसको लक्षण देखा परेपछि कुनै पनि स्वास्थ्य विज्ञ यस भाइरसप्रति अनभिज्ञ थिएनन् । विश्वका शक्तिशाली राष्ट्रका वैज्ञानिक, अनुसन्धानकर्ता भाइरसविरुद्धका भ्याक्सिन निर्माणमा निकै समय रुमलिरहे । बिस्तारै भाइरसविरुद्धको भ्याक्सिनको सम्भाव्यता पत्ता लगाए । प्रतिफलमा विभिन्न मुलुकमा कोभिड–१९ कोरोना भाइरसविरुद्धको भ्याक्सिनको निर्माण हुन थाल्यो । क्रमिकरुपमा नेपालमा पनि भ्याक्सिन भित्रियो । केही अनुदान प्राप्त भयो, केही खरिद प्रक्रियामा आउन थाल्यो । खरिद प्रक्रियामा निकै चलखेल हुँदा निकै विवादसमेत भयो ।

आम मानिस भ्याक्सिन भ्याक्सिन भन्दै गर्दा समयमा सहज र सरलरुपमा उपलब्धता हुन सकेन । भाइरसको महामारीबीच सरकार परिवर्तन भयो, विपक्षीले चर्को आलोचना ग-यो, भ्याक्सिनका विषयमा सरकार गतिहीन बन्दाबन्दै पनि गठबन्धनको सरकारले भ्याक्सिनमै जोड दियो तर पर्याप्ततामा ख्याल पु-याउन सकेन । भ्याक्सिन लगाउन आम मानिसको हारालुछ अनि तँछाडमछाड चलिरह्यो ।

झिसमिसेमा लाइन बसी सन्ध्याकालीन समयसम्म पुग्दा पनि खोप लाउन नपाई फर्किनुप-यो । सरकारले प्राथमिकताको आधारमा खोप वितरण ग-यो । साधारण मानिसले सजिलै खोप पाउने आशा कम थियो । खोपकै विषयमा पहुँच अनि भनसुन, चलखेलसमेत शुरु भयो । यो अवस्थाबाट गुज्रिएको मुलुकमा अहिले त्यो अवस्था छैन । अहिले भण्डारणबाटै खोप हराउनेदेखि खोप छ तर लगाउने मान्छे छैनन् भन्नेसम्मको अवस्थामा आइपुगेका छौं ।

सतीले सरापेको देश भनेझैं खोप–खोप भन्दा आम मानिसलाई खोपको सहजीकरण सरकारले गर्न सकेन । अहिले तिनै खोप ‘डेट स्पाइड’ हुने अवस्थामा पुगेका छन् । यसै बीच हाम्रो मुलुकमा पनि कोरोनाको ग्राफ बढ्दै गइरहेको छ । केहीको संख्यामा हुने संक्रमितको संख्या ह्वात्तै दैनिक दुई सयको हाराहारीमा बढेको छ । सरकारले यही समयमा खोप लगाउन जोड दिनुपर्ने हुन्छ । यदि त्यो गर्न सके भ्याक्सिन म्याद गुज्रिनबाट बच्ने सम्भावना हुने देखिन्छ ।

हाम्रो मुलुकमा पनि विभिन्न मुलुकको सहयोगमा उपलब्ध गराएका भ्याक्सिनको प्रयोग भएको थियो र छ । भेरोसिल, कोभिसिल्ड, जोन्सोनलगायतका खोप हाम्रो मुलुकमा उपलब्ध छन् । तर विडम्बना, हाम्रो मुलुकमा कोरोनाको खोप भण्डारण गरिराखेको ठाउँबाट हराएको समाचार सञ्चारमाध्यमबाट थाहा पाउँदा भने हाम्रो मुलुक कुन दिशातर्फ जाँदै छ भन्नेमा प्रश्नचिन्ह उब्जाएको थियो । ठूलो परिमाणमा खोप हराउँदा मातहतका कर्मचारी बेखबर बने । स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठनसमेत गरेको थियो ।

