आफ्ना भावनालाई अँजुलीमा थाप्दै सागर



  • अर्जुन थापा

कृतिबाट शुरुवात गरुँ कि यस ‘अँजुलीमा थाप्न पाए’ का जन्मदाताबाट ! भन्नेमा अलिक अलमल परिरहेको छु म । नेपाल प्रज्ञा प्रतिष्ठानमा कुनै पुस्तक विमोचनमै हुनुपर्छ प्रतीक घिमिरे दाइले परिचय गराइदिनु भएको हो सागर फुयालज्यूसँग । हँसिलो र फरासिलो व्यक्ति जोसँग केही क्षणको भेटमै प्रभावित भएको थिएँ म । जर्मनीस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुखजस्तो गरिमामय पदमा रहेका व्यक्ति पनि यति सरल हुन्छन् र ? भनेर अझै पनिमस्तिष्कमा खेलिरहने प्रश्न हो मेरो ।

अब कुरा गरौं ‘अँजुलीमा थाप्न पाए’ को । आख्यान विषयमा बढी कलम चल्ने कारणले पनि होला र अर्को यस्ता हस्तीका कृतिको बारे लेख्न सक्ने जुन दुस्साहस गर्दै छु, यसमा कत्तिको खरो उत्रन सफल हुन्छु वा हुन्न, त्यसको जिम्मा पाठकज्यूहरूलाई छोड्न चाहन्छु ।

एक्कासि सागरजीबाट उपहारस्वरूप यो पुस्तक पाउँदा मेरो नजर यस पुस्तकको शीर्षक ‘अँजुलीमा थाप्न पाए’ मा पुगेर टक्क अड्किएको थियो । उनको यो दोस्रो संस्करण हो । पहिलो संस्करण प्रकाशित भएको केही महिनामा नै दोस्रो संस्करण निकाल्नुपर्ने पाठकहरूको चाहनाबाट उनको परिचय दिइसकेको छ । साहित्य क्षेत्रमा यस्ता कमै व्यक्ति होलान् जो आफूलाई अझै पनि सिकारु भन्न रुचाउँछन् ।

यस कृतिभित्र दुई भाग अर्थात् पहिलोमा कवितासङ्ग्रह र दोस्रोमा गीत सङ्ग्रहसमावेश छन् । कवितासङ्ग्रह अन्तर्गत जम्मा ३३ वटा कविता छन् । साहित्यमा चार विधा (आख्यान, नाटक, निबन्ध र कविता हुन्छन् ।

यस्तै कविताभित्र पनि चार (लघुतम, लघु, मध्यम र बृहत्) गरी चारै रूप हुन्छन् । यस कविता सङ्ग्रहभित्र विशेषतः दुई रूप (मध्यम र लघु) देख्न सकिन्छ । मनभित्र जम्मा भएर बसेका पीडाहरू, आक्रोशहरू मात्र नभई प्रेम, अनुभूति आदिलाई सरल तथा सूक्ष्मरूपमा एक–एक गरेर व्यक्त गर्न सक्नु नै कवि सागरको सबल पक्ष हो ।

सागरका कविता पढिरहँदा कहिले देशभक्तिको भावनाले रक्तसञ्चार बढेर आउँछ त कहिले श्रवणकुमार बन्न अभिप्रेरित भइन्छ । अझ कतिपय कविता व्यङ्ग्यात्मक शैलीका भएकाले उनको कलमको पकड दह्रो छ भन्ने दर्शाउँछ ।

‘ड्याड, आमाका दश धारा, दैव पनि होलान् नि, शान्ति, कैँची, यस्ता थुप्रै कविताहरू छन् जसले मनको एक कुनामा गएर आफ्नो अड्डा जमाउन सफल भइसकेका छन् ।दोस्रो भागमा सागरका ८२ वटा गीतसङ्ग्रह समावेश छन् । हरेक मान्छेका मनमा हजारौं पीडाहरू र भावनाहरू लुकेर बसेका हुन्छन् । जसलाई कागजमा उर्तान कहाँ सक्छन् सबैले ! सागर यस विषयमा अब्बल साबित भएका छन् । आफ्ना मनका कुरालाई रसात्मक तथा कलात्मक रूप दिई एक कुशल कालिगढ बन्न सफल भएका छन्, जुन उनको लेखनको सकारात्मक पक्ष हो ।

गीत लेखन भनेर मात्र कहाँ हुन्छ र ! त्यसमा हुनुपर्ने साहित्यक मूल्य, भावना, चोटिलो प्रहार, कलात्मकतापूर्वक व्यक्त गर्न सक्ने अनुभूतिको समिश्रण हो गीत । यसलाई लेखकले जीवन्त रूप प्रदान गरी परोक्ष प्रभाव पारेर न्याय दिएका छन् । उनका केही गीतहरू त चाँडै म्युजिक भिडियोको रूपमा बजारमा आउँदै पनि छन् ।

सागरका ८२ वटै गीतहरू पढिसकेपछि उनका विचार, दृष्टिकोण, युगबोध, जीवनबोध, छर्लंग देख्न सकिन्छ । कतिपय ठूला–ठूला लेखक भन्नेहरूका लेखहरू पनि दुई हरफमा नै उदेक लाग्ने खाले हुन्छन् । तर सागरका गीतहरूमा एकपल्ट डुबुल्की मारिसकेपछि उत्रन मन नै लाग्दैन ।केही गीतहरू भने संरचना विचलित भएको हो कि भन्ने लाग्न सक्छ । तर यस्ता स–साना गल्तीहरूले उनको सुन्दर कृतिलाई झन् आकर्षक बनाउन टेवा नै पुग्छ भन्नेमा विश्वस्त छु म ।

अन्त्यमा उनको लेखनले अझ निरन्तरता पाइरहोस् । छोटो समयमा मीठो र अर्थपूर्ण कविता लेख्न सक्ने जुन क्षमता र गुण उनमा छ, त्यो जो–कोहीमा हुँदैन । उनलाई आशुकविकै दर्जा दिनु अत्युक्ति नहोला । उनी कवि, मुक्तककार, गीतकार मात्र नभई देशको प्रतिनिधित्व गर्दै चाँडै नै जर्मनी जाँदै छन् । तर जहाँ गए पनि उनको लेखनमा कमी नआओस् ।

सागरले लेखन यात्राका साथसाथै आफ्नो प्रशासनिक यात्रा पनि सफलतापूर्वक सम्पन्न गर्दै जाऊन् । साथै उनका आगामी दिनहरू उज्ज्वल हुँदै जाऊन् । शुभकामना !

(लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्