नयाँ भर्सनमा आउने भयो तिमीलाई रोजें



लोकप्रिय गायक राजेशपायल राईले हस्ती गायक, संगीतकार, गीतकार तथा कलाकार मुरलीधरको अत्यन्तै मन पराइएको गीत तिमीलाई रोजें पुनः आफ्नाे  स्वरमा रि–रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गर्ने भएका छन्।

एक जमानामा रेडियो नेपालमा मुरलीधरको स्वरमा समेत लोकप्रिय उक्त गीत पछि गायक राजेशपायलले आप्mनो स्वरमा रेकर्ड गरी सुपरहिट एल्बम बैगुनी रै’छौ मायालु एल्बममा संग्रहित गरेका थिए। राजेशपायलले पहिलो नेपाल आइडलको अतिथिको रूपमा पुगेका बेला उक्त गीत प्रस्तुत गर्दा तानेको लामो अलापले त्यसबेला निकै चर्चा पाएको थियो भने युट्युब ट्रेन्डिङमा समेत परेको थियो।

बुधबार गुरुपूर्णिमाको अवसर पारेर हस्ती संगीतकर्मी तथा कलाकर्मी मुरलीधर र गायक राजेशपायलबीच उक्त गीत नयाँसाज सज्जाका साथ पुनः रेकर्ड गरी चँडै रिलिज गर्ने सम्झौता भएको छ। यसै अवसरमा गायक राजेशपायल र मुरलीधरसँग नयाँ गीत संगीतको लागिसमेत सहकार्य हुने सम्झौता गरिएको छ।

‘राजेश नेपाली संगीतको एक दरिलो खम्बा हुन्। उनीसँग मेरो सदैव सहकार्य रहिरहनेछ र हामी दुईको हरेक सांगीतिक सहकार्य नेपाली संगीतका स्रोताका लागि एउटा विशेष उपहार हुनेछ’ गायक तथा संगीतकार मुरलीधरले भने। त्यस्तै, गायक राजेशपायलले यो गीतबाट मुरलीधरसँगको सहकार्यको श्रृंखला अघि बढ्ने बताए ।

‘तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतमध्ये एक हो। यसको नयाँ भर्सनको लागि मुरलीधर दासँग अब पुनः सहकार्य हुनेछ। मेरा सम्पूर्ण स्रोता तथा दर्शकले यसलाई पहिलेभन्दा अझ बढी मनपराउनु हुनेछ भन्ने मेरो विश्वास छ। त्यो विश्वास कायम राख्न् म कटिबद्ध रहनेछु’ राजेशपायल भन्छन्।

प्रतिक्रिया दिनुहोस्