परमादेशको सरकारले खोपलाई प्राथमिकता दिइरहँदा खोप भण्डारणबाटै हराउँदा अन्तर्राष्ट्रिय जगत्मा हाम्रो प्रतिष्ठा कस्तो बन्यो होला ? आम नागरिकको स्वास्थ्यसँग जोडिएको खोप सरकारको ढुकुटीमै सुरक्षित छैन भने हामी समृद्ध नेपाल सुखी नेपालीको कल्पना कसरी गर्न सक्छौं ? सरकारले विभिन्न मुलुकबाट ल्याएको खोप परिणामको तथ्यांक छ, नागरिकलाई लगाएको पनि तथ्यांक संकलन गरिएको छ तर भण्डारणबाटै खोप हराउँदा सरकार बेखबर बन्दा आम मानिसलाई सह्य हुन्छ र ? भित्रभित्रै खोप हराउँदा थप नैतिकतामाथि प्रश्नचिन्ह उत्पन्न भएको थियो । तर नागरिक स्तरबाट बुझ्दा सरकार जे भन्छ नागरिकले पत्ताइदिनुपर्ने र पत्ताइरहनुपर्ने अवस्थाले निरीह बनाएको थियो ।

कोभिड–१९ कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा देखा परेपश्चात् उक्त भाइरस बिस्तारै विभिन्न मुलुकमा फैलियो । यद्यपि कोरोना भाइरसको उत्पत्ति कहाँबाट भएको भन्ने विषयको विवाद कायमै रहेको छ । जसको सत्यतथ्य खोज्नुपर्ने विश्व स्वास्थ्य संगठनले समेत बताउँदै आएको थियो । विभिन्न मुलुकका राष्ट्रप्रमुखले भने यस भाइरसको विभिन्न उपनाम दिएर विवाद सिर्जना नगरेका पनि होइनन् ।

सञ्चारमाध्यमहरुमा भनिएअनुसार चीनको वुहानबाट शुरु भएको भनिएको यो भाइरस यसरी फैलियो कि यो भाइरसको तेजको मापन गर्ने शक्तिशाली मुलुक जो विज्ञानमा चमत्कार मात्र होइन महाचमत्कारसम्म गरेका राष्ट्रहरुसमेत चुके । फलस्वरुप विश्वलाई नै यस भाइरसले ढपक्क ढाक्यो । कोरोना भाइरसको प्रभाव यसरी फैलियो, जुन नियन्त्रणमा समेत निकै कठिन निम्त्यायो । त्यो आजपर्यन्त कायमै छ ।

कोरोना भाइरसको संक्रमण कायमै छ । कोरोना भाइरस उत्पत्तिदेखि यो अवधिसम्ममा आइपुग्दा कोरोनाका विभिन्न प्रजाति, उप–प्रजातिको उत्पत्ति भइसकेको छ । एकपछि अर्को प्रजाति झन् शक्तिशाली र उच्च संक्रमणको खतरासमेत देखिँदै गएको अनुसन्धानविदहरुले बताएका छन् । नेपालमा फैलिएको ओमिक्रोनको थप प्रजातिसमेत फेला परेको छ । त्यसले झन् त्रास फैलाएको छ । बिस्तारै सुस्त भएको कारोना झन्–झन् थप सक्रिय हुँदै आउँदा यसको निराकरणको सम्भावना निकै कम रहेको र पूर्णरुपमा निर्मूल हुन नसक्ने अवस्थालाई प्रस्ट्याएको मान्न सकिन्छ ।

नेपालमा २०७६ साल फागुन ११ गतेबाट पहिलोपटक लकडाउन भएको घोषणा सरकारबाट भएपछि देशमा कोलाहाल प-यो । सामान्य नागरिकलाई रोजीरोटीको समस्या प-यो । दैनिक गुजाराको समस्या झन् थपियो । राजधानीलाई कार्यथलो बनाएर मजदुरी गर्ने आम मानिसहरु कार्यथलो छोडेर आफ्नो पुख्र्यौली थलोमा जान लागे । कोभिडका कारण आम नागरिक पीडामा परे । १५ दिन, १ महिना भन्दै क्रमिकरुपमा लकडाउन थपिँदै गयो । आम सर्वसाधारणलाई आर्थिकरुपमा समस्या थपिँदै गयो । भइरहेको रोजगारी गुम्यो, मजदुरको मजदुरी गुम्यो, उद्योगीका उद्योग ठप्प भए, व्यवसायीको व्यवसाय बन्द भयो । यो समस्या नेपालमा मात्र नभई विश्वमा नै भयो । निकै मानिसहरुले रोजगारी गुमाउनुप-यो । कतिले गुमाएको रोजगारी आजपर्यन्तसम्म पनि पुनः निरन्तरता दिन पाएका छैनन् । हुन त कोरोनाकै कारण बन्द भएका कतिपय उद्योग, व्यवसाय अझै सञ्चालन भएका छैनन् । कतिपय तारे होटल, चलचित्र हल सधैँका लागि बन्द भएको घोषणासमेत गरिसकेका छन् ।

