जयनन्दको अन्तिम फिल्म दार्बुङको प्रिमियर भोलि



ख्यातिप्राप्त लोक गायक, संगीतकार, संकलक तथा अभिनेता स्व. जयनन्द लामाको पहिलो फिल्म थियो, तामाङ भाषाको सेमरी छोरङान (मनमा चेतना)।

त्यसयता उनले थुप्रै फिल्म खेले, गीत गाए, फिल्म निर्माणसमेत गरे। तर, केहीअघि मात्र यो धर्तीबाट बिदा भएका उनको अन्तिम फिल्म पनि तामाङ फिल्म नै हुन पुगेको छ। उनले अभिनय गरेको अन्तिम फिल्म भने दार्बुङ (गाग्री) बन्न पुगेको छ। उनको यो तामाङ फिल्मको भोलि शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर हुने भएको छ।

तामाङ भाषाको यो फिल्म सञ्जय अर्जुनले निर्देशन गरेका छन्। फिल्ममा अपांगता भएका व्यक्तिको संवेदनालाई उतारिएको निर्देशक लामाले बताए। ‘अपांगता भएका व्यक्तिप्रति समाजले गर्ने पुरातन व्यवहारमा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्यले फिल्म बनाएका हौँ’, निर्देशक सञ्जयले भने।

गत फागुनमा छायांकन सकिएको फिल्ममा स्वर्गीय जयनन्दले अपांगता भएको व्यक्तिको बुबाको रूपमा अभिनय गरेका छन्। ‘कथा मन परेपपछि उहँ यो फिल्म खेल्न राजी हुनुभएको थियो’, निर्देशक सञ्जयले भने, ‘तर, दुःखद् कुरा फिल्म सुटिङ सम्पन्न भएको केही समयमै उहाँलाई गुमाउनुप-यो।’

लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको फिल्म पर्खाइमा मोक्तानको सह–निर्माण रहेको छ। थुप्रै तामाङ फिल्ममा नायकको भूमिकामा अभिनय गरेका हुत्त सञ्जय लामाले फिल्ममा अपांगता भएको चरित्रमा अभिनय गरेका छन्।

तामाङ नायिका सुनीता लुङ्वा, कलाकारहरू मानबहादुर तामाङ, करेशा वाइवा, सुस्मिता तामाङ, मायादेवी मोक्तान, भुइसाल लामा, राम तामाङ, सुनमाया तामाङ सिर्जना गोले, डोमो ह्योल्मो, पेमा योञ्जन तामाङ, दीपेश लामा, रुदेन माझी, हिरन माझी, क्रिस्टल मगर, राजकुमार तामाङ, इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तानलगायतले अभिनय गरेको फिल्ममा निरमाया घिसिङको कथा, सम्झना लामा र बुद्ध ब्लोन तामाङको गीत, कर्साङ लामाको संगीत र पाश्र्व संगीत, बबिता पाख्रिन, पूजा लामा, आकाश ब्लोन र कार्साङ लामाको गायन, सुरज श्रेष्ठको द्वन्द्व निर्देशन, प्रज्ज्वल राउतको छायांकन र अर्जुन खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्