साहसदेखि सफलतासम्म



स्वतन्त्रता मानिसको एउटा स्वाभाविक गुण हो । तर, के तपाईँलाई थाहा छ, वास्तविक स्वतन्त्रता कहाँबाट आउँछ ? वास्तविक स्वतन्त्रता मानिसको हृदयबाट आउँछ । यद्यपि हामीमध्ये धेरै मानिसहरू आफूले आफूलाई स्वतन्त्र ठान्दछौँ तर स्वतन्त्र हुँदैनौँ । किनभने, मानिस काम, क्रोध, लोभ, मोह आदिको जञ्जालमा फसेको छ । उसले यो कुरालाई बिर्सिसक्यो– ‘वास्तविक स्वतन्त्रता हृदयभित्रबाट नै आउँछ ।’ मानिसले यसलाई चिन्न थालेपछि उसले वास्तविक स्वतन्त्रता पनि महसुस गर्न थाल्नेछ ।
एउटा नदीलाई नियाल्नुहोस् । नदी स्वतन्त्रतापूर्वक बहन्छ ।

उसले कुन बाटोबाट बहनुपर्छ भनेर कसैसँग सोध्दैन । उसले आफ्नो बाटो आपैmँ चुन्छ । हुन सक्ला बाटोमा उसले चट्टानको अवरोधलाई सामना गर्नुपरोस् । चट्टानले त बाटो बदल्दैन तर पानी छेउतिरबाट आफ्नो बाटो बनाएर हिँड्छ । चट्टानले सोच्दो हो– मैले बाटो बदलिन त्यसैले मेरो जित भयो । तर, उसलाई पानीको क्षमताका बारेमा थाहा छैन । पानीमा एउटा लगनशीलता हुन्छ । बिस्तारै–बिस्तारै पानीले चट्टानलाई पनि काट्न थाल्छ । समय आएपछि चट्टानले त्यस स्थानबाट विस्थापित हुनुपर्छ । अनि, पानी त्यही बाटोबाट बग्न थाल्छ । सबै उपत्यकाहरू पानीको यही शक्तिका उदाहरण हुन् । एकदमै नम्रतापूर्वक पानीले आफ्नो प्रयासलाई छोड्दैन । ऊ बगिरहन्छ अनि बिस्तारै–बिस्तारै चट्टानलाई पनि खियाइरहन्छ । अन्ततोगत्वा कठोर चट्टानले विनम्र अनि नरम पानीका अघि झुक्न विवश हुनुपर्छ ।

मानिसले विनम्रता र मानवताको अभ्यास गरेर आफ्नो हृदयमा रहेको शान्तिको अनुभव गरेर जीवनलाई सफल तुल्याउन सक्छ । किनभने, हामी जीवनमा जुन कुराको सबैभन्दा धेरै अभ्यास गर्छौँ, त्यसैमा अभ्यस्त हुन्छौँ । यदि हामीले क्रोधको अभ्यास ग¥यौँ भने त्यसैमा अभ्यस्त हुन्छौँ । रिस उठेपछि सोच–विचार गर्ने सबै कुरा समाप्त हुन्छ । त्यसै गरी, मानवताको अभ्यास ग¥यौँ भने हामी साँच्चै त्यसैमा पोख्त हुन्छौँ । सत्यताको अभ्यास ग-यौँ भने सत्यतामै पोख्त हुन्छौँ ।

हामीभित्रको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईँ त्यसैमा अभ्यस्त हुनुहुनेछ । तपाईँ यो कुरालाई विचार गर्नुहोस् । मानिस बन्नुहोस्, किनभने तपाईँ मानिस हुनुहुन्छ । तपाईँ मानवतालाई बुझ्न शुरु गर्नुहोस् । मानिसको मानवता नै समाप्त भएको दिन ऊ मानिसका रूपमा रहँदैन । त्यसकारण मानवतालाई बुझ्नुहोस् । यो जीवन तपाईँलाई एउटा उपहारका रूपमा प्राप्त भएको छ । यसलाई स्वीकार गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल बनाउनुहोस् ।

तपाईँको जीवनको यात्रा तपाईँको पहिलो श्वासबाट प्रारम्भ भएको थियो । त्यसै समयदेखि यो श्वासको आउने–जाने क्रम रोकिएको छैन । यो जीवन रहेसम्म तपाईँका साथमा यो क्रम रहिरहन्छ । तपाईँको अन्तिम समयसम्म । तपाईँलाई थाहा छ, यो श्वास तपाईँभित्र आउँछ । यो श्वासमा ध्यान दिनुहोस् । जब तपाईँ आफ्नो जीवनमा आइरहेको यो श्वासलाई महसुस गर्नुहुन्छ, यसले आनन्द अनि सन्तुष्टि ल्याउँछ । तपाईँ जीवित हुनुहुन्छ भनेर आभारी हुुनुहोस् । यो अस्तित्वलाई सराहना गर्नुहोस् ।
एउटा कथा छ । एकजना मानिस विदेशबाट आएका थिए ।

