राजनीतिक परिवर्तनप्रति मन्त्री शर्मा स्वयम् असन्तुष्ट, भन्छन्- ‘जनताले परिवर्तनको महसुस कहिल्यै गर्न पाएनन्’



बुटवल । लुम्बिनी प्रदेश सरकारका सूचना तथा सञ्चारमन्त्री तिलकराम शर्मा राजनीतिक परिवर्तनप्रति स्वयम् असन्तुष्ट छन् । उनले आफू असन्तुष्ट भएको महसुस गर्दै भन्छन्, –‘मुलुकमा राजनीतिमा आएको आमूल परिवर्तनले जनतालाई वास्तविक सुखानुभूति दिन सकेको छैन ।’

आज (शुक्रबार) परिवर्तनका लागि महिला समूह नेपालको आयोजना र कोरियन संस्था शिववनविग प्रालि काठमाडौको शहयोगमा बुटवल आयोजित कार्यक्रमको उदघाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा उनले राजनीतिक परिवर्तनले नागरिकका आधारभूत आवश्यकतालाई सहजिकरणमा टेवा पुर्याउन र महिलालाई स्वरोजगार वनाउन प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए ।

त्यस्तै परिवर्तनका लागि महिला समूह नेपालकी अध्यक्ष रीता सेनले महिलाहरूलाई स्वरोजगार वनाउने उद्देश्यले बुटवलमा कोरियन संस्थाको सहयोगमा रोजगार तालिम प्रदान गरेको बताइन् ।

उनी भन्छिन्, ‘महिला चुलोचौकोमा मात्रै सिमित नभई आफ्ना लागि आफैले केही गर्न सकून भन्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो । यसबाट उहाँहरुले लाभ लिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।’

बुटवल रुपन्देहीका एक हजार महिलालाई स्वरोजगार बनाउन तालिम प्रदान गर्न लागेको संस्थाले जनाएको छ । आवश्यक कच्चापदार्थ पनि कोरियन संस्थाले उपलब्ध गराउने र संस्थाले सीप सिकेकाहरूले उत्पादन गरेका सामानसमेत सोही संस्थाले खरिद गर्ने अध्यक्ष सेनले बताइन् ।
उक्त तालिम १० दिनसम्म सञ्चालन गरिने बताइएको छ । १० दिनभित्रै सीपसिक्न सकिने र महिलाहरूलाई आत्मनिर्भर वनाउँदै आयआर्जनको गतिलो माध्यम वनाउने लक्ष्यसहित संस्थाले तालिम सञ्चालन गरेको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर नगराउँदासम्म समाज र घरपरिवारमा परिवर्तन हुननसक्ने बताइन् ।

उनले महिलाहरू शैक्षिक योग्यता र आर्थिक अभावकाकारण पछाडी परेको औल्याउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने गरि बुटवल उपमहानगर पालिकाले कार्यक्रम संचालन गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्