गीतकार चौधरीसँगै कलाकर्मीलाई छिन्नलता पुरस्कार र सम्मान



लोकप्रिय गीतकार तथा कवि वसन्त चौधरी २०७८ सालको छिन्नलता गीत पुरस्कारबाट पुरस्कृत भएका छन्।

हालै राजधानीमा आयोजित गीतकार रमोलादेवी शाह (छिन्नलता) को सयौं जन्मजयन्ती तथा ४०औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचना विधातर्फको पुरस्कार गीतकार चौधरीलाई प्रदान गरिएको हो।

प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाउँदै पुरस्कार प्रदान गरेका थिए। गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्न खप्पिस स्रष्टा हुन्। नेपाली भाषाका ६ र हिन्दी भाषाका २ गरी उनले आठ एल्बम ल्याइसकेका छन्। कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ सहरमा गीत तथा कविताका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्।

नेपाली गीतसंगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित रहेका चौधरीको गीतकारिताको उच्च सम्मान गर्दै २०७८ सालको छिन्नलता गीत पुरस्कारबाट उनलाई सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ। समारोहमा गुठीले २०७६, २०७७ र २०७८ सालका लागि स्रष्टा तथा सर्जकलाई छिन्नलता गीत पुरस्कार तथा सम्मान प्रदान गरेको थियो।

सो अवसरमा २०७८ सालको छिन्नलता पुरस्कार गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बालाई प्रदान गरिएको छ। यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छन् भने विशेष सम्मान संगीतकार कर्म योञ्जनलाई प्रदान गरिएको छ। त्यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल र गायनतर्फ सुनीता सुब्बालाई सम्मान गरिएको छ। यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छन्।

२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत भएका छन्। यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारलाई प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्