स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न माओवादी केन्द्रद्वारा समिति गठन



काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातकाबारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो। समिति सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् ।

हालै काठमाडौँमा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा नेताहरुले आन्तरिक विवादका कारण गएको स्थानीय चुनावमा अन्तर्घात भएको र अन्तर्घातीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । साेही अनुसार समिति गठन गरिएकाे हाे ।

यस्तै बैठकले पार्टीको विद्यार्थी संगठनमा रहेको समस्या समाधान गर्न पूर्व विद्यार्थी नेताहरु रेमश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति गठन गरेको छ । अब उनीको सुझावको आधारमा स्थायी कमिटीले आवश्यक निर्णय गर्ने छ ।

यस्तै प्रदेश कमिटी र केन्द्रीय समितिबीच समन्वय कायम गर्न इन्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति गठन गरिएको छ । यो समिति आगामी निर्वाचनसम्मका लागि मात्रै हो । यसमा केन्द्रीय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्