उनले हात्ती कहिल्यै पनि देखेका थिएनन् । एकदिन उनमा हात्ती हेर्ने इच्छा जाग्यो । उनी धेरै हात्तीहरू भएको एउटा गाउँमा पुगे । हात्तीलाई देखेपछि उनलाई निकै आश्चर्य लाग्यो । तिनीहरूको लामो सुँड, लामा दाँत अनि ठूला कान पनि हेरे । उनले सोचे– हात्ती त एकदमै ठूलो अनि शक्तिशाली हुँदोरहेछ । त्यसपछि उनले नियाले, हात्तीहरू त एकै ठाउँमा अडिएका छन् । अन्त कतै हिँडडुल गरिरहेका छैनन् । उनले हात्तीको मालिकलाई सोधे– ‘यी हात्तीहरू किन कतै गइरहेका छैनन् ? यिनीहरू किन यहाँ उभिरहेका छन् ?’

तब उनले देखे, एउटा पातलो दाम्लोले तिनीहरूलाई बाँधिएको थियो । तिनीहरूलाई रुखमा बाँधेर राखिएको थियो । ती व्यक्तिले यसो सोचे– ‘यो हात्ती त यति धेरै शक्तिशाली जनावर हो । यिनीहरूको खुट्टामा बाँधिएको दाम्लो एकदमै मसिनो छ ! यसलाई त यिनीहरूले छिनाउन सक्छन् ।’

उनले हात्ती मालिकलाई सोधे– ‘के वास्तवमा यी हात्ती बलवान् छन् ?’माहुतेले भने– ‘हो, अवश्य ! यिनीहरू अत्यन्तै शक्तिशाली हुन्छन् । यिनीहरू आफ्नो सुँडद्वारा स–साना सिन्कादेखि निकै गह्रुङ्गो रुखलगायत अन्य धेरै वजनदार वस्तुहरू पनि उठाउन सक्छन् ।’
तब ती व्यक्तिले भने– ‘फेरि यो डोरीलाई चुँडाएर किन भाग्न सक्दैनन् ?’

माहुतेले भने– ‘यिनीहरू छावा (हात्तीको बच्चा) हुुँदा यिनीहरूलाई यिनै दाम्लाले बाँध्ने गरिएको थियो । त्यतिखेर त यिनीहरू अहिलेका जस्ता बलवान् पनि थिएनन् । यो डोरीलाई चुँडाउन सक्दैन थिए । बिस्तारै–बिस्तारै यिनीहरू ठूला भए । अब त यिनीहरूलाई यो दाम्लोमा बाँधिएर रहँदारहँदै हामीले यो दाम्लोलाई चुँडाउन सक्दैनौँ भन्ने पनि लागिसकेको छ । त्यसकारण यिनीहरू बाँधिएर बसिरहन्छन् अनि कतै पनि जाँदैनन् ।’

यस्तै अवस्था हामी मानिसको पनि छ । हामी आफ्नो शक्तिलाई पहिचान गरिरहेका छैनौँ । हामीले आफ्ना शक्ति र क्षमताहरूलाई चिन्नु आवश्यक छ । किनभने, जतिखेर हामी बाल्यावस्थामा थियौँ– हामी कल्पनाको डोरीले बाँधिएका थियौँ । त्यसलाई चुँडाउन सक्दैन थियौँ । तर, अहिले हामी चुँडाउन सक्छौँ । यद्यपि हामीलाई त यस्तो पनि लाग्छ– हामीले त्यो कल्पनाको डोरीलाई तोड्नै सक्दैनौँ । त्यसकारण बाँधिइरहन्छौँ अनि दासजस्तै भएर यो जीवन व्यतीत गरिरहन्छौँ । दास उसको चाहिँ बन्दैनौँ जसको बन्नुपथ्र्यो ।

तर, उसको दास भएर बस्छौँ जसको दास भएर केही पनि प्राप्त हुँदैन ।तपाईँ पनि त्यही हात्तीजस्तै शक्तिशाली हुनुहुन्छ । यदि तपाईँले साँच्चै नै आफ्नो पाइला अघि बढाउन थाल्नुभयो भने त्यो डोरीमा कुनै त्यस्तो शक्ति छैन जसले तपाईँलाई रोक्न सकोस् । तपाईँले आफूमा पहिलेदेखि नै विद्यमान वास्तविक साहसलाई अघि राखेर आफ्नो पाइला अगाडि बढाएपछि तपाईँको जीवन वास्तवमा बदलिनेछ ।

