स्टार अस्पतालमा नेपाल ढकाल समाज प्रतिष्ठानका सदस्यलाई छुट सुविधा


ललितपुर ।

नेपाल ढकाल समाज प्रतिष्ठानका सदस्यलाई स्टार अस्पतालले छुट दिने भएको छ । शुक्रबार अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालबीच ९ वटा शिर्षकमा छुट दिनेगरी सम्झौता भएको हो । प्रतिष्ठानका सल्लाहकार प्राडा सुनिलकुमार शर्मा ढकाल र प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालबीच छलफल भएपछि अस्पताल प्रशासनसंग सम्झौता भएको हो ।

 

सम्झौता अनुसार प्रतिष्ठानले सदस्य र सदस्यका परिवारलाई उपलब्ध गराएको परिचयपत्रको आधारमा अस्पतालले छुट दिने व्यवस्था गरेको छ । अस्पतालमा क्याबिन र वार्ड, आइसियु र सिसियुमा भर्ना भएमा सो वापत १५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । सबै किसिमको प्रयोगशाला परीक्षण, एक्सरे र इसिजिमा १५ प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ ।

त्यस्तै कुनैपनि अप्रेशन शुल्क र पूर्ण समय कन्सल्टेन्ट सेवामा १० प्रतिशत, इन्डोस्कोपी र कोलोनोस्कोपी , युएसजी, इइजी, सिटि स्क्यान, पिएफटी, इको, एबिपि, र होल्टर सेवा लिएवापत १० प्रतिशत र अन्य किसिमका डाइग्नोष्टीक र पारामिटर परीक्षण गर्दा १० र औषधी खरिद गरेवापत ७ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

अस्पताल र प्रतिष्ठानबीच भएको सम्झौता अनुसार अस्पतालले उपलब्ध गराएको सेवा लिन सदस्य र सदस्यका परिवारलाई अनिवार्य रुपमा कार्ड उपलब्ध गराउनुपर्ने, सो कार्ड हरेकवर्ष नविकरण गर्नुपर्ने, दुवैपक्षको समझादारीमा पहिलो पक्षले दोस्रो पक्षको सम्पुर्ण व्यवस्थापनमा निःशुल्क स्वाथ्य शिविर सञ्चालन र अन्य स्वाथ्यसंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायत ८ बुदा सम्झौता गरिएको छ । सम्झौैता अनुसार यो सम्झौता असार १७ देखि एक वर्षसम्म लागू हुनेछ ।

सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष महर्जनले अस्पतालले सबै जात र वर्गलाई उत्कृष्ठ सेवा दिइरहेको बताउनुभयो । यो सम्झौताले देशभरका ढकालवंश र उहाँका परिवारले सहज रुपमा उपचार गर्न पाउने उल्लेख गर्दै अध्यक्ष महर्जनले भन्नुभयो–हामीले प्रतिष्ठानका सदस्यको सेवागर्ने मौका पाउदा खुसी लागेको छ ।

प्रतिष्ठानका अध्यक्ष ढकालले सम्झौताले सबै ढकालपरिवारमा खुसी भएको बताउदै सम्झौतालाई तत्काल कार्यान्वयन गर्ने प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो–६६ जिल्लाकार्यालय रहेको प्रतिष्ठानले सदस्य र उहाका परिवारलाई स्टार अस्पतालमै उपचार गर्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँका अनुसार एक दुई दिनमा अस्पताल प्रयोग गर्न छुट कार्ड उपलब्ध गराएर सम्झौता कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

प्रतिष्ठानका सल्लाहकार प्राडा ढकालले सम्झौतापछि अस्पताल र प्रतिष्ठानबीचको सम्बन्ध प्रगाढ बन्दै जाने बताउनुभयो । अस्पतालका मेडिकल निर्देशक डा. सैल रुपाखेतिले सम्झौता कार्यान्वयन गर्न प्रतिष्ठानको मुख्य भुमिका रहने उल्लेख गर्नुभयो । भन्नुभयो–सम्झौता गरेरपछि प्रतिष्ठानले तत्काल कार्ड उपलब्ध गरेर सेवा सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाका अनुसार करिब ३ हजार ७ सय सदस्य रहेको अस्पतालमा सबै किसिमका सेवा र सुविधा उपलब्ध गराएको छ । अस्पतालले जनहितको लागि विभिन्न स्वाथ्यका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउदै निकट भविश्यमा प्रतिष्ठानसंग सहकार्य गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सम्झौता हस्तान्तरण कार्यक्रममा अस्पतातका प्रमुख कार्यकारी अधिकृत (सिइयो) डा सन्देश जिसि, वरिष्ठ अधिवक्ता विनोद शर्मा ढकाल लगायतले हस्ताक्षर गर्नुभएको थियो ।