बाबुराम र उपेन्द्र पक्षले बोलाए जसपा केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक छुट्टाछुट्टै बोलाएका छन् ।

बाबुराम पक्षले असार २८ र २९ गते काठमाडौंमा उक्त समितिको विस्तारित बैठक बोलाएको छ । उपेन्द्र पक्षले भने असार २९ र ३० गते वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका हो ।

यही असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक विषय, स्थानीय तह चुनावको समीक्षा, सांगठानिक छलफल र आगामी कार्यदिशाका बारेमा छलफल गरिने बाबुराम पक्षका नेता विश्वदीप पाण्डेले बताए ।

छलफलका एजेन्डा पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको उनले बताए । बैठकमा बाबुरामले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी रहेको पाण्डेले बताए ।

उता उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा बस्ने भनिएको बैठक अवैधानिक भएको विज्ञप्तिमार्फत जनाएको छ ।
केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकेको बताएका छन् ।

काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ भन्दै उपेन्द्र पक्षले विज्ञप्ति जारी गरेका छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्