कांग्रेसका प्रदेश महामन्त्रीसहित २४ नेता कार्यकर्तालाई कारवाहीको सिफारिस

0
Shares

खोटाङ।

स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस खोटाङका २४ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न सिफारिस गरेको छ । गत बैशाख ३० गते मतदान भई सम्पन्न निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन सक्रियता जनाएको भन्दै जिल्ला अनुशासन समितिले प्रदेश र जिल्ला तहका २४ जना नेता तथा कार्यकर्तालाई कार्वाहीको सिफारिस गरेको हो ।

कांग्रेस जिल्ला सचिव एवं अनुशासन समितिका संयोजक ज्ञानेन्द्र जोशीको एकल निर्णयले प्रदेश महामन्त्री एवं दिप्रुङ चुइचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष भूपेन्द्र राई सहितका नेता तथा कार्यकर्तालाई कार्वाहीको सिफारिस गरिएको हो ।

आइतबार (आज ) चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गर्न प्रदेश र केन्द्रीय अनुशासन समिति समक्ष सिफरिस गरेको संयोजक जोशीले उल्लेख गर्नुभएको छ ।

कार्वाहीको सूचिमा गाउँपालिका सभापति, जिल्ला सदस्य, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, निबर्तमान वडाध्यक्ष, वडा सदस्य, क्रीयाशिल सदस्य, नेबिसंघका नेता लगायतका नेता कार्यकर्ताको नाम रहेको छ ।

यस्तै, आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई पनि कार्वाहीको लागि सिफरिस भएको छ ।

स्वयं कांग्रेसका उम्मेदवारहरुको निवेदन र वडा कार्य समितिको निर्णय अनुसार आरोपित नेतालाई कार्वाहीको सिफारिस गरिएको जिल्ला सचिव तथा अनुशासन समितिका संयोजक जोशीले जनाउनुभयो ।

नेता तथा कार्यकर्ता विरुद्ध स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, चुनावी माहोल बिगारेको, एमालेका नेता र उम्मेदवारसँग गोप्य बैठक बसी आर्थिक चलखेल गरी पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको लगायतका दावी सहित निवेदन परेको अनुशासन समितिले जनाएको छ ।