मधेसको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की



इनरुवा ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेकोे बताएका छन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताए ।

उनले भने, “मधेसको समस्या समाधान गर्न र मधेसी समुदायको समृद्धिका लागि म जनताको साथमा छु ।” नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको पार्टी भएको उल्लेख गर्दै मन्त्री कार्कीले कांग्रेसले सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढिरहेको दाबी गरे । उनले देशमा हिमाल, पहाड र मधेस गरेर तीन वटा भगौलिक क्षेत्र भएको बताउँदै कांग्रेसले विसं २००७ देखि नै मधेसलाई उच्च प्राथमिकताको साथ हेरिरहेको दाबी गरे ।

नागरिकता समस्याबाट मधेसका युवालाई ठूलो समस्या भएकाले यसलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको मन्त्री कार्कीले जानकारी दिए । जसपा नेपालसहित विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकालाई उनले फूलमाला र अविर लगाएर स्वागत गरे।

‘अर्थतन्त्रबारे भ्रम पार्न खोजियो’

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिनका लागि सरकार सचेत रहेको बताएका छन् ।

सुनसरी सदमरमुकाम इनरुवा–२ स्थित नेपाल टेलिकमको कार्यालयले आयोजना गरेको ‘एफटीटीएस’ नेटवर्क विस्तार कार्यक्रममा उनले मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै किसिमको सत्यता नरहेको दाबी गरे । मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोसिस भइरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसबाट मुक्त हुन सबैलाई आग्रह गरे ।

सबैले एकताबद्ध ढङ्गले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने मन्त्री कार्कीले दाबी गरे । नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्