नाबालकले लगाउने पोशाकको टाँकभित्र सुन राखेर तस्करी

0
Shares

काठमाडौ‌ं ।

 दुबईबाट काठमाडौं आएका एक यात्रुले नाबालकले लगाउने पोशाकको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएको पाइएको छ । सोमबार बिहान दुबईबाट काठमाडौं आएका सुमन दमाइ नाम गरेका यात्रुको लगेज चेकजाँच गर्ने क्रममा टाँकभित्र सुन राखेर तस्करी गरेको पाइएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सुमनले ल्याएको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने सिंगल पिस पोशाक ५ थानको टाँकभित्र सुन रहेको पाइएको हो । लगेजभित्र राखिएको नाबालकले लगाउने सिंगल ५ थान पोशाकमा स्टिलको टाँकभित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ् फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

बरामद उक्त सुनसहित ती यात्रुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । बरामद सुनको तौल करिब १२५ ग्राम रहेको भन्सार कार्यालयले जनाएको छ।पक्राउ परेका सुमन भिजिट भिसामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा सो लगेज बोकेर आएको पाइएको हो ।

दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले बच्चाका लागि उपहार स्वरुप उक्त पोशाक नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेकोले बोकेर आएको बयान सुमनले दिएको भन्सार कार्यलयले बताएको छ । बरामद सुन स्टिल बटनको भित्री भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको रहेको विभागको भनाइ छ। यस विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।