स्थानीय तहमा निर्वाचित दुई हजार ३४३ जनप्रतिनिधिले डेढ महिना बितिसक्दासमेत बुझाएनन् निर्वाचन खर्च विवरण



काठमाडौं । स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेले बताए ।

उनले वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम घोषणा भएको एक महिनाभित्रमा निर्वाचन खर्च बुझाउनु पर्ने भएता पनि अझै नबुझाएको जानकारी दिए । उनले जिसस बाहेकका सबै उम्मेद्वारहरुले विवरण बुझाउन म्याद समेत सकिन लागेको बताए ।

सूचना अधिकारी न्यौपानेले तोकिएको समय भित्र ठूला दलहरुले बुझाए पनि निर्वाचनमा पराजित हुने र स्वतन्त्रबाट उम्मेद्वार बनेकाहरुको विवरण आउन बाँकी रहेको बताए । उनले हाल मतदाता नामावली दर्ता गर्नेहरुको कार्यालयमा भीड भएका कारण कुन पालिकाका कतिले बुझाए भन्ने तथ्याङ्क छुट्याउन नसकेको बताए ।

उनका अनुसार नगर प्रमुख, उपप्रमुख पदका उम्मेद्वार बनेकाहरुले चार लाख ५० हजार, वडाध्यक्षलगायतले दुई लाख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजार र अन्यले एक लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेका थियो ।

आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी कुनै पनि निर्वाचनमा उम्मेद्वार बन्न नपाउने गरी कारवाही गर्न सक्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्