प्रकाशका लागि ६ शहरमा कमेडी कार्यक्रम



आगामी भाद्र १० गते रिलिज हुने फिल्म प्रकाशबारे जानकारी दिने उद्देश्यले त्यसको निर्माण समूहले देशका ६ शहरमा कार्यक्रम आयोजना गर्ने भएको छ।

युवा पुस्ताका चर्चित कमेडियनको साथमा हुने कार्यक्रम भोलि शुक्रबार चितवनको भरतपुरबाट शुरु भई भाद्र ५ गते काठमाडौंमा आएर टुंगिनेछ। निर्माण पक्षले जानकारी गराएअनुसार शुक्रबार र शनिबार चितवनको भरतपुर, श्रावण ६ र ७ गते बुटवल, १३ र १४ गते पोखरा, २० र २१ गते विराटनगर, २७ र २८ गते हेटौडाँ तथा भाद्र ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ।

फिल्मको निर्माण समूहले बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरी कार्यक्रम आयोजना गर्न लागेको हो। टेबल मुनिबाट नाम दिइएको प्रमोशनल कार्यत्रमा फिल्मका नायक प्रदीप खड्कासहित अन्य कलाकार र केमेडियन आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पूजन अधिकारी सहभागी हुनेछन् भने काठमाडौंमा अन्य कलाकार पनि सहभागी हुने जनाइएको छ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारले अभिनय गरेका छन्। बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित फिल्ममा विकास सुवेदीको लेखन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्