काठमाडौं ।
प्रमुख प्रतितपक्षी दल एमाले सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक फिर्ता लिने सरकारी निर्णयलाई भ्रूण हत्यासँग तुलना गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद तामाङले गृहमन्त्री खाणको उक्त प्रस्तावलाई भ्रूण हत्यासँग तुलना गरेका हुन् ।
‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो, नजन्मिँदै भ्रूण हत्या भयो,’ पूर्वमन्त्री तामाङले भने, ‘नागरिकता कानुनको हत्या भयो, गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस्, जन्मिन दिउँ ।’
नागरिकता विधेयकलाई फिर्ता नलिन सरकारसँग आग्रह गरेका उनले तीन वर्ष संसदीय समितिमा छलफल गरेर दलीय सहमति कायम भएको विधेयक फिर्र्ता लिन नहुनेमा जोड दिए ।
विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा फिर्ता लिन नहुने भन्दै उनले नमिलेका कुनै विषयमा पछि अर्काे विधेयक ल्याएर संशोधन गर्न सकिने धारणा राखे ।
अन्तिम अवस्थामा विधेयक फिर्ता लिन नहुने भन्दै सांसद तामाङले अब फेरि ल्याउँदा शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबारे जानकारी गराए ।
प्रतिक्रिया