गण्डकी सरकारको आलोचना नै आलोचना

बजेटमाथि चरम दुरुपयोग


पोखरा।

यति बेला गण्डकी  प्रदेश सरकार निकै आलोचित भएको छ । गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका कृष्णचन्द्र नेपाली पोखरेलको राजनैतिक यात्रामा नै औला उठ्ने गरी प्रश्नहरू खडा भएका छन् ।

गण्डकी प्रदेश सरकारको आर्थिक बजेट सार्वजनिक, बजेटको रातो किताब अगावै रातो किताब बाहिरिनु तथा अर्थमन्त्रीसँग मनमुटाब हुनुले मुख्यमन्त्री आलोचित हुँदै जानुभएको थियो । अर्थमन्त्री र मुख्यमन्त्रीबीचको विवादले संसद् समेत अवरुद्ध भएको भन्दै निकै आलोचना खेप्नुभएको मुख्यमन्त्री पोखरेलले अर्को काम पनि उस्तै गर्नुभएको छ ।

गठबन्धन सरकारका सत्तामा रहेका मन्त्रीहरुकै आमा बुबाको नाममा ट्रस्ट रहेको र त्यसमा लाखौँ रकम विनियोजन भएको कुराले थप आलोचना खेप्न बाध्य बनाएको हो । सत्तामा भएको समयमा र प्रदेश सरकारको अन्तिम वर्ष समेत रहेकाले बजेटको चरम दुरुपयोग भएको देखिएको छ । प्रदेश सरकारले विभिन्न शीर्षकमा बजेट विनियोजन गर्दै सत्ता शक्तिको आड्मा बजेटको चरम दुरुपयोग गरेको हो । उक्त बजेट दुरुपयोग गर्नु भ्रष्टाचार रहेको सत्तापक्षकै नेताहरूले समेत बताएका छन् ।

नेपाली काँग्रेसका कार्यकर्ता किर्तिवल्लभ त्रिपाठीले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र उनका बुवा गोवर्द्धन शर्माको तस्बिर फेसबुकमा पोस्ट गरेर लेखेका छन्‘मुख्यमन्त्री ज्यू , तपाइले आफ्ना स्वर्गीय पिता गोवर्द्धन शर्माको स्मृति कोष बनाउन राज्यकोबाट बजेट विनियोजन गर्दा तपाइका स्वर्गीय पिताजीको आत्माले पक्कै धिक्कार्ला ।’

आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत कृष्णचन्द्रले बुवा गोवर्द्धन शर्माका तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रुपैयाँ विनियोजन गर्नुभएको हो । सामाजिक विकास कार्यालय तनहुँमा गएको बजेटमा सबैभन्दा धेरै रकम नै यही शीर्षकमा हो ।

यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ विनियोजन समेत गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले मात्र होइन, अरु मन्त्री र सांसदले पनि यस्तै प्रकृतिका कार्यक्रममा बजेट खन्याएका छन् । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बुवाका नाममा खोलिएको २ वटा कोषमा ५०÷५० लाख गरी १ करोड विनियोजन भएको छ । मन्त्री श्रेष्ठले आमा बुवा ‘पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’लाई ५० लाख र बुवाका नाममा खोलिएको कोषमा ५० लाख बजेट राख्नुभएको हो ।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता पियारी थापाले पनि आफ्नै कोषका लागि बजेट विनियोजन गराउन सफल हुनुभएको छ । पियारी संरक्षक र उहाँका श्रीमान् हेमराज पुन ‘आश्रम’ अध्यक्ष भएको कोषलाई विगत २ वर्षदेखि लगातार बजेट गइरहेको छ । उनीहरुको विवाहमा १० हजार रुपैयाँ राखेर सुरु गरेको उक्त व्यक्तिगत कोषमा गत आर्थिक वर्ष १० लाख, चालु आर्थिक वर्ष ५० लाख र आगामी आर्थिक वर्षका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, काँग्रेसका पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीका पिता अमृतप्रसाद जोशीका नाममा स्मृति पार्क बनाउन २० लाख, पर्वतकै काँग्रेस नेता डिल्लीराम लामिछानेको नाममा २० लाख, विपी कोइराला स्मृतिका नाममा १२ ठाउँका लागि १ करोड ३० लाखलगायतका शीर्षकमा बजेट विनियोजन भएका छन् ।

प्रदेश सरकारले वार्षिक कार्यक्रममा छुटेको भन्दै २७ करोड विनियोजन गरेर ल्याएको सेतो किताबमा यस्ता योजना थुप्रै छन् । उक्त पुस्तकमा व्यक्तिका नाममा खोलिएका कोष र पार्कका लागि मात्र १० करोड विनियोजन गरिएको छ । जुन रकम आम नागरिकले अनुभूति गर्न सक्ने गरी योजना कार्यान्वयन गर्न पर्याप्त हुने आलोचकहरू बताउँछन् ।

संवैधानिक सीमा अनुसार असार १ मा प्रदेश सभामा सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गरेको थियो । उक्त बजेटमा २ अर्ब घाटा छ, जुन नेपाल सरकार र आन्तरिक ऋण लिएर पुरा गर्ने बजेटमा उल्लेख छ । प्रदेश सरकारले ऋण लिएर घाटा बजेट ल्याउने र आफन्तका मूर्ति, कोष र पार्क जस्ता अनुत्पादक क्षेत्रमा विनियोजन गर्नु अराजनीतिक र अनैतिक भएको विष्लेषण हुन थालेका छन् ।

नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले आफ्ना बुबा आमाको स्मृति कायम राख्न आफ्नै व्यक्तिगत खर्च गर्न सुझाव दिनुभएको छ । देश आर्थिक संकटममा परेको अवस्थामा विकासका लागि ५० हजार देखी २–३ लाख सम्मको योजना ल्याउनु तर व्यक्तिगत कोषका लागि लाखौँ, करोडौँ रुपैयाँ विनियोजन गर्नु प्रजातन्त्रको खिलाफ रहेको शर्माको आरोप छ । बजेट सच्याउन पटक पटक अग्रह गरेपनि नमान्दा अब बजेट बहिस्कार गर्नुबाहेक अन्य उपाय नरहेको उहाँको भनाई छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सिलिङ नाघेर बजेट बनाएको, प्रदेशको कानुन, कार्यविधि, सिद्धान्त र वित्तीय अनुशासन पनि बजेटमा उल्लङ्घन गरिएको उहाँले आरोप लगाउनुभयो ।

सर्वत्र आलोचना भएपछि शिक्षा मन्त्री मेखलाल श्रेष्ठले भने उक्त बजेट नलिने बताउनुभएको छ । मुख्यमन्त्रीले पनि सर्वत आलोचना पश्चात् अहिले उक्त बजेट विकासको काममा खर्चिने उनका प्रेस संयोजक भरत कोइरालाले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।
उक्त ट्रस्टको नाममा बजेट विनियोजन भएपछि मुख्यमन्त्रीलाई १ रुपैयाँ सहयोग अभियान समेत चलाउँदै विरोध गरिएको छ । पोखराका विभिन्न चोकमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले मुख्य मन्त्री र मुख्यमन्त्रीको पारिवारिक ट्रस्टका लागि १ रुपैयाँ दान संकलन अभियान मुख्यमन्त्री कार्यालय नजिकै रहेको रत्न चोकमा सञ्चालन गर्दै विरोध समेत गरेका छन् ।