कोरोना भाइरस विश्वभरि फैलिएकोे पनि दुई वर्ष पूरा भइसकेको छ । तर यसको पूर्ण समाधान गर्ने भ्याक्सिनको निर्माण गर्न कुनै पनि मुलुक सफल भएका छैनन् । यद्यपि पूर्ण समाधानका भ्याक्सिन नभए तापनि असरलाई केही कम गर्न सक्ने भ्याक्सिन विभिन्न देशहरुले निर्माण गरेका छन् । हाम्रो मुलुकमा पनि विभिन्न मुलुकको सहयोगमा उपलब्ध गराएका भ्याक्सिनको प्रयोग भएका छन् । भेरोसेल, कोभिसिल्ड, जोन्सोनलगायतका खोप यहाँ उपलब्ध छन् । तर नागरिकले रोजेअनुसारका खोप भने लगाउन पाउँदैनन् ।

किनभने सरकारले जुन खोपको मौज्दात छ त्यही अनुसारको खोप अभियानका कार्यक्रम चलाउँदै आइरहेको थियो र छ । पहिलो, दोस्रो र तेस्रो अर्थात् बुस्टर डोजको समेत खोप कार्यक्रम चलिरहेको छ । विभिन्न मुलुकले अनुदानमा उपलब्ध गराएको अनि सरकारले केही परिणाममा खरिद गरी नेपालमा खोप ल्याइएको थियो । हाम्रो मुलुकले ५ वर्षभन्दा माथिका बालबालिकाहरुलाई समेत भ्याक्सिन लगाइसकेको छ । यसबाट प्रभावलाई कम गर्न सक्ने विश्वास लिन सकिन्छ ।
हाम्रो मुलुकमा कोरोना भाइरसविरुद्धको खोप लगाउन विगतमा माहाभारत भयो ।

तँछाडमछाड गर्दा पनि खोप लगाउन पाइएन । पछि तिनै खोप सरकारको भण्डारणबाटै गायब बने भने मौज्दात गर्दागर्दै म्याद गुज्रिएर खेर जाने अवस्थासम्म आइपुग्यो । यसले हाम्रो मुलुकको कमजोर व्यवस्थापकीय क्षमतालाई उजागर गराउँछ ।
हाम्रो मुलुकमा पूर्णरुपमा खोपका मात्रा पूरा नगरेको धेरै संख्या रहेको छ । सरकारले जनस्तरमा खोपको प्रभावकारिताका विषयमा बुझाउनै नसकेको मान्न सकिन्छ । आम मानिसमा जनचेतनाका कार्य गर्नुपर्ने र प्रभावकारिताका विषयमा प्रस्ट्याउन नसक्दा करोडौंको खोप नाश हुँदै गर्दा हाम्रो व्यवस्थापन कत्तिको कमजोर रहेछ भन्ने स्पष्ट हुन्छ । अनुदानमा आएकै भए पनि ती खोपको सरकारले सही व्यवस्थापन गर्न सक्नुपथ्र्यो ।

कुनै समय खोप नपाउँदाको क्षण, भण्डारणबाटै खोप हराएको अवस्था अनि भण्डारणमा रहेका खोपको म्याद गुजँ्रदै गर्दा हाम्रो व्यवस्थापकीय अवस्था कस्तो रहेछ भन्ने आँकलन गर्न गाह्रो पर्दैन । कुनै समय भ्याक्सिन लगाउन मानिस इच्छुक थिए तर यसको पर्याप्तता थिएन । तर अहिले भ्याक्सिन छ, मानिसमा इच्छा छैन । यो हुनुमा भाइरसको प्रभाव कम हुँदै गएको ठानिएको होला तर त्यसो भनिहाल्ने अवस्था छैन । अहिले संक्रमण दर बढ्दै गइरहेकोले सतर्कता अपनाउनै हुन्छ । यस भाइरसलाई सामान्य नठानौं । यसको प्रभाव विश्व अनि हाम्रै मुलुकको विगतको अवस्थालाई मूल्यांकन गर्दा नै छर्लंग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्