दही–चिउरा



परम्परागत रुपमा मानिदै आएको असार १५ दही–चिउरा खाने विशेष दिन जसलाई धान दिवस पनि भनिन्छ । विशेषगरी नेपाल कृषि प्रधान देश भएकै कारण किसानहरुले जेठ महिनादेखि नै धान रोप्न शुरु गरी असार १५ मा रोपाईं सकी दही–चिउरा खाएर खुशियाली मनाउँदै आएका हुन् ।

यस परम्परालाई पछिल्लो पुस्ताले धान रोपे पनि नरोपेपनि दही चिउरा खाने दिनका रुपमा मनाईदै आएको छ । दही र चिउराले मानव स्वास्थ्यमा पु¥याउने फाइदाका विषयमा भने खासै चर्चा गरिएको पाइन्न । दहीमा पाइने क्याल्सियम, सोडियम, पोटासियम, ब्याक्टेरिया, भिटामिन, प्रोटिन, म्याग्नेसियम, क्याल्सियम भिटामिन ए, डी, बी–१२ मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । क्याल्सियमले हड्डीलाई बलियो बनाउँछ, दहीको नियमित सेवनले रक्तचापलाई पनि नियन्त्रण राख्छ ।

विज्ञहरुले दही र चिउराको महत्व खुलाएका छन् । दही दैनिक खानाले ठूलो आन्द्राको क्यान्सरको समस्या, ग्यास्ट्रिक रोग तथा अल्सर हुुने समस्याबाट पनि जोगिन सकिने, अनुहारलाई नरम बनाउने, घाँटी सफा हुने, कफ पातलो गर्नेजस्तो लाभ हुन्छ । दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सघाउनुका साथै दहीले चिल्लो र मसलालाई समेत शरीर अनुकूल बनाई पाचन शक्ति बढाउँछ । परम्परागत रुपमा घरमै दूध तताएर माटाको भिउट, काठको ठेकीमा जमाएको शुद्ध दही नियमित सेवन गर्नसकिन्छ ।

दहीमा कोलेस्टेरोलको मात्रालाई पनि नियन्त्रणमा राख्ने तत्वहरु रहेको अनुसन्धानले पत्ता लगाएको छ । रोगसँग लड्ने मानिसको प्रतिरोधात्मक क्षमता कायम राख्नेतर्फ चासो दिनैपर्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन शुद्ध खाद्य पदार्थको उत्पादन, बिक्री–वितरणतर्फ राज्यको ध्यान पुग्नुपर्छ । दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ ।

नियमित रुपमा दहीको सेवनले हड्डी सम्बन्धी रोग लाग्नबाट जोगाउँछ भन्ने कुरा अनुसन्धानले देखाएको छ । पहिला–पहिला गर्मी हुँदा दही, मोही खाएर शीतलता दिने र शरीरलाई उर्जाशील बनाउने गरिन्थ्यो भने अहिले गर्मीले धापिएर आएका बेला केमिकलयुक्त चिसो पेयपदार्थ प्रयोग गरिन्छ । यस्ता आधुनिक पेयले शरीरमा भएका रोगसँग लड्ने क्षमतामा समेत ह«ास ल्याउँछ । यस्तै भोजनका कारण रोगव्याधी बढिरहेको छ । जति नयाँ नयाँ केमिकलयुक्त प्रविधिको विकास हुँदैछ उत्तिनै रोग र रोगीहरु बढिरहेका छन् ।

दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँ कम गर्छ भन्ने कुरा कमै मानिसलाई थाहा होला । यतिमात्र नभै तौल घटाउँन जीमखानाको खोजीमा भौतारिएका नयाँ पुस्तालाई दहीमा पाइने क्याल्सियमले शरीरमा कार्टिसोल बनाउन सहयोग गर्दछ र यसको मद्दतले शरीरको मोटोपना घटाउँछ भन्ने जानकारी नभएको पनि हुनसक्छ । यसका साथै चिउरामा कार्बाेहाइड्रेट पाइने भएकाले शक्ति प्राप्त हुन्छ । चिउरामा आइरनको मात्रा बढी हुन्छ भने भिटामिन ए, सि, क्याल्सियम उत्तिकै पाइन्छ । चिउरामा फ्याट र ल्याक्टोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ मानिन्छ । यो पचाउन पनि उत्तिकै सजिलो हुन्छ । मधुमेहका बिरामीले पनि चिउरा खानु फाइदाजनक हुन्छ । यी सबै पक्ष बुझेपछि दही–चिउरा खान पाठकहरुले असार १५ नै कुर्नुहुने छैन ।

प्रतिक्रिया दिनुहोस्