५७ वर्षपछि पेन्सन दिलाइदिने सेनापति घरमै आएपछि रत्नकुमारी दंग



काभ्रे । पूर्वसेनापति पूर्णचन्द्र थापा पनौती नगरपालिका–११ बल्थली पुग्दा ८४ वर्षीया रत्नकुमारी थापा खुसीले गदगद् भइन् । श्रीमानको डिउटी गरिरहेको अवस्थामा मृत्युहुँदा पनि ५७ वर्षसम्म राज्यबाट कुनै सेवा सुविधा नपाएर अन्यायमा परेकी रत्नकुमारीलाई सहयोग गरि न्याय दिलाउने पूर्वप्रधानसेनापति थापा आफ्नै घरमा आएपपछि उनी खुसीले गदगद् नहुनै कुरै भएन । तत्कालीन हिरासात गुल्म अहिले नारायण दल गणमा कार्यरत रहेकै अवस्थामा श्रीमान दुर्गावहादुर थापाको मृत्यु भएपछि पेन्सनलगाएत सेनाले दिने सेवा सुविधा पाउन रत्नकुमारीले ५७ वर्ष प्रतिक्षा गर्नुपरेको थियो ।

अहिले पेन्सन कति पाउनुहुन्छ आमा ? पूर्वप्रधानसेनापति थापाको प्रश्न खस्न नपाउँदै रत्नकुमारीले लामो हासो गर्दै जवाफ फर्काउँछिन्– हजुरले जति निगाहा बक्सेको छ त्यति नै पाउँछु । उनै पुर्व प्रधानसेनापति थापाको पहलमा न्याय पाएको महसुस गरेकी ८४ वर्षीया आमाको खुशी देख्दा स्थानीय गाउँलेहरू समेत सेनाका प्रमुख कमाण्ड सम्हालेका थापाको प्रशंसा गरिरहेका थिए । श्रीमती दीपा र नातिनीसहित झमझम् पानीमा रत्नकुमारीलाई भेट्न बल्थली पुगेका पूर्वप्रधानसेनापति थापा गाउँलेको आतिथ्यताले पनि हर्षित बनेका थिए ।

घटना ५८ वर्ष अघिको हो । टिङकर चेकपोष्ट बझाङमा कार्यरत रहेको अवस्थामा वझाङी राजाका निजी सेनाले छापामार शैलीमा आक्रमण गरि दुर्गावहादुरको हत्या गरेका थिए । २०२१ साल भदौमा मृत्यु भएको थियो । त्यतिबेला अहिलेको जस्तो सञ्चार, सडक, यातायातको सुविधा थिएन ।

एकमहिना पछि धागोले बाधेको पत्र आउँदा रत्नकुमारी एकवर्षको छोरा च्यापेर गाउँमै बसिन । त्यति टाढा अन्तिम संस्कार गर्न जाने अवस्था थिएन । रत्नकुमारीकी छोरा नवराज थापा भन्छन्, नजिकै गाउँका चिनजानको व्यक्ति जमानसिंह तामाङ सोही ठाउँमा रहेकोले उहाँले नै अन्तिम सस्कार गरिदिएको भन्ने खवर आएछ ।

आफु ठूलो भएपछि मात्र आफ्ना पिताको बारेमा थाहा पाएको र आमाले पाउने सुविधाको लागि सेनालाई पटकपटक आग्रह गर्दा पनि यतिका वर्षसम्म केही नभएको र पूर्वप्रधानसेनापति थापाले मात्र विशेष चासो दिएको उनले बताए ।

२०१३ सालमा सेनामा भर्ति भएका दुर्गावहादुरको २०२१ सालमा मृत्यु हुँदा ३० वर्षको उमेर भएको उनी बताउँछिन् । तत्कालिन अवस्थामा प्रधानसेनापतिले आफ्नो कार्यकालमा दुर्गावहादुरको परिवार जस्तै अन्यायमा परेका अन्य धेरैको छानबिन गर्न समिति नै बनाएको बताए ।
सेनामा कार्यरत रहेकै अवस्थामा २०२१ सालमा मृत्यु भएका आफ्ना बुबाको उच्च मुल्यांकन गर्दै २०७८ भदौं महिना आमालाई पेन्सनलगाएत अन्य सेवा सुविधा उपलब्ध गराउन सहयोग गरेको भन्दै छोरा नवराजले आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्