किनभने, त्यसपछि त तपाईँ उनको हुनुहुनेछ जो तपाईँको मन मन्दिरमा बसेका छन् । तत्पश्चात् त्यो मन्दिरको ढोका खुल्नेछ । कोही अरूका लागि होइन, तपाईँकै लागि । हरेक व्यक्तिभित्र गुण र अवगुण दुवै हुन्छ । अँध्यारो र प्रकाश पनि दुवै हामीभित्रै हुन्छ । शङ्का र स्पष्टता पनि भित्रै छन् । यदि हामी यस संसारमा हराइरहेका छौँ भने हराउनु अनि आफूले आपैmँलाई पाइरहनुभएको छ भने पाउनु, ती हामीभित्रै छन् । हामीले कुनै चीजलाई हेर्दा सौन्दर्यको अनुभूति हुन्छ, त्यो सौन्दर्यको आनन्द पनि भित्रै छ । किनकि हामी जे–जति गरिरहेका छौँ त्यसको स्रोत हामीभित्र छ । यदि मैले कुनै कुरा बुझिरहेको छु भने त्यसको स्रोत म नै हुँ ।

अनि, बुझिरहेको छैन भने पनि त्यसको स्रोत म नै हुँ । यस सृष्टिका रचनाकार जसलाई हामी खोजिरहेका छौँ– अनि राक्षस, जसबाट म बच्न चाहन्छु, दुवै मभित्रै छन् । म जहाँ गए पनि– दुवै मसँगै जान्छन्, किनकि सबैथोक मभित्रै छ !
कैयौँ पटक कोठामा गएर ढोका बन्द गरेपछि हामी सोच्दछौँ– ‘अब म एक्लै छु ।’ तर, त्यतिखेर पनि हामी एक्लो हुँदैनौँ । जसले सम्पूर्ण सृष्टिलाई रचना गरेका छन् अनि दुष्टता जसबाट सारा संसार आजित भएका छन् ः दुवै हामीसँगै आएका छन् । सँधैँ ! जेसुकै भइरहेको भए पनि दुवै सँगै छन् । अवगुणलाई छोड्नु या गुणलाई अपनाउनु, दुवै तपाईँको नियन्त्रणमा छ ।
शान्ति पनि कतै बाहिर छैन । त्यो पनि हामीभित्रै छ ।

यदि शान्ति अर्कै कुनै स्थानबाट आइरहेको छ भने गडबड छ । यसको अर्थ यसो हो– यदि शान्ति पृथ्वीमा भएको कुनै कुवाबाट आइरहेको छ अनि हामी हवाईजहाजमा पचास हजार फिट माथिबाट उडिरहेका छौँ भने हामी शान्तिको अनुभव गर्न सक्दैनौँ । तर यदि त्यो शान्ति भित्रबाट आइरहेको छ भने हामी जहाँसुकै भए पनि त्यसको अनुभव गर्न सक्छौँ । यदि हामी केवल बाहिरबाट लडिरहेका छौँ अनि भित्रबाट शान्त छौँ भने शान्तिको अनुभव त लडाइँको मैदानमा पनि हुन सक्छ ।
बाहिरी शान्ति ल्याउनका लागि आन्तरिक शान्तिको अनुभूति गर्नु अत्यन्त आवश्यक हुन्छ ।

यसलाई एउटा उदाहरणबाट पनि बुझ्न सकिन्छ । यदि तपाईँसँग पानीले भरिएको गाग्रो छ अनि तपाईँ रेलमा यात्रा गरिरहनुभएको छ । तपाईँले गाग्रोको ढकनीलाई खोलेर हेर्नुभयो भने पानी हल्लिरहेको देख्नुहुन्छ । तपाईँको मनमा विचार उत्पन्न हुन्छ, ‘पानी किन हल्लिरहेको छ ? गाग्रो त हल्लिरहेको छैन ? मैले यसलाई राम्रोसँग समातेको छु तैपनि पानी हल्लिरहेको छ ।’ त्यसको कारणका बारेमा हामी सबैलाई थाहा छ ।

ट्रेन हल्लिरहेको हुनाले गाग्रो पनि हल्लिरहेको छ र पानी पनि । चाहे तपाईँ गाग्रोलाई जतिसुकै जोडले समातेर बस्नुहोस्, पानी त हल्लिन्छ नै । ठीक त्यसै गरी यदि तपाईँ अशान्त हुनुहुन्छ, अर्थात् तपाईँ हल्लिरहनुभएको छ भने बाहिर पनि अशान्ति नै हुनेछ । यदि तपाईँ भित्रबाट शान्त हुनुहुन्छ भने त्यही शान्ति बाहिर पनि प्रकट हुन्छ । किनभने शान्ति त हामीभित्रै छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्